PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

सिटीको जितमा हल्याण्डको दोहोरो गोल, लिभरपुल नटिङ्घम फरेस्टसँग पराजित



पहिलोपोस्ट

सिटीको जितमा हल्याण्डको दोहोरो गोल, लिभरपुल नटिङ्घम फरेस्टसँग पराजित
Photo: Reuters

इङग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्राइटोनलाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले ब्राइटोनमाथि ३-१ गोलको सहज जित निकालेको हो।

खेलको २२ औं मिनेटमा अर्लिङ हल्याण्डको गोलमा अग्रता बनाएको सिटीका लागि दोस्रो गोल पनि हल्याण्डले नै ४३ ‍औं मिनेटमा पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै गरेका थिए। योसँगै हल्याण्डले प्रिमियर लिगको ११ खेलमै १७ गोल पुरा गरेका छन्।

दोस्रो हाफमा लिओनार्दो ट्रोसआर्डले गोल फर्काउँदै ब्राइटोनलाई खेलमा फर्काउन चाहे। उनले ५३ औं मिनेटमा गोल गरे पनि ७५ औं मिनेटमा सिटीका केभिन डी ब्रुइनले गोल थप्दा सिटीले ३-१ गोलको सहज जित निकाल्न सफल भयो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा लिभरपुल रेलिगेशन क्षेत्रमा रहेको नटिङ्घम फरेस्टसँग पराजित भयो। फरेस्टको घरेलु मैदान सिटी ग्राउण्डमा सम्पन्न खेलमा लिभरपुल १-० गोलले पराजित भएको हो। घरेलु टोलीको जितमा ताइवो अवोनियीले ५५ औं मिनेटमा निर्णायक गोल गरे।

योसँगै अंक तालिकामा २७ अंक जोडेको आर्सनल शीर्षस्थानमा रहँदा २६ अंक जोडेको सिटी दोस्रो, २३ अंक जोडेको टोटेनहम तेस्रो स्थानमा छन्। लिभरपुल १६ अंक जोडेर ७ औं स्थानमा छ भने नटिङघम फरेस्ट ९ अंक जोड्दै १९ औं स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell