PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

२०७४ मा गोकर्णलाई जिताउन कस्सेर लागेकी रामकुमारी यसपटक भिड्दै उनैसँग : विष्टको आफ्नै गढ, झाँक्रीलाई गठबन्धनको बल



रमेश पराजुली

२०७४ मा गोकर्णलाई जिताउन कस्सेर लागेकी रामकुमारी यसपटक भिड्दै उनैसँग : विष्टको आफ्नै गढ, झाँक्रीलाई गठबन्धनको बल

बुटवल : कुनैबेला एउटै पार्टीको चुनावी मोर्चामा देखिन्थे गोकर्ण विष्ट र रामकुमारी झाँक्री। अहिले यी दुवैजना दुई फरक पार्टीबाट निर्वाचनमा होमिएका छन्। विष्ट हाल नेकपा (एमाले)का सचिव छन् भने झाँक्री नेकपा (एकीकृत) समाजवादीकी सचिव। गृह जिल्ला गुल्मी भएका नेताद्वय यसपटक भने प्रतिनिधिसभातर्फ गुल्मी २ मा एक अर्काविरुद्ध चुनावी मैदानमा छन्। त्यसैले पनि गुल्मी २ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

युवाहरुमाझ लोकप्रिय छवि बनाएका दुवै नेताहरूले आफ्नो क्षेत्रमा चुनावी अभियानलाई तीव्र रूपमा अगाडि बढाएका छन्। विष्ट २०५६ देखि निरन्तर यस क्षेत्रमा चुनाव लड्दै आए पनि झाँक्री भने प्रत्यक्षतर्फ पहिलोपटक विष्टको विरासत तोड्ने उद्घोषसहित चुनावी मैदानमा आएकी हुन्। २०७४ सालको निर्वाचनमा विष्टलाई सोही क्षेत्रमा जिताउन भूमिका निर्वाह गरेकी झाँक्री अहिले सोही क्षेत्रमा सत्तारुढ गठबन्धनको उम्मेदवारका रुपमा मैदानमा उत्रिएकी हुन्।

एमाले निकट अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट उदाएकी झाँक्री अघिल्लो निर्वाचनमा एमालेको समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्। पार्टी विभाजनपछि एकीकृत समाजवादी रोजेकी झाँक्री गठबन्धन सरकारमा मन्त्रीसमेत भइन्।

तीनपटक निर्वाचन जितेका विष्टसँग झाँक्रीको भिडन्त त्यति सहज भने छैन। गठबन्धनको बलमा चुनाव जित्ने दाउमा छिन् झाँक्री। २०७४ को निर्वाचनमा पनि विष्ट गुल्मी २ बाट निर्वाचित भएका थिए। यो सँगै विष्टले २०५६, २०७० मा पनि यस क्षेत्रबाट चुनाव जितेका छन्। २०६४ मा भने उनी माओवादीका चन्द्रबहादुर थापा सागरसँग पराजित भएका थिए।

तर गठबन्धनका कारण यसपटक भने उनलाई त्यती सहज छैन। गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजालाई हेर्दा करिब १ हजार मतले गठबन्धन अगाडि छ। एमालेले ३१ हजार २५३ मत प्राप्त गर्दा गठबन्धनले ३२ हजार ४२१ मत प्राप्त गरेको थियो।

गठबन्धनमा आवद्ध दलहरुमध्ये सबैभन्दा बलियो कांग्रेस रहेको छ। तर, केही समयअघि एकीकृत समाजवादीका जिल्ला अध्यक्ष र जिल्ला इन्चार्ज लगायतका नेताहरु एमालेमै फर्किएका छन्। यसले समाजवादीसँगै गठबन्धनलाई केही असर गर्ने देखिन्छ।

समाजवादीको मत खासै धेरै नरहेकाले निर्वाचित हुनको लागि कांग्रसकै भर पर्नुपर्ने अथवा गठबन्धनकै सहयोगले आफूले निर्वाचन जित्ने झाँक्रीको दाबी छ। यता, विगतमा गरेका धेरै कामहरुको निरन्तरताको लागि प्रतिनिधिसभा तर्फ पुनः गुल्मी २ बाट उम्मेदवारी दिएको विष्टले बताउँदै आएका छन्।

गुल्मी २ मा बागी उम्मेदवारी दिएका कांग्रेस नेता डा. दामोदर भुसालले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि झाँक्रीमा थप आशा पलाएको छ। भुसालको बागी उम्मेदवारीले मुस्किल ठानेको  गठबन्धनलाई अब जित्छौँ भन्ने मनोबल  बढाएको गठबन्धन दलका नेताहरुको भनाइ छ।

'जिल्लाको सम्वृद्धि र जनताको जीवनस्तर उकास्नका निम्ति हामीले प्रयाप्त रुपमा काम गरेका छौँ। निर्वाचनमा जित्दा होस् वा हार्दा जुनसुकै बेला पनि म जनताको बीचमै रहेको छु, ' विष्टले भने।

अझै पनि शिक्षा, स्वास्थ, खानेपानी र सडकलगायत जनताको जीवनस्तर उकास्नको निम्ति विभिन्न क्षेत्रमा कामहरु गर्ने दृढताका साथ आफु फेरि जनतामाझ आएको नेता विष्टले बताए।

'हामीलाई एक दुई महिना जनताको बीचमा आएर अनुहार देखाएर राजनीति गर्नु छैन’, विष्टले भने, ‘कतिपय मानिसहरु एक दुई महिना गाउँमा आएर धेरै कुराले भ्रम फिज्याउँन सक्छन्, चुनावको बेला मात्र गाउँ झुल्कने नेताहरुसँग जनता सजग रहनुपर्छ।'

यता, आफ्नो निर्वाचन क्षेत्रको हरेक ठाउँमा जाँदा सद्भाव पाएकाले आफू उत्साहित भएको झाँक्रीले बताइन्। गठबन्धनतर्फबाट उम्मेदवार रहेका कारण आफू निर्वाचित हुने झाँक्रीको भनाइ छ।

‘हामी इमानका साथ काम गर्ने प्रतिवद्धताका साथ गठबन्धनकोतर्फबाट मैदानमा आएका छौं,’ उनले भनिन्।

विष्ट मन्त्री हुँदा विभिन्न काम गरेर चर्चा कमाएका थिए। पछिल्लोपटक श्रममन्त्री हुँदा सामाजिक सुरक्षा योजना प्रारम्भ तथा कार्यान्वयन, प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरूवात, नेपाली श्रमिकको न्यूनतम तलब ३९ प्रतिशतले वृद्धि, सातै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना, प्रदेशबाटै श्रम स्वीकृति लगायतका कामले चर्चामा आएका थिए। झाँक्री पनि शहरी विकास मन्त्री हुँदा नीतिगत सुधारका काम गरेको भन्दै प्रशंसा हुने गरेको छ।

एमाले गुल्मीका सचिव गणेश श्रीपालीले गुल्मी २ मा विष्टलाई चुनाव जित्न गाह्रो नरहेको दाबी गरे। ‘उहाँले विगतमा गरेका कामको प्रभावले पनि जनताले एमालेलाई मत दिन्छन्। त्यसैले पनि गठबन्धनलाई हराउन एमालेलाई गाह्रो छैन,’ उनले भने ।

तर, नेपाली  कांग्रेस  गुल्मीका सभापति खिलध्वज पन्थीले जिल्लाका ६ वटै  सिटको  जित  सुनिश्चित भएको बताए। गुल्मी २ मा गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिएका भुसालको उम्मेदवारी फिर्ताले उत्साह छाएको उनले बताए।

यस्तो छ २०७४ को नतिजा 

२०७४ सालको निर्वाचनमा विष्टले कांग्रेस उम्मेदवार चन्द्रबहादुर केसीलाई १४ हजार ४६१ मत अन्तरले हराएका थिए। विष्टले ३४ हजार ६१८ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी केसीले २० हजार १५७ मत पाएका थिए।

प्रदेशसभातर्फ पनि दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका थिए। क्षेत्र नम्बर २ (क) मा वाम गठबन्धनबाट एमालेका खड्ग केसीले केसीले नेपाली कांग्रेसका शालिकराम पन्थीलाई ४ हजार ४९२ मतअन्तरले पराजित गरेका थिए। केसीले १६ हजार एक सय ६५ मत पाउँदा पन्थीले ११ हजार ६ सय ७३ मत पाएका थिए।

त्यस्तै, क्षेत्र नम्बर २ (ख) मा माओवादीका उम्मेदवार दिनेश पन्थीले कांग्रेसका छन्दबहादुर पहराई मगरलाई ८ हजार ३६ मत अन्तरले हराएका थिए। पन्थीले १७ हजार ६०१ मत पाउँदा मगरले ९ हजार ५६४ मत पाएका थिए। त्यो बेला एमाले र माओवादीको गठबन्धन थियो । नेकपा विभाजनपछि पन्थी एमालेमा छन्।

मंसिर ४ मा हुने निर्वाचनमा प्रदेशसभातर्फ २ (क) एमालेका डिल्लीराज भुसाल र कांग्रेसका भुवनप्रसाद श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ। भुसाल रेसुङ्गा नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन्। त्यस्तै, प्रदेशसभा २ (ख) मा एमालेका दिनेश पन्थी र माओवादी केन्द्रका बुद्धि जिसीबीच प्रतिस्पर्धा हुने भएको छ। यस क्षेत्रमा पन्थी पुनः दोहोरीएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell