PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

ट्रसको बहिर्गमनपछि को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री? फर्किएलान् बोरिस कि सुनकले मार्लान् बाजी



पहिलोपोस्ट

ट्रसको बहिर्गमनपछि को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री? फर्किएलान् बोरिस कि सुनकले मार्लान् बाजी
Photo : thetimes.co.uk

लिज ट्रसले बेलायतको प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनको उत्तराधिकारीको खोजी सुरु भएको छ। आफैले लागू गरेको आर्थिक नीति आफूविरुद्ध नै 'ब्याकफायर' भएपछि उनी राजीनामा दिन बाध्य भएकी हुन्। पार्टीभित्र उनीप्रति बढ्दो वितृष्णा र टोरी सांसदहरुको दबाबका कारण प्रधानमन्त्री भएको ४५ दिनमा नै ट्रस राजीनामा दिएकी हुन्।

बोरिस जोनसनले राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टीभित्र निकै लामो निर्वाचन प्रक्रियाबाट चुनिएर 'टोरी लिडर' बनेकी उनको बहिर्गमनले बेलायती राजनीति अहिले अस्थित बन्दै गएकोतर्फ संकेत गरेको छ। सन् २०१९ को निर्वाचनमा कन्जर्भेटिभ पार्टीले हाउस अफ कमन्समा बहुमत हासिल गरेको थियो। त्यसपछि पटकपटक सरकारको नेतृत्व परिवर्तन हुँदा विपक्षीले भने नयाँ निर्वाचनको माग गरेको छ।

तर, आफ्नो बहुमत गुम्न डरले कन्जर्भेटिभ पार्टी अहिले नै संसदीय निर्वाचनको पक्षमा छैन। अब पार्टीभित्र नयाँ नेता चुनिनेछ र त्यसपछि उनै प्रधानमन्त्री हुनेछन्। बेलायती महारानी एलिजाबेथ द्वितियको निधनपछि राजा बनेका चार्ल्स तेस्रोले पहिलोपटक नयाँ प्रधानमन्त्रीलाई सपथ खुवाउनेछन्।

ट्रसको राजीनामासँगै प्रधानमन्त्रीका आकांक्षीहरुले छलफल सुरु गरेका छन्। टोरी नेता बन्न उम्मेदवारी दर्ताका लागि पार्टीभित्र १०० जनाको सांसद समर्थन चाहिन्छ। यसको अर्थ अब मात्र तीनजनाले उम्मेदवारी दर्ता गर्न पाउनेछन्। हाल बेलायतमा ३५७ जना टोरी सांसद छन्।

हालससम्म खुलेर कसैले पनि बेलायती प्रधानमन्त्री बन्ने 'रेस'मा दाबेदारी पेस गरेको छै। यद्यपि, अहिले नयाँ प्रधानमन्त्रीका रुपमा केही नेताहरु चर्चामा छन्।

बोरिसको राजीनामापछि ट्रसलाई पार्टीको आन्तरिक निर्वाचनमा टक्कर दिएका ऋषि सुनकलाई सम्भावित प्रधानमन्त्रीको उम्मेदवारका रुपमा पेस गरिँदैछ। पार्टीमा भएको सुरुवाती निर्वाचनमा अग्रता कायम गरे पनि सुनक अन्तिम निर्वाचनमा हारेका थिए। सुनकले आफ्नो चुनावी अभियानमा ट्रसको आर्थिक नीतिले संकट ल्याउने बताएका थिए। तर, त्यसबेला उनले समर्थन जुटाउन सकेनन्। ट्रसको बहिर्गमनपछि सुनक प्रधानमन्त्रीका लागि उपयुक्त उम्मेदवार भएको सर्वेक्षणमा देखिएको छ।

भारतीय मूलका सुनक 'फेभरेट' उम्मेदवार भए पनि उनलाई अन्तिमसम्म सांसदहरुले यसअघि साथ दिएका थिएनन्। फेरि प्रधानमन्त्रीको 'रेस' मा होमिए उनले ती असन्तुष्ट सांसदहरुलाई फकाउनुपर्ने हुन्छ।

यस्तै, पेन्नी मोर्डन्ट पनि प्रधानमन्त्रीका आकांक्षी छिन्। बोरिसको राजीनामा पछि भएको निर्वाचनमा उनी तेस्रो भएकी थिइन्। अहिले सुनक र पेन्नीबिच नै कडा प्रतिस्पर्धा हुनसक्ने आंकलन गरिएको छ। पेन्नीले गत साता संसदमा ट्रसको समर्थनमा बोलेपछि उनको चौतर्फी चर्चा भएको थियो। सन् २०१९ मा उनी बेलायतको पहिलो महिला रक्षा मन्त्री बनेकी थिइन्। उनलाई सांसदहरु जोन लमोन्ट, मारी मिलर, बब सेले र डामियन कोलिन्सको समर्थन छ।

बेलायतका नयाँ प्रधानमन्त्रीमा फेरि बोरिस जोन्सनको चर्चा पनि भइरहेको छ। आफू निकट एक नेताको ‘यौन दुर्व्यवहार’ सम्बन्धी घटना थाहा पाउँदा पनि उनलाई नियुक्त गरेको खुलेपछि बोरिसले राजीनामा दिएका थिए। त्यसपछि ट्रस प्रधानमन्त्री बनेकी थिइन्। अब ट्रस बाहिरिएपछि बोरिसले फेरि प्रधानमन्त्रीमा दाबी गर्न सक्ने अनुमान गरिएको छ। संसद र पार्टीमा अझै उनको पकड राम्रो भएको विश्लेषकहरु बताउँछन्। उनको समर्थनमा संसदहरु पउल बिस्ट्रो, बर्डन क्लर्क, एन्ड्रिया जेकेन्स र माइकल फाब्रिकान्ट खुलिसकेका छन्।

यस्तै, बेन वालेसलाई पनि सम्भावित प्रधानमन्त्रीको उम्मेदवारका रुपमा चित्रण गरिँदैछ। हाल बेलायतको रक्षा मन्त्री रहेका उनलाई सुरक्षित उम्मेदवारसमेत भनिँदैछ। यद्यपि, उनले प्रधानमन्त्री बन्ने होडमा रहेको बताइसकेका छैनन्। उनलाई बोरिसले नै सन् २०१९ मा रक्षा मन्त्रालयको जिम्मेवारी दिएका थिए। उनी ब्रेक्जिटको समर्थन होइनन्। उनको समर्थनमा केही सांसदहरु अघि आइसकेका छन्।

बोरिसको राजीनामापछि पार्टीभित्रै चुनाव लडेकी केमी बडेनच पनि नयाँ प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा भित्रिन सक्छिन्। पछिल्लो आन्तरिक चुनावमा 'सरप्राइज क्यान्डिडेट' बनेकी उनको प्रोफाइल पछिल्लो समय निकै राम्रो बनेको छ। उनको समर्थनमा पनि अहिले सांसदहरु खुलेका छन्। लन्डनमा जन्मिएकी उनी अमेरिका र नाइजेरियामा हुर्केकी हुन्।

यस्तै, ट्रस क्याबिनेटमा गृह मन्त्रीको भूमिका निर्वाह गरेकी सुल्ले ब्रेभम्यानलाई पनि प्रधानमन्त्रीको उम्मेदवारका रुपमा हेरिएको छ। ट्रसले राजीनामा दिनुअघि नै उनले राजीनामा दिएकी थिइन्। उनको राजीनामापछि ट्रस सरकारमाथि थप प्रश्न उठ्न सुरु गरेको थियो। 'डाटा लिक' भएको विषयमा उनले राजीनामा दिएको बताइए पनि ट्रसले आप्रवासीप्रति लिएको नीतिको उनले खुलेर आलोचना गरेकी थिइन्।

बोरिसको राजीनामापछि सुल्लेले पनि पार्टीको आन्तरिक निर्वाचनमा लडेकी थिइन्। तर, दोस्रो चरणमै उनी बाहिरिएकी थिइन्। उनी पनि भारतीय मूलकी हुन्। उनको आमाबुवा केन्या र मरिसस हुँदै सन् १९६० मा बेलायतमा पुगेका थिए।  

यी आकांक्षीसहित अन्य उम्मेदवारहरु पनि चुनावी मैदानमा देखिन सकिनेछ। आउने शुक्रवारसम्म बेलायतले नयाँ प्रधानमन्त्री पाउने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell