PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

तमोर करिडोरमा अरु सडकभन्दा ‘चिल्लो’ कालोपत्रे हुने, साढे २ अर्ब लागत



शुक्र गिरी

तमोर करिडोरमा अरु सडकभन्दा ‘चिल्लो’ कालोपत्रे हुने, साढे २ अर्ब लागत

काठमाडौं : तमोर करिडोर आयोजना अन्तर्गत पर्ने चतरा-मुलघाट-सुभाङखोलासम्मको पहिलो खण्डको कालोपत्रे गर्न साढे २ अर्बमा ठेक्का लागेको छ। आयोजनाले साउन १८ गते ठेक्का आह्वान गरेको थियो।

ठेक्कामा १३ वटा निर्माण कम्पनीको आवेदन परेको थियो। तर, प्राविधिक मूल्यांकन गर्दा जम्मा ४ वटा निर्माण कम्पनीहरु मात्र आर्थिक प्रस्तावका लागि छनोट भएका थिए। आर्थिक प्रस्तावमा लामा कन्स्ट्रक्सन कम्पनी, आशिष निर्माण सेवा, रौतह-क्षमादेवी जेभी र कालिका कन्स्ट्रक्सन छनोट भएका थिए।

यी मध्येबाट कम कबोल गर्ने रौतह-क्षमादेवी जेभीले ठेक्का पाएको छ। यो कम्पनीले २ अर्ब ४१ करोड रुपैयाँ कबोल गरेको थियो। ठेक्का पाउने निर्माण व्यवसायीले उक्त सडक कालोपत्रे गर्ने जिम्मा पाएको छ। कम्पनीले ३ वर्षभित्र सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्नुपर्ने आयोजनाका प्रमुख कुवेर नेपालीले बताए।

 २०७९ बैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार तमोर करिडोरको वहुवर्षीय ठेक्काका लागि ५ अर्ब ७६ करोड ८५ लाख रुपैयाँ स्रोत सुनिश्चित गरेको थियो।

दोस्रो खण्डको ठेक्का १२ दिनपछि

यस्तै, दोस्रो खण्डको सडक कालोपत्रे गर्ने ठेक्कामा आवेदन दिने कम्पनीको बिडिङ क्षमता एक अर्ब ७९ करोड ६० लाख रुपैयाँसम्मको हुनुपर्ने छ।

ठेक्कामा ९ वटा निर्माण कम्पनीको आवेदन परेको थियो। तर, प्राविधिक मूल्यांकन गर्दा जम्मा ६ वटा निर्माण कम्पनीहरु मात्र आर्थिक प्रस्तावका लागि छनोट भएका छन्। आर्थिक प्रस्तावका लागि छनोट भएका ६ वटा कम्पनीहरुमा कन्काई-सीएम-ब्राइट जेभी सुनगाभा, श्रेष्ठ कन्ट्रक्सन, बानियाँ निर्माण सेवा, एपेक्स कन्स्ट्रक्सन कम्पनी, कान्छाराम-ढुकुचु-कमलजित जेभी र दिवा-नवकान्तिपुर जेभी रहेका छन्।

यसको आर्थिक प्रस्ताव भने आयोजनाले आगामी १८ गते खोल्ने जनाएको छ। २०६४ सालबाट औपचारिक रुपमा थालिएको तमोर करिडोरको २३८ मध्ये ११० किमी सडखण्ड धनकुटाको मुलघाटबाट पाँचथरको गणेशचोकसम्म कालोपत्रे हुन लागेको हो।

यो सडकको पाँचथरको गणेश चोकदेखि धनकुटाको मूलघाट हुँदै सुनसरीको चतारासम्म दुई लेन स्तरीय बनाउने काम २०७४ देखि थालिएको हो। अब यसको कालोपत्रेका लागि प्रक्रिया अघि बढेसँगै मेची तथा कोसी राजमार्ग हुँदै धरान-धनकुटा भएर पाँचथर पुग्दा तय गर्नुपर्ने (तमोर करिडोरको भन्दा) दोब्बर लामो यात्राको बाध्यता टर्ने भएको छ।

कालोपत्रे सडक खण्डको विभिन्न स्थानबाट हुने र काम थालनी भएको ३ वर्षभित्रै काम सकिने गरी ठेक्का लागेको छ। अहिलेका लागि लुभुघाटदेखि पाँचथरको गणेश चोकसम्म ११० किमी कालोपत्रे हुनेछ। यसमा काम गर्ने निर्माण व्यवसायीले ड्रेनेज, वाल, स्ल्याब तथा कल्भर्ट निर्माण गर्नुपर्नेछ। यो सडक डबल लेनमा विस्तार गरिएको सडक हो। त्यसैले अब कालोपत्रे पनि सोही अनुसार हुनेछ।

अरु सडकभन्दा फरक ‘चिल्लो’ कालोपत्रे

आयोजना प्रमुख नेपालीले अहिलेसम्म भएका कालोपत्रे भन्दा यो सडकको कालोपत्रे फरकखालको हुने बताए। उनका अनुसार यो सडकमा चिल्लो कालोपत्रे गरिनेछ, जुन विकसित देशका सडकहरुमा देख्न पाइन्छ। 

यसमा असफाल्ट कंक्रिट प्रविधि प्रयोग हुनेछ। यो भनेको असफाल्ट बाइन्डर र मिनरल एग्रिगेट मिलेर बनेको कम्पोजिट सामग्री हो। जसलाई सँगै मिसाएर तहमा राखेर कम्प्याक्ट गरिएको हुन्छ। यसलाई मेसिन आफैंले कालोपत्रे गर्छ। आयोजना प्रमुख नेपालीका अनुसार यो नेपालमा भएको कालोपत्रेमध्येको उत्कृष्ट मानिन्छ।

‘यो सडकको गुणस्तर र जीवन चक्र बढाउने एउटा प्रविधि हो। यसले कालोपत्रे गरिएको सडक विदेशमा जस्तो चिल्लो देखिन्छ’, उनले भने, ‘सुरुमा लागत महँगो पर्ने भए पनि यसको लाइफ-साइकल लामो समयसम्म हुन्छ।’

उनका अनुसार हाल यो सडक कालोपत्रे गर्न प्रतिकिलोमिटर ५ करोड रुपैयाँ खर्च हुन्छ। ‘यसका लागि त्यहीअनुसारको कच्चा पदार्थहरु हालिन्छ’, उनले भने, ‘यसमा डिजाइन नै त्यहीअनुसार गरिएको छ। त्यसैले यसमा नेपालमा अहिले भएका अन्य सडकभन्दा राम्रो कालोपत्रे गराउन खोजिएको हो।’

पाँचथर-ताप्लेजुङ खण्डको ५० किमी सडकको गत वैशाखमा ६६ करोडमा ग्राभेल गर्ने ठेक्का सम्झौता भएको हो। यो सडक दुई खण्डमा निर्माण सक्नेगरी तीन प्याकेजमा निर्माण हुनेछ। सुवाङखोलादेखि लिम्बुनीपुल-दोभान-थिवा खोलासम्म रहेको छ।

यसैगरी, सुनसरीको चतारादेखि पाँचथरको गणेशचोकसम्मको १४८ किमि सडक खण्डमा बनाउनुपर्ने १४ वटा पुलमध्ये सातवटा निर्माणका लागि ठेक्का सम्झौता भएर डिजाइनको काम भइरहेको नेपालीले बताए। यी पुलहरु सबै कम्तिमा ३० मिटर लम्बाईका छन्। उनका अनुसार यी पुल निर्माण र सडक कालोपत्रे गर्ने काम सँगै सुरु हुनेछ।

सुनसरीदेखि धनकुटा, पाँचथर हुँदै ताप्लेजुङसम्म जोडिने १४८ किमि लम्बाईको उक्त सडक पहिलो चरणमा पाँच प्याकेजका लागि ४ अर्ब ९२ करोड र दुई प्याकेज १ अर्ब ४४ करोडमा ठेक्का स्वीकृत भई निर्माण गरिएको हो।

पूर्वी पहाडलाई तराई र काठमाडौं जोड्ने द्रुतमार्ग तमोर करिडोरको ट्रयाक खोल्न भने अब एक किलोमिटर मात्र बाँकी रहेको छ। यसको कुल लागत ६ अर्ब २३ करोड ४९ लाखमा निर्माण भइरहेको थियो। तर यो लागत कालोपत्रे गर्नका लागि खर्च हुनेछैन। कालोपत्रेको लागि छुटै बजेटको स्रोत सुनिश्चिता भएको थियो।

यो सडक पाँचथरको गणेशचोकदेखि धनकुटाको मूलघाटसम्म ११२ किलोमिटर र मूलघाटदेखि बराहाक्षेत्र कोसी पुलसम्म ३६ किलोमिटरको छ। सातवटा निर्माण कम्पनी (सातवटा प्याकेज) मा मार्फत समयमा ट्रयाक खोलिएको छ। हाल अरु केही प्याकेजमा ग्राभेल गर्ने काम भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell