PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सि चिनफिङको प्राथमिकता विज्ञान प्रविधि र सुरक्षा, ‘लामो र कठिन यात्रा’मा वैज्ञानिक र ‘डिग्री होल्डर’हरुको टिम



विधुर ढकाल

सि चिनफिङको प्राथमिकता विज्ञान प्रविधि र सुरक्षा, ‘लामो र कठिन यात्रा’मा वैज्ञानिक र ‘डिग्री होल्डर’हरुको टिम
फोटो : सिन्ह्वा।

सांघाई : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को शनिवार सम्पन्न २०औँ राष्ट्रिय महाधिवेशन र त्यसपछि सम्पन्न २०औँ केन्द्रीय कमिटीको पहिलो प्लेनरी सेसनका निर्णयलाई विश्वले नजिकबाट नियालिरहेको छ।

सीपीसीको महासिचवको रुपमा तेस्रो कार्यकाल सुरु गरेका सि चिनफिङले आगामी पाँच वर्षका लागि नयाँ अनुहारहरुलाई अगाडि सारेका छन्। चार वटा युवा नेताहरुलाई केन्द्रीय कमिटीको पहिलो प्लेनरी सेसनले बढुवा गर्दै पोलिटब्युरो स्ट्यान्डिङ कमिटीमा ल्याएको छ।

आइतवार निर्वाचित पोलिटब्युरो स्ट्यान्डिङ कमिटीमा विज्ञान, प्रविधि र सुरक्षाका क्षेत्रमा अनुभव हासिल गरेकालाई प्राथमिकता दिइएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

सिसँगै भेट्रान राजनीतिज्ञ वाङ हुनिङ र झाओ लजीसँगै चार नयाँ अनुहारसहित स्ट्यान्डिङ कमिटीमा रहेका सात जना नै आगामी पाँच वर्षका लागि सीपीसीका खम्बा हुने छन्।

महासचिव सिले आगामी पाँच वर्षलाई ‘अतुलनीय जटिलता’का पाँच वर्ष भनेर व्याख्या गरेका छन। यही अनुभवी तथा नयाँ अनुहारहरुले यही जटिलता पार गर्न सिलाई मद्दत गर्नेछन्।

पोलिटब्युरो स्ट्यान्डिङ कमिटीमा ल्याइएका चार नयाँ अनुहारहरु आगामी २०२७ को नेशनल कंग्रेसका लागि नेतृत्वमा दाबी गर्ने अनुहारहरु भने होइनन्। सि आफैँले पनि यिनिहरुलाई नयाँ नेतृत्वका लागि विश्वास गर्ने अवस्था छैन। यसले पनि सि २०२७ पछि पनि नेतृत्वमा रहन सक्ने अनुमानहरुलाई बल दिएको छ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले सीपीसीको नेतृत्वदायी अंगका सदस्यहरुको वरीयतामा सिलाई पहिलो स्थानमा राख्दै ६३ वर्षका लि छियाङलाई दोस्रो वरीयतामा राखेको छ। त्यस्तै, क्रमश: ६५ वर्षका चाओ लजी, ६७ वर्षका वाङ हुनिङ, ६६ वर्षका चाई छी, ६० वर्षका डिङ स्वायसियाङ र ६६ वर्षका लि सीलाई क्रमश: तेस्रो देखि सातौँ वरीयतामा राखेको छ।

यस आधारलाई हेर्दा लि छियाङ चीनको आगामी प्रधानमन्त्री बन्ने छन्। यद्यपि, यसको अन्तिम घोषणा आगामी मार्चमा हुने छ। तर, सीपीसीको वरीयताक्रममा दोस्रो वरियता क्रममा रहेका नेता प्रधानमन्त्री हुने चलन छ। प्रधानमन्त्रीमा स्थानीय सरकार सञ्चालमा अनुभव हासिल गरेका व्यक्तिलाई प्राथमिकतामा राखिन्छ।

ली सांघाई सरकारको नेतृत्वमा रहेर काम गरेका अनुभवी नेतासमेत हुन्। उनी सीपीसी सांघाई म्युनिसिपल कमिटीका सेक्रेटरीसमेत हुन्। उमेर हदका कारण अवकास लिएका लि ख्छ्याङलाई आगामी मार्चमा उनले प्रतिस्थापन गर्ने छन्।

तेस्रो वरीयतामा रहेका चाओ चीनको राष्ट्रिय जनकंग्रेसको स्ट्यान्डिङ कमिटीको अध्यक्ष बन्ने छन्। उनले आगामी जनकंग्रेसको अधिवेशनमा लि चान्सुलाई प्रतिस्थापन गर्नेछन्। ७२ वर्षीय लि पनि यसै महाधिवेशनबाट अवकास लिएका छन्।

त्यस्तै, चौथो वरीयतामा रहेका वाङ हुनिङ चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सको अध्यक्षको कार्यभार लिने छन्। हालका अध्यक्ष वाङ याङ पनि उमेर हदका कारण यसैपटकबाट अवकाश लिएका छन। चौथो वरीयतामा चढेका वाङ हुनिङ प्राध्यापकसमेत हुन्। उनी सेन्ट्रल कमिसन फर डिपेनिङ रिफर्मका निर्देशकसमेत हुन्।

वाङ हुनिङबाट यसै सम्मेलन मार्फत सीपीसीको सचिवालयको प्रथम सचिवको जिम्मेवारी चाइ छिमा हस्तान्तरण भएको छ। उनी सीपीसीको दैनिक कार्यको जिम्मेवारीमा हुनेछन। उनी बेइजिङ म्युनिसिपल कमिटीका सचिव तथा २०२२ को विन्टर ओलम्पिक तथा पाराओलम्पिकका आयोजक समितका अध्यक्षसमेत हुन्।

त्यस्तै, ६६ वर्षका लि सीलाई शक्तिशाली भ्रष्टाचार विरोधी आयोगको प्रमुखको जिम्मेवारी पाएका छन्। यसअघि यो आयोगको प्रमुखमा झाओ लजी थिए। लि क्वाङदो प्रान्तका पार्टी सचिव हुन्।

सीपीसीको मुल नेतृत्वमा आएको यो परिवर्तन वाह्य विश्वले अपेक्षा गरे भन्दा ठूलो हो। पोलिटब्युरो स्ट्यान्डिङ कमिटिमा प्रवेश पाएका अर्का डिङ स्वायस्याङ सम्भवत उपप्रधानमन्त्री बन्नेछन्। हाल यसरी स्ट्यान्डिङ कमिटीमा आएकाहरु यसअघिका कुनै उच्च नेतासँग पारिवारिक सम्बन्ध नभएका नेताहरु छन्।

त्यस्तै, पोलिटब्युरोमा पनि ठूलो परिवर्तन देखिएको छ। सीपीसीको पोलिटब्युरो २४ जनाको बनेको छ। यसअघि २५ जनाको थियो।

पोलिटब्युरोबाट यस्ता केही नेताको बहिर्गमन अप्रत्यासित रुपमा भएको छ। हु चुनह्वा पोलिटब्युरोमा अटेका छैनन्। यसको अर्थ उनी उपप्रधानमन्त्रीको रेसबाट बाहिरिने छन्। ५९ वर्षका उनी अवकासको उमेरबाट दुई कार्यकाल टाढा थिए। उनलाई प्रधानमन्त्रीको अब्बल दाबेदार मानिएको थियो। उनी तिब्बतबाट अप्रत्यासित रुपमा उदाएका थिए। उनी कम्युनिस्ट युथ लिग तिब्बतको स्टाफ हुँदै गर्दा इनर मंगोलियाको पार्टी प्रमुख भएका थिए।

पोलिटब्युरोमा पहिलोपटक २००२ यता महिलाको प्रतिनिधित्व शून्य भएको छ। यसको अर्थ दुई दशकयता पहिलो पटक चीनको उपप्रधानमन्त्रीमा महिला हुने छैनन्।

यता पोलिटब्युरो सिको रोजाई विज्ञान प्रविधिका क्षेत्रका विज्ञहरुसमेत परेका छन्। पोलिटब्युरोमा प्रवेश पाएकामा सिनङरुइ एरोस्पेस इन्जिनियर हुन्। उनलाई सिन्ह्वाले ८औँ वरीयतामा राखेको छ। प्राध्यापकको उपाधिसमेत पाएका उनी हर्विन विश्वविद्यालयबाट इन्जिनियरिङमा पीएचडी हुन्। सिनचियाङ युगुर स्वशासित क्षेत्रका पार्टी सचिवसमेत हुन् मा। सिन्ह्वाले ९औँ वरीयतामा हालका विदेश मन्त्री वाङ यीलाई राखेको छ।

१०औँ वरीयतामा डक्टर अफ मेडिकल साइन्सको डिग्री हासिल गरेका यिन लिलाई राखिएको छ। उनी हाल फुचियान प्रान्तका पार्टी सचिव हुन्। साथै फुचियान प्रान्तको जनंकग्रेसका अध्यक्षसमेत हुन्। उनले डब्लुएचओमासमेत काम गरिसकेका छन्।

त्यस्तै, जचियाङ प्रान्तका पार्टीसचिव रहेका युआन चाइचुनसमेत पोलिटब्युरोमा परेका छन्। उनी एरोस्पेस इन्जिनियर हुन्। चीनको स्पेस प्रोग्राममा अनुभवी रहेका उनी जर्मनबाट एरोस्पेससम्बन्धी अध्ययन गरेका हुन्।

त्यस्तै, न्युक्लियर फिजिसिस्ट लि कानचिय पनि पोलिटब्युरोमा समावेश भएका छन्। उनी सानदोङ प्रान्तका पार्टी सचिव हुन्। त्यस्तै उनीहरुको पोलिटब्युरोमा स्थान हुनु भनेको आगामी मार्चमा हुने सरकार परिवर्तनका बेला उनीहरुले सरकारमा महत्त्वपूर्ण स्थान पाउने अपेक्षा गरिएको छ।

सीपीसीको २०५ सदस्यीय केन्द्रीय कमिटीका २०३ जना कम्तीमा पनि तेस्रो तहको डिग्री हासिल गरेकाहरु छन्। यो कमिटीमा वैज्ञानिकहरु उपस्थिति पनि बाक्लो छ। विविध विधामा वैज्ञानिक अभुव हासिल गरेका २९ जना सदस्यहरु छन्। उनीहरु सबै चाइनिज एकेडेमी अफ साइन्स एण्ड इन्जिनियरिङका समकक्षीहरु हुन्।

आइतवार पत्रकार सम्मेलनमा महासचिव सि आत्मविश्वासका साथ उपस्थित हुँदै आफ्नो टिमले ‘लगनशीलताका साथ काम गर्नेछ’ भनेका थिए।

‘अगाडिको यात्रा लामो र कठिन छ, तर दृढताका साथ हामी हाम्रो गन्तव्यमा पुग्ने छौं। हामी उच्च हावा, चिसो पानी वा खतरनाक आँधीबेहरीबाट डराउनेछैनौं, किनकि जनता सधैं हाम्रो पछाडि हुनेछ र हामीलाई विश्वास दिनेछन्,’ सीपीसीको कोर टिम सार्वजनिक गर्दै उनले भनेका थिए

त्यस्तै, उनले चीन अन्तर्राष्ट्रिय समुदायले अंगिकार गर्ने साझा मान्यता प्रति चीन प्रतिवद्ध रहेको भन्दै अन्य देशहरुसँग मिलेर काम गर्ने बताएका थिए।

‘विश्व अभूतपूर्व चुनौतीहरूसँग जुधिरहेको छ। हामीले मानवताको भविष्य र भाग्यलाई बुझ्न र आकार दिन विश्वका मानिसहरूलाई निरन्तर आह्वान गरेका छौं’, उनको उद्घोष थियो, ‘जब सबै देशहरूले साझा हितको बाटो पछ्याउँछन्, हामी सद्भावमा बाँच्न सक्छौं, पारस्परिक लाभको लागि सहयोगमा संलग्न हुन सक्छौं र विश्वको लागि उज्ज्वल भविष्य सिर्जना गर्न हात मिलाउन सक्छौं।’

आइतवार बेइजिङमा देश विदेशका ६०० बढी पत्रकारहरुको अगाडि उपस्थित हुँदै सिले चीनले सबै आयामबाट मध्यम समृद्ध समाज निर्माण गरेको भन्दै आधुनिक समाजवादी राष्ट्र निर्माणको नयाँ यात्रामा विश्वासका साथ अगाडि बढेको घोषणा गरे।

उनले यो यात्रालाई महिमा र सपनाहरुको समिश्रणको रुपमा व्याख्या गरे। विश्वको दोस्रो ठूलो अर्थतन्त्र आधुनिकताको नमुना मार्गमा हिँडिरहेको र जुन कहिल्यै नदेखिएकोसमेत उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell