
टी २० विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा भारतले पाकिस्तानमाथि जित निकालेको छ। अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न समूह 'बी' को खेलमा बिराट कोहली प्रेरित भारतले भारतले पाकिस्तानमाथि ४ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।
खराब सुरुवात गरेको पाकिस्तानका कप्तान ओपनर बाबर आजम गोल्डन डक आउट भएका थिए। त्यस्तै अर्का ओपनर मोहम्मद रिजवान ४ रनमा पभेलियन फर्कँदा शान मसूद र इफ्तिकार अहमदले अर्धशतकीय पारि खेल्दै टिमको स्कोर उकासेका थिए। मसूदले सर्वाधिक अविजित ५२ रन रन बनाउदा अहमदले ५१ रन बनाए। त्यस्तै शान साह अफ्रिदीले १६ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।
बलिङतर्फ भारतका अस्रदीप सिंह र हार्दिक पाण्ड्याले समान ३ विकेट लिँदा भुवनेश्वर कुमार र मोहम्मद शमीले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको भारतको पनि सुरुवात राम्रो हुन सकेन। ओपनर कप्तान रोहित शर्मा र अर्का ओपनर केएल राहुल समान ४ रनमा आउट हुँदा धर्माएको भारतको पारिलाई बिराट कोहलीले सम्हालेका थिए। उनले सूर्यकुमार यादव, अक्षर पटेल, हार्दिक पाण्ड्या, दिनेश कार्तिक र रबिचन्द्रन अश्विनसँग साझेदारी गर्दै पारिलाई उकासे। उनले ५३ बलमा ६ चौका र ४ छक्काको सहायतामा ८२ रन बनाउँदै अविजित रहे। उनीसँग राम्रो साझेदारी बनाएका हार्दिक पाण्ड्याले ४० रन बनाउँदा सूर्यकुमार यादवले १५ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
बलिङतर्फ पाकिस्तानका हरिष रउफ र मोहम्मद नवाजले समान २ विकेट लिँदा नसिम शाहले १ विकेट लिए।