बुटवल : रूपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिंगनगरमा क्षितिज नमूना कृषक समूहले व्यावसायिक रुपमा फूलखेती सुरु गरेको ४ वर्ष भयो। उनीहरूको पुष्प बगैँचामा अहिले ढकमक्क मखमली र गोदावरी फूल फुलेका छन्। तिहार नजिकिएसँगै सयपत्री फूलको माग पनि बढेको छ। समूहमा आबद्ध कृषकलाई तिहारका लागि फूलेको फूल टिप्न भ्याइनभ्याइ छ।
समूहले यस वर्ष १४ कठ्ठा जग्गा भाडामा लिएर फूलखेती गरेपनि करिब दुई कठ्ठामा रहेको फूल डुबानले नोक्सान भएको समूहकी अध्यक्ष नवीना भण्डारीले बताइन्। बेमौसमी वर्षा र यसवर्ष तिहार अलि छिटो परेकाले धेरैजसो बोटमा भर्खर मात्र फूल फुल्न थालेको उनले बताइन्।
‘बोटमा कोपिला लागेका छन् तर, फूल तयार हुन कम्तीमा दुई हप्ता कुर्नुपर्छ। फूल राम्ररी फक्रिन नपाउँदै फूल र मालाको माग बढेको छ,’ उनले भनिन्।
तर, तिहारसम्म मुस्किलले ५० प्रतिशत मात्र फूल फुल्ने देखिएको छ। अहिले समूहमा ११ जना कृषक आबद्ध छन्।
अहिले एउटा माला फूलको साइजअनुसार १३० देखि १५० रुपैयाँसम्म बिक्री हुने गरेको छ। मालाको डिजाइनअनुसार मूल्य बढी हुने गरेको छ। भारतबाट फूलमाला आयात हुँदा यहाँका किसानले भारतीय फूलसँग प्रतिस्पर्धा गर्न नसक्ने उनले बताइन्।
‘गुणस्तरीय फूल उत्पादन गरेर के गर्नु’, उनले भनिन्, ‘भारतबाट आउने मालासँग प्रतिस्पर्धा गर्न सकिदैन।’
बजारमा सस्तोमा फूल र माला दिनुपर्दा लागत समेत नउठ्ने उनले बताइन्। नगरपालिकाले कृषि औजार उपलब्ध गराएपनि समयमा आवश्यक मल, बीउ नपाएको अध्यक्ष भण्डारीको गुनासो छ। रुपन्देहीको बुटवल, तिलोत्तमा, रोहणी, देवदह, सैनामैना, लुम्बिनी, भैरहवा लगायतका क्षेत्रमा तिहार लक्षित सयपत्री र मखमली फूलको खेती गरिँदै आएको छ।
रुपन्देहीकै देवदह नगरपालिका-५ का पवन तिवारीले गत वर्षबाट व्यावसायिक फूलखेती सुरु गरेका हुन्। २३ वर्षीय युवा तिवारीले आफू देवदहमा पहिलो पुष्प व्यवसायी भएको दावी गर्छन्। अल्फा एग्रो फर्म एण्ड रिसर्च सेन्टर दर्ता गरेर पहिलो वर्ष ५ कठ्ठामा फूलखेती गरेका उनले यसवर्ष करिब ९ कठ्ठामा फूलखेती गरेको बताए।
कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनबाट कृषिमा स्नातक उत्तीर्ण गरेका उनले पढाइसँगै फूलखेती सुरु गरेका हुन्। अहिले उनलाई काममा परिवारका अन्य सदस्यले सघाउँदै आएका छन्।
पहिलो वर्ष एक लाख रुपैयाँबाट फूलखेती सुरु गरेका तिवारीले लगानी बढाउँदै गएका छन्। सरकारबाट सहयोगको अपेक्षा गरेको भएपनि कतैबाट केही सहयोग नपाएको उनको गुनासो छ।
‘देशभित्रै केही गर्ने सोचका साथ कृषिमा लागेका युवालाई सरकाले सहयोग र प्रोत्साहनका कार्यक्रम ल्याउनु पर्ने हो तर, सरकारले नै युवालाई निराश बनाउने काम गरेको छ,’ उनले भने।
अहिले एउटा मालाको मूल्य फूलको साइजअनुसार सय रुपैयाँदेखि १६० रुपैयाँ र एक किलो फूलको मूल्य ६ सय रुपैयाँ कायम गरिएको छ।
‘उत्पादन गरेको फूललाई बजारको चिन्ता छैन। स्थानीय बजारमै बिक्री हुन्छ। पहिलो वर्षको उत्पादनबाट सन्तुष्ट भएर नै यो वर्ष फूलखेती विस्तार गरेको हुँ,’ तिवारीले भने।
पाल्पाको रामपुर नगरपालिका-४ का दिलबहादुर थापा मगरले व्यावसायिक फूल खेती सुरु गरेको ४ वर्ष भयो। लामो समय वैदेशिक रोजगारीमा बिताएका मगरले यो वर्ष करिब ४ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन्।
पछिल्लो समय गाउँघरमा फूल कम उत्पादन हुँदै गरेका बेला मगरले सुरु गरेको फूलखेतीले छोटो समयमा धेरै चर्चा बटुलेको छ। उनको फूलखेती देखेर नै गाउँका अरु कृषकले पनि फूलखेती गर्न थालेका छन्।
तिहारमा फूल खरिद देखि फूलको बगैँचा हेर्न, फोटो/भिडियो खिच्न र टिकटक बनाउन टाढाटाढाबाट आउने युवायुवतीको संख्या दैनिक बढ्दै गएको उनले सुनाए। गत भदौमा धुलिखेमा दुई दिन र तीन वर्षअघि बुटवलमा एकहप्ते पुष्प व्यवसायसम्बन्धी तालिम लिएपछि व्यवसायमा धेरै सहज भएको उनले बताए।
‘अरु खेतीमा भन्दा फूलमा राम्रो आम्दानी हुँदो रहेछ त्यसैले अहिले पाल्पाका अन्य ठाउँमा पनि व्यावसायिक फूल खेती हुन थालेको छ,’ मगरले भने।
गत वर्ष बुटवल, नेपालगञ्ज, पोखरालगायतका ठाउँमा फूल बिक्री गरेका उनले यो वर्ष भने स्थानीय बजारमै फूल बिक्री गर्ने योजना बनाएका छन्।
‘विभिन्न ठाउँबाट फूल चाहियो भनेर व्यापारीले फोन गरिराख्नुभएको छ, स्थानीयबाट पनि माग उत्तिकै भएको हुँदा अहिले सबै फूल स्थानीय बजारमै खपत गर्ने योजना छ,’ उनले भने।
प्रत्येक वर्ष विदेशबाट आयात हुने लाखौँ मूल्य बराबरको प्लाष्टिकका माला र खादालाई विस्थापन गर्दै फूल खेतीलाई व्यावसायिक बनाउनुपर्ने मगरको भनाइ छ।
उता, दाङको घोराही उपमहानगरपालिका-१४ का लोकेन्द्र रोका फूलखेती गर्ने पुराना किसान हुन्। जलजना पुष्पखेती तथा नर्सरी दर्ता गरेर उनले विगत १० वर्षदेखि व्यावसायिक रुपमा फूल खेती गर्दै आएका छन्।
फूलखेतीको लामो अनुभव बटुलेका रोकाले यो वर्ष ३० कठ्ठा जमीनमा फूलखेती गरेका छन्। जिल्लामा फूलको माग र बजारको अध्ययन गरेर परम्परागत मकै र धान खेती छोडेर केही नयाँ गर्ने भन्दै सबैभन्दा पहिले व्यवसायिक फूल खेती रोजेका उनले गत वर्ष भन्दा यो वर्ष फूलको उत्पादन घटेको बताउँछन्।
उनले उत्पादन गरेको फूललाई बजारको चिन्ता छैन, धेरैजसो फूल दाङमै खपत हुने गरेको छ। तर, यसवर्ष असोजमा पानी परेका कारण फूल समयमै फुल्न सकेन। गत वर्ष फूल बिक्रीबाट ६ लाख आम्दानी गरेका रोकाको यसवर्ष १० लाख आम्दानी गर्ने लक्ष्य छ।
पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले अहिले बाह्रै महिना फूल उत्पादन सुरु गरेका छन्। अहिले उनले सजावटका लागि फूलका बिरुवा, उत्पादन तथा बिक्री समेत गर्दै आएका छन्।
आफूसँगै परिवार तथा अन्य दुई जनालाई समेत रोजगारी प्रदान गरेको उनको भनाइ छ। फूलको माग दशैँ-तिहारमा बढी हुने गरेको छ। त्यस्तै, विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको उनको भनाइ छ।
अहिले नेपालभर फूलको खेती र उपभोग बढेको छ। फूलको प्रयोग बढी हुने तिहारमा पछिल्लो समय अझ बढी फूलको व्यापार बढ्दै गएको व्यवसायीहरु बताउँछन्। स्वागत सत्कारमा मात्रै नभएर मन्दिर र देवी देवतालाई चढाउन फूल नै चाहिन्छ।
नेपालमा करिब ६ सय किसिमका फूल पाइने भएपनि तिहारमा मखमली, सयपत्री र गोदावरी फूलको माग बढी हुन्छ। दाजुभाइ र दिदीबहिनीका बिचमा भाइटीकापछि समृद्धिको प्रतिक सयपत्री अनि मखमलीको माला अनिवार्य मानिन्छ। मखमली र सयपत्री फूल नेपालीको लागि साँस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो। यसमा पनि मखमली फूलले तिहारमा विशेष महत्व राख्छ।
लुम्बिनी प्रदेशमा फूलखेतीका लागी हावापानी उत्कृष्ट छ। प्रदेशका १२ वटै जिल्लामा विभिन्न जातका फूलखेती विस्तार भएको छ। अहिले युवाहरू पुष्प व्यवसायप्रति आकर्षित छन्। फूलको आयात रोक्न युवाहरु लागेका छन्। भारतबाट आउने मालासँग प्रतिस्पर्धा गर्न भने यहाँका व्यवसायीलाई मुस्किल परेको छ।
बुटवलको बजारमा भारतबाट सहजै माला आउँछ। दशैँपछि तिहार सुरु भएसँगै फूलले बजार पाउन थालेको छ। चाडपर्वसँगै पछिल्लो समय विभिन्न औपचारिक कार्यक्रममा समेत फूलमालाको माग बढ्दै गएको छ।
फ्लोरीकल्चर एशोसिएसन अफ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रमेश पाण्डेले लुम्बिनी प्रदेशमा करिब ७० विगाह क्षेत्रफलमा फूलखेती गरिएको जानकारी दिए। फूल खेतीमा लुम्बिनी प्रदेश नेपालमै अगाडि रहेको अध्यक्ष पाण्डेको दाबी छ। यहाँका धेरै किसानले तिहारलक्षित फूलखेती गर्दा अन्य सिजनमा फूल अभाव हुने उनले बताए।
‘फूलखेतीमा कृषक सक्रिय छन् तर, सरकार मौन बस्दा समस्या भएको छ। कृषकले समयमा मल, बिउ तालिम र आवश्यक औजार नपाउँदा पछिल्लो समय निराश हुने अवस्था आएको छ’, उनले भने, ‘यसप्रति सरकार बेलैमा गम्भीर हुन जरुरी छ।’
सरकार, कृषि ज्ञान केन्द्र, स्थानीय तहले कृषकका समस्या समाधानमा ध्यान दिनुपर्ने फूल खेती गर्ने व्यवसायीको माग छ। उनीहरु आफ्नै ज्ञानले नै खेती गर्दै आएका छन्। प्राविधिक ज्ञानको अभावले पनि सही ढंगले खेती गर्न नसकिएको कृषकहरुको भनाइ छ। पहाडी जिल्लामा पनि व्यावसायिक फूल खेती गरेर स्वरोजगार बनाउन सके फूलमा आत्मनिर्भर हुन सहयोग पुग्नेछ।