PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

ओलीको जोड चुनावी फन्डामा, कम छैनन् सत्ता गठबन्धनका नेता पनि : कहाँ गए राजनीतिक मुद्दा?



प्रकाश भण्डारी

ओलीको जोड चुनावी फन्डामा, कम छैनन् सत्ता गठबन्धनका नेता पनि : कहाँ गए राजनीतिक मुद्दा?

काठमाडौं : निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवारमात्र चार घण्टा देशभरका ‘मतदाता’सँग फोनमा कुराकानी गरे। ओलीले जनतासँग कुराकानी भनेका छन्, यद्यपि निर्वाचनको सँघारमा भएको कुराकानी मतदातालाई प्रभावित पार्ने कार्यक्रम त हैन? अहिले प्रश्न उठ्न थालेको छ। यतिमात्र हैन - ओलीले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई लाइभ डिबेटको चुनौति दिन भ्याए।

चुनावको तीव्र तयारी गरिरहेका राजनीतिक दल एजेन्डाभन्दा ‘फन्डा’मा केन्द्रित छन्। चुनावको समयमा घरदैलोमा त उम्मेदवार छन् नै, सामाजिक सञ्जालमा पनि सक्रियता बढ्दो छ, राजनीतिक ‘स्टन्ट’का लागि। यस्तो स्टन्ट गर्नेमा ओलीलाई माथ खुवाउन अग्रसर छन् - सत्तारुढ गठबन्धनका शीर्ष नेता। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट पुगेर मतदाता आकर्षित गर्ने पासो फ्याँके। उनले त्यहाँका जनतालाई वैदेशिक रोजगारीमा जानका लागि ‘फ्रि भिसा, फ्रि टिकट’को लोभ देखाएका हुन्। जसले गर्दा निर्वाचन आयोगलाई स्पष्टीकरणसमेत दिनुपर्‍यो उनले।

प्रधानमन्त्री देउवा, नेकपा (मा‌ओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसम्मका पछिल्ला गतिविधि चुनावी ‘स्टन्ट’ केन्द्रित छन्। प्रधानमन्त्री देउवापत्नी आरजु राणा स्थानीय तह निर्वाचनकै बेला ‘फ्रि भिसा फ्रि टिकट’को अभिव्यक्तिका कारण विवादित बनिन्। चुनावी मुद्दामा भन्दा मतदाता प्रभावित पार्ने गतिविधिमा सक्रिय हुन थालेपछि एजेन्डा ओझेलमा पर्ने नै भए। मतदाताको चुलो चौकोमा पुगेर सघाएकोदेखि खेतबारीमा रमाएको देखाउन प्रतिस्पर्धा नै छ नेताबिच। जो अरुलाई रोचक लाग्न सक्छ, किनभने अरुबेला काठमाडौंमा आफ्नै कार्यकर्तालाई भेट्न नभ्याउने नेता चुनावमा मतदाताको घरघर पुगिरहेका छन्। 

जसरी पनि जनताको ध्यान खिच्न सके चुनावमा जित निकाल्न सकिने बुझाइ शीर्ष नेतामै छ। मंसिर ४ आउन एक महिनाभन्दा कम समय बाँकी रहँदा ठुला राजनीतिक दलले घोषणापत्र त सार्वजनिक गरेका छैनन नै, चुनावी एजेन्डासमेत ध्यान दिएका छैनन्। एजेन्डाविहीन बनेका शीर्ष नेताले आफ्नो पक्षमा चुनावी माहोल बनाउनैका लागि मतदातालाई आश्वासनदेखि घुर्कीसम्म लगाइरहेका छन्। 

जनतासँग फोनमा कुरा, ‘लाइभ डिबेट’को च्यालेन्ज

चुनावी फन्डा गर्नेमध्ये अग्रस्थानमा छन्, ओली। जनतासँग फोनमा कुरा गर्नेदेखि पल पलको अपडेट सामाजिक सञ्जालमा दिइरहेका छन् उनले। जबकि ओलीले कार्यकर्तालाई ज्ञानगुणका कुरामात्रै समाजिक सञ्जालमा लेख्न सम्झाउने गरेका थिए। आफ्नै बोली विपरित ओली चुनावका बेलामा सामाजिक सञ्जालमा सक्रिय छन्। फेसबुकमा सक्रिय रहेको देखाउन ओ‌लीले आफ्नो निवास बालकोटबाट भएको सुर्योदयको फोटो राख्नसमेत भ्याए। 

चुनावका बेला आफूलाई ओलीले कतिसम्म सक्रिय राख्न खोजिरहेका छन् भने कात्तिक १ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन च्यालेन्ज गरे। आफ्नै दलका नेताहरुका कुरा नसुनेको, पार्टी भित्रको असन्तुष्टि नमिलाएको, टिकट वितरणमा पूर्वाग्रही बनेको आरोप लागिरहँदा उनले देउवालाई ‘लाइभ डिबेट’का लागि चुनौति दिन भ्याए।

जनतासँग कुराकानी गर्ने घोषणा गरेका ओलीले कात्तिक ४ गते ४ घण्टा फोनमा कुराकानी गरे।

आफ्नो पार्टीको पक्षमा चुनावी माहोल बनाउन र मतदाता प्रभावित पार्न उक्त गतिविधिमा ओ‌ली सक्रिय भएको बुझ्न कठिन छैन। किनभने ओली सरकारबाट बाहिरिएपछि जनतासँग कुराकानी गर्न चुनावकै बेला रोजेका हुन्। 

प्रचण्डको आश्वासनदेखि घुर्कीसम्म

चुनावका बेलामा फन्डा गर्न अर्का सिपालु नेतामा पर्छन् मा‌ओवादी अध्यक्ष प्रचण्ड पनि। स्थानीय तह निर्वाचनका बेलामा आफ्नी छोरी रेणु दाहाललाई भरतपुर महानगरको मेयरमा नजिताए देश दुर्घटनामा पर्ने अभिव्यक्ति दिएपछि प्रचण्ड आलोचित बने। निर्वाचन आयोगले आचारसंहिता विपरीतको अभिव्यक्ति भन्दै स्पष्टीकरण सोधेको थियो। 

प्रचण्डका विवादित अभिव्यक्ति स्थानीय तह निर्वाचनका बेलामात्रै होइन प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पनि कम भएका छैनन्। 

‘तपाईंलाई के भन्न चाहन्छु भने जिताएर पठाउनुस, राम्रो एउटा विकासे मन्त्री बनाएर पठाउने छु,’ काठमाडौं-२ बाट उम्मेदवार रहेकी माओवादीका तर्फबाट गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीलाई मत माग्दै प्रचण्डले असोज ३० गते आश्वासन दिए। प्रचण्डको उक्त अभिव्यक्ति चुनावी स्टन्ट भएको बुझ्न कठिन छैन। किनभने  उनले उक्त सभामा माओवादीले बोकेका एजेण्डाबारे बोलेनन्। बरु ओनसरीको गुणगानमा समय खर्चिए।

प्रचण्डले मात्रै होइन उक्त कार्यक्रममा ओनसरीले पनि चुनाव जित्न विकासको नारा अघि सारिन्। उनले जोरपाटी-साँखु सडक २ वर्षमा बनाउन नसके सांसद पदबाट राजीनामा गर्ने वाचा गरेकी थिइन्। सडक निर्माण गर्न ३ सय मिटरमात्रै बाँकी रहेकाले चुनावी ‘फन्डा’बनाएको भन्दै ओनसरीको आलोचना भइरहेको छ। 

‘बिना ढेउवा के भिसा मिल्ते हेँ’

पूर्वप्रधानमन्त्री नेपाल पनि चुनावीमा फण्डा गर्न अरु नेताभन्दा कम छैनन्। केही समय अघि रौतहटमा गरेको ‘फ्रि भिसा फ्रि टिकट’को भाषणले नेपाल पनि आलोचित हुन परिरहेको छ। ‘बिना ढेउवा के भिसा मिल्ते हेँ, टिकट मिल्ते हेँ, काठमाडौँमे तालिम मिल्ते हेँ।’ निर्वाचन आयोगले नेपाललाई आचारसंहिता उल्लंघनको घटनामा कारवाही गर्न प्रहरीलाई सिफारिस गरेको थियो। 

चुनावका बेलामा आफ्नो पार्टीको पक्षमा माहोल बनाउन नेपालले एमालेमाथि प्रहार बढाएका छन्। उनले एमालेका अध्यक्ष ओली फेरि सत्तामा पुगे भागाभगको अवस्था आउने अभिव्यक्ति दिए। नेपालको उक्त अभिव्यक्ति चुनावका बेलामा आउनुको अर्थ बढीभन्दा बढी मत आफ्नो पक्षमा पार्नु हो। ‘ओलीले अलिकति शक्ति आर्जन गरे भने बहुमतको त कुरै छाड्नुस्, त्यसपछि देश नै छाडेर भाग्नुपर्ने हुन्छ,’ नेपालले पोखरामा आयोजित पाँच दलीय गठबन्धनको कार्यक्रममा भनेका थिए। ओलीमाथिको प्रहारलाई तीव्र बनाएमात्रै आफ्ना र गठबन्धन दलका नेता/कार्यकर्तामा चुनावी माहोल बनाउन सकिने बुझाइमा नेपाल छन्। 

चुनावको अर्को फन्डा - घर

चुनावका बेला नेताहरुलाई लाग्ने गरेको आरोप हो-टुरिस्ट उम्मेदवार। उक्त आरोपलाई चिर्न नेताहरुले पछिल्लो समय चुनाव लड्ने ठाउँमै घर बनाउन थालेका छन्। आवसीय सुविधाका लागि भन्दा घर बनाउने नेताका निर्णय चुनावी स्टन्टभन्दा टाढा छैन। गोरखा-२ बाट उम्मेदवारी दिएका प्रचण्डले त्यसअघि चितवन-३ मा चुनावी तयारी गरेका थिए। जसका लागि उनले बनाएका थिए घर। घर बनाउँदा पनि चुनाव जित्नेमा ढुक्क भएनन् प्रचण्ड। स्थानीय तह निर्वाचनका बेला छोरी रेणुका विपक्षमा कांग्रेसमा उत्पन्न विवाद प्रचण्डलाई चितवनबाट गोर्खा उक्लिने बलियो कारण बनेको छ। जहाँ प्रचण्ड जितका लागि सुरक्षित देखिन्छन्।

घरको राजनीति गर्नेमा प्रचण्ड एक्लो भने होइनन। किनभने परम्परागत पार्टी र शीर्ष नेताको चर्को आलोचना गरेर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवी लामिछाने पनि चुनावका बेलामा घर देखाउने फन्डाबाट टाढा रहेनन्। २०७४ को ‘आरजु टेक्निक’ लामिछानेले पनि अप्लाइ गरेका छन् यसपटक। श्रीमती निकिता पौडेलले चितवनमा ‘सेकेन्ड होम’ भन्दै असोज २७ गते फोटोहरु सार्वजनिक गरेकी थिइन्। 

घर देखाउने चुनावी स्टन्ट २०७४ को प्रतिनिधि सभाको चुनावमा देउवापत्नी आरजु राणाले गरिसकेकी थिइन्। यद्यपि कैलाली-५ मा घर किनेर गरिएको ‘आरजु टेक्निक’ सफल हुन सकेन। विपक्षीले टुरिस्ट उम्मेदवारको आरोप लगाएपछि घर किन्न बाध्य भएकी थिइन्। 

क्यारेम खेल्ने विशाल, बाइक चढ्ने विनोद चौधरी

चुनावका बेला नेताले आफ्नो पक्षमा माहोल बनाउन कतिसम्म गरिरहेका छन् भने अर्बपति बिनोद चौधरीले बाइकमा चढ्को फोटो सार्वजनिक गर्न भ्याए। एमालेका विशाल भट्टराईले गाउँ पुगेर क्यारेम खेले। प्रतिनिधि सभा सदस्यका लागि चौधरी ‍नवलपरासी-१ बाट कांग्रेसका तर्फबाट उम्मेदवार छन् भने भट्टराई खोटाङ-१ बाट। एमालेकै तर्फबाट ताप्लेजुङमा उम्मेदवार रहेका योगेश भट्टराईको चुलोसम्मै जुत्ता हालेर गएको फोटो भाइरल भएको थियो। चुनावी स्टन्टका लागि जनताको चुलोसम्म जुत्ता हालेर पुगेको भन्दै आलोचित हुन परेपछि भट्टराईले उक्त फोटो फेसबुकबाट हटाएका छन्।

भोट माग्ने देउवा ‘स्टाइल’

जसरी पनि जित निकाल्नै पर्ने दबावमा रहेका सत्ता गठबन्धन र एमालेका नेता मतदातालाई प्रलोभनदेखि धम्कीसम्ममात्रै दिइरहेका छैनन् तालमेलमा बेइमानी नगर्न कार्यर्तालाई चेतावनी पनि दिइरहेका छन्। पाँच दलीय गठबन्धनको चिन्ताको विषय हो - क्रस भोट। चुनावी तालमेलका कारण कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एमाले तथा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र जनता समाजवादी पार्टीले एक अर्का दलका उम्मेदवारलाई भटो हाल्नुपर्ने छ। पार्टीको सिद्धान्त विपरित भोट हाल्नुपर्ने स्थिति आएको भन्दै आलोचना हुन थालेपछि देउवाले दायाँबायाँ नसोचेर भोट हाल्न कार्यकर्तालाई निर्देशन दिरहेका छन्। 

'को हँसिया हथौडाको कलम भन्ने नै छैन। कलम भएको ठाउँमा कलममै भोट हाल्ने। हँसिया हथौडा भएको ठाउँमा हँसियाहथौडामा नै भोट हाल्ने। रुख भएको ठाउँमा रुखमै हाल्ने। त्यति भएपछि पुगिहाल्यो नि, किन चाहियो अरु कुरा?,'माओवादी र एकीकृत समाजवादीको चुनाव चिन्हमा किन मत हाल्ने? भन्दै प्रश्न गरिरहेका कार्यकर्तालाई देउवाले मंगलवार ललितपुरबाट जवाफ दिएका थिए। 

राजनीतिक ‘स्टन्ट’ मा जोड किन?

निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त सूर्यप्रसाद श्रेष्ठको बुझाइमा अहिले उम्मेदवारहरुसँग एजेन्डा नै नभएकाले चुनावी ‘स्टन्ट’मा लागेका हुन्। पार्टीको नीति सिद्धान्तहरुलाई बिर्सिएर विचार नै नमिल्ने दलहरुको चुनाव चिह्नमा भोट हाल्नुपर्ने भएकाले दलहरुले चुनावी एजेन्डा छाडेर फन्डा गरिहरेका छन्। जसरी पनि सत्ता प्राप्त गर्नु र व्यक्तिवादी बन्नुले पनि एजेन्डाहरु ओझेलमा परेको श्रेष्ठको मत छ। सत्ता प्राप्त गर्ने आकांक्षाका कारण दलहरु विचारै नमिल्ने राजनीतिक पार्टीसँग गठबन्धन गरिरहेका छन्। 

‘कार्यकर्तालाई अर्को दलमा भोट हाल भन्न थालेपछि कहाँबाट एजेन्डाबारे छलफल हुनु। व्यक्तिवादी सोचका कारण यस्तो भयो। मतदातालाई प्रभावमा पार्ने। उनीहरुको राजनीतिक आस्था र विचारको सम्मान नगर्ने। विचारको आधारशिला नै तोडिदिने। आफूले चाहेको दल र उम्मेदवारलाई मतदान गर्न नपाउने भएपछि कहाँबाट आउँछ एजेन्डा?,’ श्रेष्ठले भने, ‘ एउटा दलले अर्को दललाई भोट दिनपरेपछि एजेन्डाको के मतलव भयो र? यसमा त एजेन्डा हुने कुरै भएन नि।’  

‘घोषणा पत्र आएन, प्रचारशैली फेरियो’

एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य राजनीतिक दल एजेन्डा केन्द्रित नहुनुका मुख्य दुई कारण औल्याउँछिन्। घोषणापत्र सार्वजनिक नहुनु र चुनावको प्रचार शैलीमा आएको परिवर्तनका कारण एजेन्डा केन्द्रित बहस नभएको र नेताहरु नै आरोप प्रत्यारोपमा लागेको शाक्यले बताइन्। ‘घोषणा पत्र नआएकोले पनि होला। यसपाल दलहरु जसरी सत्ताप्राप्ति गर्नेतिर लागेको देख्छु। एजेन्डा केन्द्रित बहसहरु भइरहेका छैनन्,’ शाक्यले भनिन्, ‘अहिले प्रचारका लागि पनि १७ गते पछिमात्रै भनेको छ। अहिले त दलहरुको भित्र भित्रैको तयारीमात्रै हो। त्यसकारण पनि नभएको होला। चुनावको बहसलाई मर्यादित बनाउन त विषयबस्तु केन्द्रित हुनैपर्छ।’

दलहरुको ध्यान एक अर्काको विरोध गर्नमै केन्द्रित  छ। विपक्षी उम्मेदवारमाथिको प्रहारलाई तीव्र बनाउन र मतदाताको ध्यान केन्द्रित गर्न सकेमात्रै चुनाव जित्न सकिने बुझाइका कारण पनि चुनावमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ। ‘देश कसरी बनाउने। अहिलेका विकृति कसरी हटाउने भन्नेमा दलहरुबिच प्रतिस्पर्धा हुनुपर्ने हो। चुनावमा कतै अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ कि भन्ने लाग्छ। दलहरुभित्र पनि असन्तुष्टि मात्रै छ,’ शाक्यले भनिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell