PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

एड शीरनको रिलिज नभएका गीत चोरेर ‘डार्क वेब’मा बेच्ने ह्याकरलाई १८ महिनाको जेल सजाय



पहिलोपोस्ट

एड शीरनको रिलिज नभएका गीत चोरेर ‘डार्क वेब’मा बेच्ने ह्याकरलाई १८ महिनाको जेल सजाय
Photo: PA MEDIA

बेलायती गायक एड शीरनका दुई रिलिज नभएका गीतहरू चोरेर ‘डार्क वेब’मा बेच्ने ह्याकरलाई १८ महिनाको जेल सजाय सुनाइएको छ। ह्याकर एड्रियन क्वियट्क्वोस्कीले शीरनका गीत र अमेरिकी र्‍यापर लिल उजी भर्टका १२ गीतहरू क्रिप्टोकरेन्सीमा बेचेको बीबीसीले उल्लेख गरेको छ।

इङ्ग्याण्डको इप्सविचका २३ वर्षीय क्वियट्क्वोस्कीले कलाकारहरूको डिजिटल अकाउन्ट ह्याक गरेर गीतहरु चोरी गरेको क्राउन प्रोसेक्युसन सर्भिसले जानकारी दिएको छ।

क्वियट्क्वोस्कीले प्रतिलिपि अधिकार उल्लङ्घन तथा आपराधिक सम्पत्ति राखेकोसहित १९ वटा आरोपहरू स्वीकार गरेका छन्। उनले गीत बेचेर १ लाख ३१ हजार पाउण्ड (करिब २ करोड रुपैयाँ) कमाएको लण्डन प्रहरीले जनाएको छ।

क्वियट्क्वोस्कीको एप्पल म्याक ल्यापटपमा ५६५ अडियो फाइलहरू पाइएको र त्यसमध्ये शीरन र भर्टका गीतहरू पनि रहेको कुरा इप्सविच क्राउन अदालतमा सुनुवाइका क्रममा बताइएको थियो।

यसबारे सन् २०१९ मा अमेरिकी अधिकारीहरूले अनुसन्धान सुरु गरेका थिए। धेरै संगीतकारहरूका व्यवस्थापन टिमले ‘स्पिरडार्क’ भनेर अनलाइनमा चिनिने व्यक्तिले अकाउन्टहरु ह्याक गरेर कन्टेन्ट बेचिरहेको रिपोर्ट न्यूयोर्क जिल्ला न्यायधिवक्तालाई गरेपछि यो घटना बाहिर आएको थियो।

‘स्पिरडार्क’को क्रिप्टोकरेन्सी खाता सेटअप गर्न प्रयोग गरिएको इमेल ठेगाना क्वियट्क्वोस्कीसँग जोडिएको अनुसन्धानका क्रममा खुलेको थियो। डिभाइसहरु ह्याक गर्न प्रयोग गरिएको आईपी एड्रेस बेलायतमा रहेको उनको घरको ठेगानासँग जोडिएको पाइएको थियो।

त्यसपछि यो मुद्दा लन्डन प्रहरीको जिम्ममा पठाइयो र सेप्टेम्बर २०१९ मा क्वियट्क्वोस्की पक्राउ परेका थिए। प्रहरीका अनुसार उनको साथबाट ८९ कलाकारका एक हजार २६३ रिलिज नभएका गीत रहेको हार्ड ड्राइभसहित सात डिभाइस बरामद गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell