PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

नेविसंघबाट राजनीति थालेका सर्वेन्द्र खनाल ओलीको अन्धभक्त भएको भीमसेनदासको आरोप, 'म जनताको दास'



पहिलोपोस्ट

नेविसंघबाट राजनीति थालेका सर्वेन्द्र खनाल ओलीको अन्धभक्त भएको भीमसेनदासको आरोप, 'म जनताको दास'

काठमाडौं : नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले  पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अन्धभक्त भएको आरोप लगाएका छन्। प्रधान काठमाडौं ६ मा गठबन्धनबाट कांग्रेसका उम्मेदवार हुन्। प्रधानसँग एमालेबाट सर्वेन्द्र खनाल प्रतिस्पर्धामा उत्रिएका छन्।

आज राजधानीको एल्लो प्यागोडामा आफ्नो उम्मेदवारीबारे आयोजित पत्रकार सम्मेलनमा प्रधानले खनाल ओलीको अन्धभक्त भएकोमा आफूलाई आश्चर्य लागेको बताएका छन्। कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघबाट राजनीति थालेका खनाल अधिनायकवादी ओलीको अन्धभक्त भएकोमा आफूलाई आश्चर्य लागेको प्रधानको भनाई थियो।

'नेविसंघबाट आएका सर्वेन्द्र अहिले ओलीको अन्धभक्त भएका छन्,' उनले भने, 'कहाँ प्रजातान्त्रिक पृष्ठभूमि भएको परिवारको मान्छे। अहिले आएर अधिनायकवादीको अन्धभक्त।'

प्रधानले सर्वेन्द्रको उम्मेदवारीले एमालेकै कार्यकर्ता असन्तुष्ट बन्ने तर्कसमेत गरे। 'आइजिपी बनेर थचक्क उम्मेदवार बन्न आएका छन्। एमाले नेता कार्यकर्ताले हेर्ला नि,' उनले भने, 'त्यहाँको घर त एमाले नेताकार्यकर्ताले बनाएका हुन् नि।'

मंसिर ४ को निर्वाचनमा संविधान पक्षधरलाई जिताउन अनुरोध गर्दै प्रधानले एमालेमा फरक मत राख्नेलाई ठाउँ नै नदिने बताए।

'संविधान पक्षधरलाई जिताउनु। विपक्षीलाई हराउनु। एमालेमा विरोधीलाई ठाउँ छैन। भीम रावल, घनश्याम सिकार बने। कांग्रेसमा पनि झगडा भयो टिकटका लागि, तर सबैले न्याय पाएका छन्,' प्रधानले भने।

आफू भीमसेनदासमात्र नभएर जनताको दास बन्न पुन: चुनावमा होमिएको उल्लेख गर्दै जिम्मेवारीबाट आफू नबहिरिने बताए। 'म जनताको दास। जनताको सुख दुःख मलाई थाहा छ। जिम्मेवारीबाट म बाहिरिन्न। जनाधिकार रक्षा अर्को काम। जनताप्रति जवाफदेहिता हो। जनस्वास्थ्य। जीविकोपार्जन। क्वालिटी अफ लाइफ बनाउने मेरो जिम्मेवारी,' उनले थपे।

काठमाडौंलाई ७७ जिल्लाकै कर्मथलो राजधानी बनाउन आफ्नो जिम्मेवारी भएकोसमेत उनले बताए। पत्रकार सम्मेलनमा काठमाडौं क्षेत्र ६ क बाट उम्मेदवार रहेकी हरिप्रभा खड्की र ख बाट उम्मेदवार रहेका विष्णुभक्त तिमल्सिनाले पनि आफ्ना योजना सुनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell