PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

खुर्सानीको धुप लगाएर आलु पार्टीको उद्घाटन : राजनीतिक दलमाथि व्यङ्ग्य तर आफूले पद नछोडेको भन्दै अध्यक्षको कुर्सी खोसियो!



पहिलोपोस्ट

खुर्सानीको धुप लगाएर आलु पार्टीको उद्घाटन : राजनीतिक दलमाथि व्यङ्ग्य तर आफूले पद नछोडेको भन्दै अध्यक्षको कुर्सी खोसियो!

ललितपुर : आइतवार दिउँसो जावलाखेलको 'पाँडे पाराडाइज'प्राँगणमा बेग्लै माहोल थियो। नजिकै रहेको चिडियाघरबाट चराको चिरबिर सुनिने पाराडाइज भवनको भित्तामा आलु पार्टीको तुल टाँगिएको थियो। गेटभित्र छिर्नसाथ ठुलो कलमले आफ्नो नाम दर्ता गर्न लगाइयो। आयोजकको दाबी थियो– यो संसारकै ठूलो कलम हो।

आलु पार्टीमा आउनेहरु कोही एउटा आलु त कोही झोलामै आलु बोकेर आउँदै थिए। दिउँसो साँढे २ नबज्दै सञ्चारकर्मी शिरोमणि दवाडीले कार्यक्रमका अध्यक्ष रामकुमार पाँडेलाई सभापतित्व ग्रहण गर्न बोलाए।

दवाडीले आमन्त्रण गर्नसाथ पाँडे कूर्सीतिर अघि बढेकामात्र थिए – कलाकार घनश्याम श्रेष्ठले सभापतिको कूर्सी खोसिहाले। अनि उनलाई भुँईमा बसाले।

४५ वर्षदेखि पाँडे नै आलु पार्टीको अध्यक्ष रहेछन्। देशका कतिपय राजनीतिक दलमा एकै व्यक्ति अध्यक्ष रहे पनि विकासका लागि सिन्को नभाँच्ने प्रवृत्तिमाथि प्रहार गर्न पाँडेको कुर्सी खोसिएको रहेछ।

लगत्तै कार्यक्रम उद्घाटन गरियो – खुर्सानीको धुप बालेर। यतिमात्र हैन कार्यक्रम सञ्चालकले फेरिसमेत लगाए।

राजनीतिक विकृतिमाथि प्रहार गर्दै खुर्सानीको धुप बालेर फेरि लगाएपछि कलाकार श्रेष्ठले देउसी सुरु गरिहाले। 'देउसी रे' को सट्टामा 'लौ खा' भन्न लगाइयो।

घोडागधा गठबन्धन, ठगबन्धन – लौ खा

जति भने भने पनि घुस पचाउने, लाज पचाउने अराजक नेता – लौ खा

जग्गा बेचेर संगीतमा लगानी गर्ने, गीत बनाएर आफ्नो परिवारलाई मात्र सुनाउने – लौ खा

लौ खा भन्दा भ्रष्टाचारीमाथि जुत्ताको तलुवासमेत चटाइएको थियो।

फेरि र देउसीपछि हाँस्यव्यङ्ग्य क्षेत्रका साहित्यकार तथा कलाकारहरू शैलेन्द्र सिंखडा, दिपाश्री निरौला, डा.बमबहादुर जिताली, विष्णु तिवारी, घनश्याम गौतम, कार्टुनिष्टहरू अविन, रविन, रवीन्द्र मानन्धर र अशोकमानलगायतले कविता, मुक्तक, नृत्य, गायन कला तथा कार्टुन चित्र प्रदर्शन गरे।

आलु पार्टीका संस्थापक वरिष्ठ हाँस्यव्यङ्ग्यकार रामकुमार पाँडेले आफ्नो निवास जावलाखेलमा विगत ४५ वर्षदेखि आलु पार्टी गर्दै आएको बताए। कार्यक्रममा सत्ता र कुर्सीको मोहमा परेका ७० काटेका बुढा नेताहरूलाई सांकेतिक व्यङ्ग्य गर्दै पाँडेले भीषण भाषण गरेका थिए।

विसं २०३४ सालदेखि निरन्तर फरक शैलीमा काग तिहारका दिन मनाइने आलु पार्टी ४५ वर्षदेखि चल्दै आएको पाँडेले बताए। पाँडेले भाषणका क्रममा आफूले हास्य घरको परिकल्पना गरेको बताए।

'जावलाखेल क्षेत्रमा हास्य घर स्थापना भए कमेडीको हेडक्वाटर बन्छ,' पाँडेले भने।

आलु पार्टीलाई निरन्तरता दिन पनि हास्ने घरको आवश्यकता रहेको उनको भनाई थियो। हास्य घरका लागि पाँडेले ललितपुर महानगरमालिकाका मेयर चिरिबाबु महर्जनलाई यसअघि प्रस्ताव लगिसकेका छन्।

कार्यक्रममा व्यङ्ग्य र प्रस्तुतिका आधारमा प्रस्तोताहरूलाई सांकेतिक रूपमा विभिन्न दर्जाका आलु उपाधिले सम्मान गरिएको थियो। आलुको खिरलगायत आलुकै परिकार खाएर आलु पार्टी टुङ्याइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell