PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

वाग्मतीमा कांग्रेसका कान्छा उम्मेदवार कृष्ण तामाङ, ‘पार्टीले युवालाई पत्याएर लडाइँमा पठायो’



पहिलोपोस्ट

वाग्मतीमा कांग्रेसका कान्छा उम्मेदवार कृष्ण तामाङ, ‘पार्टीले युवालाई पत्याएर लडाइँमा पठायो’

  • फूलमान तामाङ-

नवलपुर : सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट चुनावी मैदानमा उत्रिएका कृष्णकुमार तामाङ नेपाली कांग्रेसका युवा नेता हुन्। उनी भर्खरै २९ वर्ष पुगे। यस क्षेत्रबाट प्रदेश सभामा टिकटको दौडमा कृष्णभन्दा अनुभवी र वयस्क नेता नभएका हैनन्। तर, टिकट पाए उनैले।

२०७४ को स्थानीय निर्वाचनमा मेलम्ची नगरपालिका वडा ४ को वडा सदस्यमा निर्वाचित कृष्ण कांग्रेसको १४औँ महाधिवेशनमा क्षेत्र २ को क्षेत्रीय सभापतिका प्रत्यासी थिए। यद्यपि, आन्तरिक प्रतिस्पर्धामा उनको जित हुन सकेन।

कांग्रेस केन्द्रले बलियो युवा देखेर चुनावी लडाइँमा लड्न आफूलाई खटाएको उल्लेख गर्दै कृष्णले विश्वासमा धोका नदिने बताए।

‘नेपालकै जेठो प्रजातान्त्रिक पार्टी कांग्रेसको वाग्मती प्रदेशमा म कान्छो उम्मेदवार हुँ। पार्टीले मलाई विश्वास गरेर उम्मेदवार बनाएको र लडाइँमा लड्न पठाएकोले पार्टीको विश्वास तोड्दिनँ,’ कृष्णले भने।

अघिल्लो पटक यस प्रदेशमा कांग्रेसका निमा लामा निर्वाचित भएका थिए। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धन निर्वाचनमा होमिँदा सिन्धुपाल्चोकमा रहेका दुई प्रतिनिधिसभा र ३ प्रदेश सभामा कांग्रेसले हार व्यहोरेको थियो। कांग्रेसका लामाले भने जिल्लालाई ‘क्लिन स्विप’ हुनबाट जोगाएका थिए।

यसपटक पनि इतिहास दोहोरिने बताउँछन् कृष्ण। भने, ‘पहिले पनि जितेको ठाउँ हो। यसपाला झन् सजिलो हुन्छ।’

जित्ने आधार के त?

कांग्रेसले युवालाई ठाउँ दिएकै कारण आफूले जित्ने दाबी पेश गर्छन् उनी।

‘कांग्रेसमा युवा आकर्षित हुन थालेका छन्’, उनी थप्छन्, ‘अर्को म जनताको समस्याको साथमा भएकोले यहाँको जनताले मलाई जिताउनु हुनेछ। मैले टिकट पाउँदा यहाँ धेरै जना उत्साहित हुनुहुन्छ।’

उनी तामाङ राजनीति सँगसँगै समाजसेवामा पनि त्यतिकै सक्रिय रहेका छन्। भूकम्प, कोरोनादेखि बाढी पहिरोसम्म पीडितको उद्धार र राहतमा खटेका थिए उनी। त्यसैले उनी आफ्नो जितमा विश्वस्त देखिन्छन्।

यद्यपि, उनका मुख्य प्रत्यासी छन् एमालेका ५४ वर्षे हस्त पण्डित। वाम गणलाई बलियो बनाएका कारण पण्डित जिल्लामा चिनिएका नेता हुन्। उनलाई अनुभवी नेता पनि मानिन्छ। यतिमात्र हैन कृष्णलाई टिकट दिएकोमा कांग्रेसमा असन्तुष्टि चुलिएको छ। यस्तो तनावपूर्ण स्थितिलाई कसरी सम्बोधन गर्ने त?

कृष्ण भने कांग्रेसमा तनावपूर्ण स्थिति नरहेको दाबी गर्छन्। भन्छन्, ‘टिकटको दौडाहामा मैले टिकट पाएको भनेर असन्तुष्टि हुनुहुन्न। मैले टिकट पाउनसाथ सबै अग्रज नेताहरूले सहयोगको वचन दिइसक्नुभएको छ। म सबै अग्रज नेताहरुको कुरा सुनेर अघि बढ्छु।’

उनले राजनीतिमा पुस्तान्तरण गर्ने, हरेक फ्याक्टरमा युवालाई अगाडि बढाउने, आफ्नो प्रदेशलाई पर्यटकीय हब बनाउने, स्थानीय स्तरमा रोजगार सिर्जना गर्ने र भौतिक पूर्वाधारलाई चुनावी एजेन्डा बनाएका छन्। साथै, बाढीले क्षतिग्रस्त हेलम्बु पाँचपोखरी मेलम्चीका जनतालाई बर्खायाम पनि आवतजावत पक्की सडक बनाउने र बेलिब्रिज हाल्नेसम्मको योजना बनेको उनले बताए।

‘परिवर्तनको मुहार फेर्ने नै सडकले हो। गुणस्तरीय सडक बनाउन मेरो पहल रहन्छ,’ कृष्णले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell