PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

फूल र बत्तीले सजियो न्यूरोड, धनतेरसमा गहना पसलमा देखियो यस्तो दृश्य

फूल र बत्तीले सजियो न्यूरोड, धनतेरसमा गहना पसलमा देखियो यस्तो दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ। भाँडाकुँडा किन्न बजारमा आज बिहानैदेखि भिड लागेको छ।ऽ 

यसरी ल्याइएको भाँडाकुँडामा कात्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ। यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ। धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ। धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ।

आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ। आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ। यस विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको छ। भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तललगायत धातुका भाँडा आकर्षक रुपमा साजसज्जा गरी राखिएको छ।

यमपञ्चकको पहिलो दिन आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान सुरु गरिँदैछ। यसरी दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए। आज धनका अधिपति कुबेरको जन्मदिन हो भन्ने शास्त्रीय एवं पौराणिक मान्यताका आधारमा विशेष पूजाआराधनासमेत गरिन्छ। केहीले आज कुबेरको पूजाआराधना गर्छन् भने केहीले लक्ष्मीपूजाकै दिन कुबेरको पूजाआराधना गर्छन्।

दीपावली, तिहार, यमपञ्चक जस्ता नामले परिचित यो पर्व नेपालीले मनाउने दशैँपछिको दोस्रो ठूलो चाड हो। आजदेखि विधिवत् रुपमा कात्तिक शुक्ल द्वितीयासम्म घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा झिलीमिली बत्ती बालेर दीपावली गरिन्छ। यमपञ्चक आजदेखि सुरु भए पनि काग तिहार भने आइतवार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। धन्वन्तरि जयन्ती पनि आइतवार नै मनाइन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell