PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

शान्ति सम्झौता भएकै दिन हँसिया हथौडामा देउवाको मतदान, प्रचण्डले दिए रुखमा मत



अनन्तराज न्यौपाने

शान्ति सम्झौता भएकै दिन हँसिया हथौडामा देउवाको मतदान, प्रचण्डले दिए रुखमा मत

विराटनगर : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले विस्तृत शान्तिसम्झौता भएकै दिन हँसिया हतौडा चुनाव चिह्नमा मतदान गरेको बताएका छन्।

विराटनगरमा शनिवार लोकतान्त्रिक–वाम गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै देउवाले गिरिजाप्रसाद कोइरालासँगै आफूले पनि हँसिया–हतौडामा मतदान गरेको बताएका हुन्।

कार्यक्रममा देउवाले आफूहरुले हँसिया हतौडामामा मतदान गरिसकेका छौँ भन्दै उपस्थित कार्यकताहरुलाई 'तपाईंहरूलाई के गाह्रो' भन्दै प्रश्नसमेत गरे।

उनले गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीको चुनाव चिह्न कलममा पनि मतदान गर्न नअन्कनाउन कार्यकर्तालाई निर्देशन दिएका छन्।

देउवाले गठबन्धनका दलभित्र कुनै पनि प्रकारको मतभेद नभएको बताए। साथै, जिल्ला र गाउँनगर तहमा पनि कुनै शंका र उपशंका नगर्न आह्वान पनि गरे।

‘राजाले कुनै हालतमा पनि संवैधानिक हुन नमानेपछि गिरिजाबाबु गणतन्त्रको टुङ्गामा पुग्नुभएको हो’, उनको भनाइ थियो, ‘गिरिजाबाबु, प्रचण्ड र माधवकुमार नेपाल मिलेर १२ बुँदे समझदारी भएको हो। र, स्थायी शान्तिका लागि काम आरम्भ भएको हो। त्यही सहमति, सहकार्य र एकतालाई अहिले पनि हामीले निरन्तरता दिनुपरेको छ। गठबन्धनलाई चुनावमा जिताएर गिरिजाबाबु, प्रचण्ड र माधवजी तीन जना नेतलाई नै बधाई र धन्यवाद दिनुपरेको छ।’

देउवाले आगामी आमनिर्वाचनमा गठबन्धनलाई जिताएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिनुपर्ने बताएका छन्। ओलीले गठबन्धन गर्दा आफूहरुले किन गर्नु नहुने भन्दै उनले प्रश्न गरेका छन्।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले विस्तृत शान्तिसम्झौता भएकै दिन रुख चिह्नमा मतदान गरेको बताए।

अध्यक्ष प्रचण्डले पनि देउवाले जस्तै शान्ति सम्झौताका दिन गिरिजा प्रसाद कोइरालाचले पनि हँसिया–हतौडामा मतदान गरेको उल्लेख गरे।

प्रचण्डको भनाइ थियो, ‘त्यही दिनदेखि मुलुकमा सहमति, सहकार्य र एकताको राजनीतिको आरम्भ भएको हो। त्यसलाई अहिले पनि निरन्तरता दिनुपर्ने आवश्यकता छ र खुशीखुशी एकले अर्कालाई भोट हाल्नुपर्ने स्थिति छ।’

उनले ओलीको प्रतिगमन र सर्वसत्तावादका विरूद्ध गठबन्धन नगरिएको भए देश अहिले अर्कै दुर्घटनामा परिसक्थ्यो भन्ने चर्चा गरे।

प्रचण्डले मंसिर ४ को निर्वाचनमा टिकट नपाएको भनेर अँध्यारो मुख नलाउन र निराश नहुन नेता–कार्यकर्तालाई आग्रह गर्दै सरकार बनेपछि धेरै अवसर आउने आश्वासन दिएका छन्।

उनले भने, ‘हाम्रो सरकार बनेपछि अवसरै अवसर आउँछन्। धेरै नियुक्ति गर्नुपर्छ। राजदूतसम्म बन्न पाइन्छ। त्यसैले टिकट पाइँन भनेर अहिले नै निरास नहुनूस्।’

प्रचण्डले आफूले दुई वामपन्थी दलको एकतापछि के–के न हुन्छ भनेर कल्पना गरेको तर केपी ओलीले सम्पूर्ण सपना र कल्पनालाई चकनाचुर पारिदिएको गुनासो गरे।

उनले केपी ओलीकै कारणले १२ बुँदे समझदारी गर्ने राजनीतिक शक्ति एकै ठाउँ हुनुपर्छ भन्ने ज्ञान आफूमा पलाएको बताए।

प्रचण्डले मंसिर ४ गतेको आमनिर्वाचन एउटा सामान्य चुनावी घटना मात्र नभएर अग्रगमन र प्रतिगमनका बिचको महासङ्ग्राम हो भन्ने टिप्पणी गरे।

यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको चुनावका बेला दुई कम्युनिस्ट पार्टी एक भएर बनेको नेकपा समाज र मुलुकका लागि उपयोगी भए पनि गलत व्यक्तिका हातमा नेतृत्व गएकाले मुलुक संकटमा परेको बताए।

नेपालले आफूले ओलीसँग विद्रोह नगरेको भए ओलीलाई कसैले पछार्न सक्दैनथ्यो भन्ने दाबा गर्दै त्यो गुनलाई कसैले पनि बिर्सनु नहुने जिकिर गरे।

नेपालले यसअघि २००७, २०४६ र २०६२–६३ मा वाम–लोकतान्त्रिक सहकार्यबाटै परिवर्तन सम्भव भएको र यस पटकको निर्वाचनमा पनि गठबन्धनले नै परिवर्तनको नेतृत्व लिने उल्लेख गरे।

यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीले राष्ट्रवादको जति कुरा गरे पनि उनी को हुन् भन्ने कुरा उनकै गठबन्धनले छर्लङ्ग पार्छ भन्ने धारणा प्रकट गरे।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन नगरी सरकार बन्न नसक्ने संविधान निर्माण भएको भन्दै चुनावअघि गरे पनि वा पछि गरे पनि सरकार बनाउन गठबन्धन आवश्यक भएको बताए।

कोइरालाले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन लोकतन्त्रको संवर्धन, संविधानको रक्षा, असल शासन र समुन्नत नेपालका लागि हो भन्ने व्याख्या गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell