PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

मंसिर ४ मा परिवर्तनका पक्षधर र त्यसको विरोधी बीच सङ्ग्राम : प्रचण्ड



पहिलोपोस्ट

मंसिर ४ मा परिवर्तनका पक्षधर र त्यसको विरोधी बीच सङ्ग्राम : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा दुई वटा विचार र सिद्धान्तबीच आमनेसामने हुने बताएका छन्।

संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रका पक्षमा वाम लोकतान्त्रिक गठबन्धन खडा भएको उल्लेख गर्दै उनले संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसलाई स्वीकार नगर्नेकाबीचमा निर्वाचनमा सङ्घर्ष हुने बताए।

वाम लोकतान्त्रिक गठबन्धनको वाग्मती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, 'दुई वटा विचार, प्रवृत्ति, संस्कृतिका बीचमा आमनेसामने हुँदैछ।'

संविधानको संरक्षणका साथै सङ्घीयता र समानुपातिक प्रतिनिधित्वका पक्षमा आफूहरुको गठबन्धन रहेको उनको भनाइ थियो। अध्यक्ष दाहालले परिवर्तन र अग्रगमनका पक्षधर र त्यसको विरोधीका बीचमा मङ्सिर ४ गते सङ्ग्राम हुने धारणा राखे।

उनले प्रत्येक निर्वाचन कुनै पनि राजनीतिक विषयमा केन्द्रित हुने गरेको तथ्य पेश गर्दै अग्रगमन र परिवर्तनका पक्षमा उभिने कि नउभिने भन्नेबारेमा आगामी निर्वाचन पनि केन्द्रित भएको बताए।

'विगतमा संविधान मिच्ने, प्रतिनिधिसभा विघटन गर्ने दुष्प्रयास गरियो। त्यसका विरुद्ध हामी सबै उभियौँ। सङ्घर्षका बीचमा गठबन्धन बनेको हो। सानो मेहनत र सानो कसरतबाट यो गठबन्धन जन्मेको होइन। त्यसकारण यसका उम्मेदवारलाई विजयी गराउनु आजको आवश्यकता हो,' उनले भने।

शक्ति सन्तुलन हाम्रो पक्षमा नभएको भए देश ठूलो दुर्घटनामा जाने खतरा रहेको उनको भनाइ थियो। नेपालमा शान्ति प्रक्रिया सुरु गरेको र १२ बुँदे समझदारीका सहयात्री हामी एकै ठाउँमा रहेको भन्दै दाहालले यो निर्वाचन जित्ने उद्देश्यका लागि मात्रै नभएको बताए।

नेपाली जनताले प्राप्त गरेको अधिकारलाई थप स्थापित गर्न र आर्थिक समृद्धिको चाहना पूरा गर्न पनि केन्द्रित रहेको उनको भनाइ छ।

उनले गठबन्धनले उम्मेदवार बनाएका सबै उम्मेदवारलाई आफ्नै उम्मेदवार ठानेर मतदान गर्न र विजयी गराउन आग्रह पनि गरे। कुनै पनि दुविधा नराखी स्वाभाविक सहयात्री र गठबन्धनका उम्मेदवारलाई विजयी गराउने उद्देश्यका साथ जनताको घरदैलोमा जानसमेत उनले निर्देशन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell