
बुटवल : गुल्मीमा गाई काटेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रवार राति दर्लिङ्गमा गाई काटिरहेको सूचनाको आधारमा पौदी अमराई प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक भविश्वर विकसहित घटनास्थलमा पुगको टोलीले ४ जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले मालिका गाउँपालिका-२ का २२ वर्षीय रमेश विक, २८ वर्षीय महलाल विक, ६१ वर्षीय टोप बहादुर रसाइली र ३५ वर्षीय तारा विकलाई पक्राउ गरिएको जानकारी दिए।
घटनास्थलमा पुगेको प्रहरीको टोलीले गाईको टाउको, पुच्छर, दुई खुट्टा, छाला र मासुसहित चार जनालाई रङ्गेहात पक्राउ गरेको रानाभाटले बताए। उनीहरुमाथि जिल्ला प्रहरी कार्यालय गुल्मी ल्याएर थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।