PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

तिहारमा चाँदीका सामानको माग उच्च, तर मौज्दात नहुँदा पुरानै सामान 'रिसाइकल' गरेर बजार धान्दै व्यवसायी



सरला सुवेदी

तिहारमा चाँदीका सामानको माग उच्च, तर मौज्दात नहुँदा पुरानै सामान 'रिसाइकल' गरेर बजार धान्दै व्यवसायी

काठमाडौं : आज धनतेरस। सुन चाँदीका सामान र भाँडाहरु किन्न अहिले बजारमा मानिसको भिड छ। तिहारमा सुनभन्दा बढी बिक्री चाँदीको हुन्छ। सिक्कादेखि सजावटका सामान, पूजा भाँडा किनेर/बनाएर घरमा चाँदी भित्र्याउने थुप्रै हुन्छन्।

सुनका तुलनामा लागत कम पर्ने भएकाले पनि धन्तेरसमा धेरै बिक्री हुने वस्तु चाँदीकै हुन्छ। व्यवसायीका अनुसार यो तिहारमा कारोबारका लागि चाँदी मौज्दात छैन।

चाँदी मौज्दात नहुनुको प्रमुख कारण- उपभोक्ताबाट माग नआउनु हो। तरलता संकटसँगै आर्थिक गतिविधि पनि खुम्चिएको छ। त्यसैले आम सर्वसाधारणमा चाँदी मात्र होइन फजुल खर्च हुने वस्तु खरीदमा रुची घटेर गएको छ। यसले माग घटाएका कारण ब्यापारीले चाँदी ल्याउन चासो पनि देखाएनन्।

नयाँ खेप चाँदी नै नभएपछि कारोबार घट्ने निश्चित छ। तिहारभर सामान्य समयभन्दा ४ गुणा बढी चाँदी खपत हुन्छ। हरेक वर्ष तिहारमा २ हजार केजीभन्दा बढी चाँदीको कारोबार हुन्छ। अरुबेला दैनिक ३ देखि ४ सय केजी चाँदीको कारोबार हुने व्यवसायीहरु बताउँछन्। तिहारमा चाँदीको माग धेरै हुने गरेकाले व्यवसायीले विशेष ध्यान दिएका हुन्छन्।

धनतेरसको दिनदेखि सुरु हुने चाँदीको व्यापार तिहार सकिनु अघिल्लो दिनसम्म चल्छ। व्यवसायीहरुले यो समयमा ठुलो परिमाणमा रेडिमेड गरगहना, सिक्का, मूर्ति र भाडा बनाएर राख्छन्। धनतेरसमा सुन, चाँदी, तामा, पित्तल र फलाम लगायत धातुका वस्तु खरिद गरेर घरमा भित्र्याउँदा शुभ हुने जनविश्वास छ।

तिहारमा सुन किन्न नसक्नेले पनि चाँदीका केही वस्तु किन्छन्। त्यसैले व्यवसायीहरुले चाँदीको सिक्का बनाएर राख्ने गर्छन्। तर, धनतेरसको दिनसम्म पनि अहिले बजारमा माग अनुसार चाँदी नभएको गुनासो व्यवसायीहरुको छ।

मागअनुसार चाँदी नहुँदा कारोबार १० देखि १५ प्रतिशत घट्ने अनुमान व्यवसायीहरुको छ। मौज्दात नभएका कारण तिहारमा चाँदीको माग धान्न समस्या हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मभक्त बज्राचार्य बताउँछन्।

'बजारमा चाँदी हुँदै नभएको होइन। तर, पर्याप्त मात्रामा हामीसँग छैन। कारोबार बढी हुने समयमै पर्याप्त चाँदी नहुँदा समस्या पर्ने देखिन्छ,’ उनले भने, 'अहिले जसोतसो माग धानिरहेका छौं। अहिले कारोबार बढ्नुपर्ने बेलामा घट्ने अवस्था छ। देशभर नै चाँदीको आपूर्ति कम छ।’

आपूर्ति घटेको अवस्था भएकाले यो तिहारमा चाँदीको मागमा व्यवसायीले ग्राहकको मागअनुसारको सेवा दिन गाह्रो रहेको जेजे ज्वेलर्सका सञ्चालक पवन सोमानियाले बताए। बजार माग पनि उच्च हुने संकेत कम देखिएको उनले बताए।

'बजारमा चाँदीको आपूर्ति कम छ। अघिल्लो वर्षभन्दा आयात कम हुँदा तिहारमा माग अनुसार आपूर्ति पूरा गर्न सक्ने अवस्था छैन,' उनले भने, 'पहिला आयातमा कोटा लगाइएको थिएन। अहिले लागेकाले यसले पनि केही असर परेको छ। माग धैरै भएन भने गाह्रो पर्दैन।’

सरकारले प्रतिव्यक्ति ३५ हजार अमेरिकी डलर मूल्य बराबरको चाँदी मात्रै आयातको अनुमति दिएको छ। यसले पनि आपूर्तिमा समस्या परिरहेको आरोप व्यवसायीहरुको छ। जसका कारण उनीहरुले आफूअनुकूल स्टक राख्न नपाएको बताएका छन्।

'अहिले बजारमा चरम तरलता संकट छ, बैंकको ब्याज दर पनि बढेको छ। सेयर बजारदेखि घरजग्गाको कारोबार प्रभावित बनेको कारणले पनि सुनचाँदीको मागमा कमी आएको जस्तो देखिन्छ,' उनले भने, 'यही कारण पहिलेभन्दा २५ प्रतिशतले चाँदीको माग कम हुने अनुमान छ।' माग अनुसार चाँदी नपाएपछि व्यवसायीहरुले पहिले बनाएर राखेको सामानलाई 'रिसाइकल' गरेर बिक्री गर्न थालेको उनले बताए। 

व्यवसायीहरुले बजारमा आएको मागलाई पूरा गर्न पुरानो गहनालाई नयाँ डिजाइनमा बनाएर बिक्री गरिरहेको बताएका छन्। तिहारमा उपभोक्ताले चाँदीको रेडिमेड गरगहना र भाडाकुँडा खरिद गर्ने भएकोले अर्डर कम हुने गर्छ। चाँदीको अन्य सामान महँगो पर्ने भएकाले चाँदीको सिक्काको माग अधिक हुन्छ।

बजारमा उपभोक्ताहरुले खोजे अनुसारकै सिक्का पाउने व्यवसायीहरुको भनाइ छ। २ ग्रामदेखि १० ग्रामसम्मको चाँदीका सिक्का बढी बिक्री हुने उनीहरुले बताएका छन्।

देशको विदेशी मुद्रा सञ्चितिमा चाप परेकाले सरकारले आयात हुने वस्तुको सूचीमा कडाइ गर्दा सुनचाँदी आयातको कोटा घटाएको छ। अहिले व्यवसायीले चाँदी आयात गर्न शतप्रतिशत नगद मार्जिन राख्नुपर्छ। त्यसैले धेरै चाँदी ल्याउन व्यवसायीहरु सहज मान्दैनन्। आयात कोटा बढाउन व्यवसायीहरुले माग गर्दै आए पनि सरकारले निर्णय गरेको छैन‍।

यसबाहेक भारतबाट ठूलो मात्रामा चाँदीको तस्करी भइरहेको व्यवसायीहरुको आरोप छ। त्यसरी आउने चाँदी तराई क्षेत्रमा बढी प्रयोग हुने र काठमाडौं उपत्यकासम्म नआइपुग्ने उनीहरु बताउँछन्।

चालु आर्थिक वर्षको दुई महिनामा १४ सय १५ केजी चाँदी आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ६९ हजार केजी चाँदी आयात भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell