PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

तिहारमा घरलाई झिलिमिली बनाउन बत्ती किन्नेको भीड, आयात घट्दा पोहोरभन्दा महङ्गो

तिहारमा घरलाई झिलिमिली बनाउन बत्ती किन्नेको भीड, आयात घट्दा पोहोरभन्दा महङ्गो

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: तिहार संघारमा बजार झिलिमिली बत्तीले सजिन थालेका छन्। दरबारमार्ग, न्यूरोड, असन लगायतका स्थानहरु बत्तीले झिलिमिली भएका छन्।

लक्ष्मी पूजामा घरघरमा दियो र बत्ती बालेर लक्ष्मीको पूजा गर्ने गरिन्छ। त्यसैका लागि अहिले बजारमा तिहारका लागि भाइ मसलासहित लक्ष्मी पूजाका लागि बत्ती किन्नेको भीड लागेको छ। महाबौद्ध, असन लगायतका क्षेत्रका विद्युतीय उपकरण बिक्री हुने पसलमा केही दिनयता मानिसहरुको घुइँचो लागेको छ।

बजारमा विभिन्न किसिमका बत्ती उपलब्ध छन्। तर, यो वर्ष बत्तीको आयात घटेको छ भने भाउ पनि वृद्धि भएको छ।

महाबौद्धमा रहेको सिको शपका सञ्चालक साधुराम फुयालका अनुसार गत वर्ष १५० देखि १८० रुपैयाँमा बेचिरहेको बत्ती यो वर्ष २२५ रुपैयाँमा बिक्री भइरहेको छ।

‘अमेरिकी डलर तथा चिनियाँ मुद्रामा भएको वृद्धिले झिलिमिली बत्तीको मूल्य बढाएको छ। पेट्रोलियम पदार्थमा भएको भारी वृद्धिले ढुवानी खर्च पनि बढाएको छ। त्यसमाथि सरकारले भन्सार पनि वृद्धि गरिदिएको छ। यसैले गर्दा झिलिमिली बत्तीको मूल्य बढेको हो,’ फुयालले भने।

अरु व्यवसायीहरुले भने आयात नै घटेकाले नेपाली बजारमा बत्तीको भाउ बढेको बताए। अहिले बजारमा २२५ रुपैयाँदेखि ४५ सयसम्मका झिलिमिली बत्ती पाइन्छ। झिलिमिली बत्तीको बिक्रीमा पनि गत वर्षको भन्दा व्यापार ५० प्रतिशतले बढेको व्यवसायी बताउँछन्। अधिकांश सामग्रीको भाउ बढे पनि बजारमा किनमेल गर्नेहरुको भीड देखिन्छ।

नेपाल विद्युतीय व्यवसायी महासंघका सुदर्शन पौडेल अनुसार यो वर्ष झिलिमिली बत्तीको आयातमा केही कमी आएको छ।

उनले भने, ‘अघिल्लो वर्षहरूमा ३५-४० करोडको आयात हुने बत्ती यस वर्ष २५ करोडसम्म आयात भएको हामीले बुझेको छौं। मूल्यको हकमा १०० प्रतिशत लागतमा प्रतितपत्र (एलसी) खोल्नु पर्ने हुँदा बढेको छ। सँगै डलरको भाउ पनि उच्च रहेकाले २०-२५ प्रतिशतसम्म बढेको छ।’



ट्रेन्डिङ पोस्ट

Ncell