
काठमाडौं : नेकपा (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आफूले परास्त गरेको टिप्पणी गरेका छन्। ओलीलाई पराजित गरेर गठबन्धन निर्माण गरेको प्रचण्डको दाबी छ।
सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको वाग्मती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई पार्टी र संसदीय दलबाट निष्काशन गरेर पाँच दलीय गठबन्धन निर्माणमा लागेको बताएका हुन्। सो कार्यक्रममा उनले ओलीको आलोचना गरे भने प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको प्रशंसा गरे।
'हारेर गठबन्धनमा आएको होइन'
ओलीले नकाब लगाएर संविधान स्वीकारेको प्रचण्डको आरोप थियो। 'नकाब लगाएर संविधान स्वीकारिएको रहेछ। आफू पावरमा आइसकेपछि गणतन्त्र उल्टाउनका लागि परपञ्चहरु सुरु भए,' प्रचण्डले भने।
मंसिर ४ गतेको निर्वाचनमा एमाले गठबन्धन र सत्ता गठबन्धनबिचको प्रतिस्पर्धा सामान्य नभएर संग्राम भएको उनको भनाइ छ। 'मंसिर ४ को निर्वाचन अग्रगमन र प्रतिगमनको संग्रामका रुपमा हुँदैछ,' उनले भने।
उनले अहिले सत्ता गठबन्धनमा रहेका नेताहरु १२ बुँदे समझदारीका सहयात्री भएको भन्दै देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रशंसा गरे। युद्धमा भएका बेला प्रधानमन्त्रीका रुपमा वार्ता गर्ने देउवा नै पहिलो भएको प्रचण्डको भनाइ थियो।
'अहिले पनि गठबन्धनमा भएका नेताहरु १२ बुँदेका सहयात्रीहरु नै हुन्,' प्रचण्डको भने,' युद्धमै हुँदा शान्ति वार्ताका रुपमा पहिलो प्रधानमन्त्रीका रुपमा देउवासँग कुरा भएको थियो। म दाङमा थिए फोनमा नेपालमा शान्ति वार्ता गर्नुपर्छ भनेका थियौं।'
'ओली राजावादी'
सम्बोधनका क्रममा प्रचण्डले अधिकांश समय ओलीको आलोचना गरे। आधा घण्टाको भाषणमा उनले ओली २०६२/६३ कै आन्दोलनका बेलामै गणतन्त्रको पक्षमा नरहेको आरोप लगाए।
ओली त्यतिबेला एमालेको नेतृत्वमा भए गणतन्त्र आउन सम्भव नहुने भन्दै उनले माधव नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि उल्लेख्य योगदान गरेको बताए।
'७ राजनीतिक दलका प्रमुख नेता हामी यता छौं। यदी त्यति बेला एमालेको नेतृत्व माधव नेपाल नभएर राजवादी गठबन्धन बनाएर हिँड्ने मानिस भएको भए के हुन्थ्यो होला?,' उनले प्रश्न गरे।
कांग्रेस 'नेचुरल' सहयात्री!
आफूले कांग्रेससँग भन्दा वाम पार्टीबिचकै एकता स्वभाविक देखेको प्रचण्डको भनाइ थियो। एमाले र माओवादीबिच एकता गरिएको भए पनि ओलीका कारण टिक्न नसकेको प्रचण्डको आरोप छ।
कांग्रेस भने सदा माओवादीको 'नेचुरल' सहयात्री भएको प्रचण्डको टिप्पणी छ। चुनावका बेलामा विचार नै नमिल्ने दलसँग सहयात्रा गरेको भन्दै आलोचित भइरहेका प्रचण्डले देउवाको घरमा पटक पटक गएर गठबन्धन बनाएको र त्यो स्वभाविक भएको दाबी गरे।
'हिजोका नेचुरल सहयात्रीहरु नेपाली कांग्रेस र वामपन्थी मिल्नै नै स्वभाविक रहेछ भन्ने निष्कर्षमा आइपुगेपछि। शेरबहादुर देउवाजीको घरमा पटक पटक बैठकहरु भए,' उनले भने।
उनले ओलीसँगको एकताबाट आफूलाई ज्ञान प्राप्त भएको र उक्त ज्ञान अहिलेको गठबन्धनलाई काम लागेको बताए। 'सुरुका दिनमा मलाइ सोध्ने पनि गरियो तपाईंले के पाउनु भयो एमालेसँग सहकार्य गरेर भनेर। मैले ज्ञान प्राप्त गरेर आएको छु यो गठबन्धनका लागि ठुलो पाठ हुनेछ। यो गठबन्धन नेचुरल गठबन्धन हो। उता जो छन् परिवर्तनका विरोधी छन्,' प्रचण्डको भनाइ छ।
भेला किन?
सत्ता गठबन्धनले ७ वटै प्रदेशमा चुनावी भेलाहरु गरिरहेको छ। उक्त भेलामा देउवा, प्रचण्ड र नेपालले सम्बोधन गरिरहेका छन्। सोमवारको भेलामा प्रचण्डले भेला गर्नुको कारणबारे पनि प्रष्टिकरण दिए।
शीर्ष नेता नै एक ढिक्का भएकाले कार्यकर्ता मिल्न आनाकानी गर्न नहुने सन्देश दिन भेलाको आयोजना गरिएको प्रचण्डले बताए। भने,'हामी गठबन्धनका नेता एक ढिक्का छौं भन्ने एउटा उद्देश्य हो भने अर्को आवश्यक सहयोग गर्न हामी प्रतिवद्ध छौ भन्ने पनि हो।'
उनले गठबन्धनमा भोट 'क्रस' नहुने चर्चा भएको भन्दै १२ बुँदे शान्ति सम्झौताकै बेलामा कांग्रेससँग सहकार्य भएकाले एक दलले अर्कोलाई मत हाल्न आनाकानी गर्न नहुने तर्क गरे।
'हामी त्यतिबेलाका नेताले १२ बुँदेमा हस्ताक्षर नगरेको भए। विस्तृत शान्ति सम्झौतमा हस्ताक्षर नगरेको भए संघीय लोकतान्त्रिक गणतन्त्रमा हुने थिएनौं,' प्रचण्डको भनाइ छ।
कार्यक्रममा प्रचण्डले १२ बुँदे शान्ती सम्झौतामा हस्ताक्षर गर्ने गिरिजाप्रसाद कोइराला नायक भएको भन्दै सम्झौतामा हस्ताक्षर गर्ने प्रचण्ड पनि गणतन्त्रको नायक भएको दाबी गरे।
'रुखलाई बेठिक भन्ने हो भने त्यतिबेलाको हस्ताक्षर बेठिक भन्न सक्नुपर्छ। गण्डकीमा एक साथीले भन्नुभयो दायाँतिर हस्ताक्षर गर्ने महानायक। शान्ति नायक। संविधान र लोकतन्त्रको प्रवर्द्धक त्यसैको बायाँतिर हस्ताक्षर गर्ने प्रचण्ड नायक नहुने हुन्छ र?,' उनले भने।
हँसिया हतौडामा छाप लगाउन किन कठिन भयो?
प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गरेको दिन आफूले रुखमा छाप दोहोर्याए। कोइरालाले त्यतिबेलै हँसिया हतौडामा हस्ताक्षर गरेको प्रचण्डको भनाइ थियो
'मैले जुन दिन त्यो सम्झौतामा हस्ताक्षर गरे रुखमा छाप लगाएको हो। जुन दिन गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीको हैसियतमा ७ राजनीतिक दलको तर्फबाट हस्ताक्षर गर्नुभयो त्यहि दिन कोइरालाले हँसिया हतौडामा छाप लगाएको हो,' प्रचण्डले भने।
कांग्रेसका सच्चा कार्यकर्तालाई हँसिया हतौडामा भोट हाल्न अप्ठेरो नहुने उनको भनाइ छ। 'तपाईं सच्चा नेपाली कांग्रेस हो भने गिरिजाप्रसाद कोइराला र देउवालाई नेता मान्ने पार्टीको कार्यकर्ता हो भने हँसिया हतौडामा छाप लगाउन वा माओवादी केन्द्रका साथीहरु रुख छाप लगाउन के कठिन भयो? बेलकुल कठिन हुनु हुदैँन,' प्रचण्डले भने।
'लड्नेका बिच मिल्न मजा हुन्छ'
प्रचण्डले कांग्रेससँग माओवादीको सहकार्यलाई लिएर प्रश्न उठेको भन्दै टिप्पणी गरे। उनले कांग्रेस माओवादी आमने सामने भएर लडेको र अहिले सम्झौतामा आएको बताए।
'धेरैले भन्छन् हिजो टाउको काट्ने कुरा गरेकाहरुसँग मिल्ने? बम हानेर सिध्याउनहरुसँग मिल्ने भनेको तर्क सुनिन्छ। मिल्ने भनेकै दुई लड्नेहरुका बिचमा हो। अनि मात्रै मिल्नुको मजा हुन्छ,' प्रचण्डको भनाइ थियो।