तुलसीपुर : दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएको २४ घण्टासम्म पनि भेटिएका छैनन्। तुलसीपुर इलाका प्रहरी कार्यालयका अनुसार शनिवार दिउँसो पौने २ बजेतिर डुबेर बेपत्ता भएका दुई किशोरी आज दिउँसो पौने २ बजेसम्म पनि नभेटिएका हुन्।
घटनास्थलमा रहेका उक्त कार्यालयका प्रहरी नायब निरीक्षक वीरबहादुर भण्डारीका अनुसार उनीहरु डुबेको स्थान गहिरो भएको र त्यहाँ जाली पनि भएकाले जालीमा अड्किएको हुनसक्ने भएकाले पनि भेटाउन गाह्रो भएको छ। स्थानीयवासीले पानी मुनि गएर खोज्दा पनि भेटाउन सकेका छैनन्। बेपत्ताको खोजीका लागि बाँकेको शम्शेरगञ्जबाट गोताखोरको टोली आउन लागेको छ। साढे १२ बजेतिर शम्शेरगञ्जगबाट उक्त टोली हिँडेको उनले बताए।
शनिवार दिउँसो पौने २ बजेतिर नदीमा नुहाउन गएका दङ्गीशरण गाउँपालिका-२ सिमलकुना निवासी अन्दाजी १५/१६ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दङ्गीशरण २ स्थित मामाघर आएकी अन्दाजी १४/१५ वर्षीया गोमाचन्द बगेर बेपत्ता भएका हुन्। तुलसीपुर उपमहानगरपालिका-११ र दङ्गीशरण गाउँपालिका-२ को सिमानामा पर्ने सोही क्षेत्रमा नुहाउन तीन किशोरी गएका थिए।
तीमध्ये दुईजना पौडी खेल्न बिचमा गएको र अर्की दङ्गीशरण-२ सिमलकुना निवासी १३ वर्षीया निरुता बस्नेत छेउमै थिइन्। उनीहरु दुवैजना डुबेपछि निरुताले स्थानीयवासीलाई खबर गरेकीले स्थानीयवासीले प्रहरीलाई बोलाएको थियो।