काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अनुसन्धान गर्न अदालतले थप दुई दिनको म्याद दिएको छ। सन्दीपविरुद्ध प्रहरीले यसअघि तीन पटकसम्म सात दिन, पाँच दिन र चार दिनको म्याद थप गरेको थियो।
सन्दीप यतिखेर महानगरीय प्रहरी वृत्त गौशालामा छन्। प्रहरीले कानुनतः कुनै पनि अभियुक्तलाई अनुसन्धानको क्रममा केस हेरेर हिरासतमा राख्नसक्छ। बलात्कारको केसमा प्रहरीले पक्राउ गरेको दिनदेखि २४ दिनभित्र सरकारी वकिल कार्यालय हुँदै केस अदालतमा पुर्याउनु पर्ने हुन्छ। असोज २० गतेदेखि २४ दिन अर्थात् कार्तिक १२ गतेसम्म प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गर्नुपर्ने हुन्छ।
असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको हो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थल अवतरण गरेका थिए। विमानस्थलबाट उत्रिने बित्तिकै अध्यागमन कार्यालयले सन्दीपलाई विमानस्थल प्रहरीलाई जिम्मा लगाएको थियो।
१७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगेका हुन्। उजुरी लगत्तै प्रहरीले लामिछानेविरुद्ध प्रमाण सङ्कलन गर्न सुरु गरेको थियो। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ। प्रहरीमा परेको उजुरी अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए।
त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए। रातिको ११ बजेर ५५ मिनेटमा होटलमा लगेर लामिछानेले किशोरीलाई पटक-पटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीले होटलमा गएर पनि लामिछानेको उपस्थितको बारेमा प्रमाण सङ्कलन गरिसकेको थियो।
जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका आरोपी सन्दीपले भने निर्दोष रहेको बताएका छन्। तर, उनका वकिलले भने पीडित नाबालिकाले उमेर घटाएको प्रमाण पेस गर्ने बताउँदै आएका छन्। अहिले घटनाको मुल विषयभन्दा पनि नाबालिका र बालिकाको विषयमा सबै भन्दा धेरै चासो बनेको छ।
पीडित नाबालिका १८ वर्षमाथिको ठहरिएमा सन्दीपले सजाय कम पाउने सम्भावना रहन्छ। उमेर पुगेको अवस्था र सहमतिमा सम्बन्ध राखेको पाइएमा त्यसलाई करणी भन्न नमिल्ने कानुनी प्रावधानलाई टेकेर सफाइ पाउने दाउमा सन्दीपका वकिलहरु रहेका छन्।
पल शाहको केसमा जे गरिएको थियो त्यही रोडम्यापमा सन्दीपका कानुन व्यवसायीहरु लागेको देखिन्छ। पल शाहको केसमा नवलपुर जिल्ला अदालतले जवर्जस्ती करणीको अभियोगमा शाहलाई सफाई दिएको थियो। तर, नाबालिका भएकाले मात्र उनी दोषी ठहरीएका थिए। उनलाई साढे २ वर्ष कैद सजाय सुनाएको थियो।