.jpg)
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण पार्टी जनताको आदेशमा चल्नुपर्ने बताएका छन्। दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले जनता सर्वभौमसम्पन्न रहेकोले उसैको आदेशमा सरकार पनि चल्नुपर्ने बताए।
'सर्वभौमसत्ता जनता भनेको सम्पूर्ण पार्टी हो। उसको आदेशमा, उसको निर्णयमा सम्पूर्ण पार्टी चल्नुपर्छ। सरकार चल्नुपर्छ। त्यसैले चुनाव हुँदैछ,' देउवाले भने।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले गठबन्धन सरकार प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताए। 'प्रेस स्वतन्त्रता प्रजातन्त्र र लोकतन्त्रको सुदृढीकरणका लागि आवश्यक छ। संविधानले प्रेस स्वतन्त्रतालाई कुनै बन्देज गरेको छैन, वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई हस्तक्षेप गर्ने छैन,' प्रधानमन्त्री देउवाले भने।
देउवाले प्रेस स्वतन्त्रता नभए देशमा प्रजातन्त्रको विकास र सुदृढीकरण हुन सक्दैन भन्दै स्वतन्त्रताको पक्षमा सरकार उभिने विश्वास दिलाए। 'प्रजातन्त्रका लागि प्रेस स्वतन्त्रता आवश्यक छ। पार्टी (नेपाली कांग्रेस)ले पनि कुनै बन्देज लगाएको छैन, संविधानले नै प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरेकाले यसको प्रवद्र्धनका निम्ति सबै लाग्नुपर्छ', देउवाले भने। गठबन्धन सरकारले प्रेस स्वतन्त्रतालाई कुनै हस्तक्षेप र बन्देज नगरेको स्पष्ट पार्दै उनले सञ्चार जगत्ले जनताको पक्षमा कलम चलाउनुपर्ने धारणा राखे।
प्रधानमन्त्री देउवाले आवधिक निर्वाचनमार्फत जनताले आफ्नो प्रतिनिधि छान्न पाउने भएकाले निर्वाचनको महत्व रहेको बताए। जनताको सुखदुःखमा साथ दिने पार्टी पनि कांग्रेस भएकाले मुलुकको विकास र समृद्धिका लागि कांग्रेसको नेतृत्व जरुरी रहेको देउवाको भनाई रह्यो। 'आर्थिक समृद्धि, संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि हाम्रो नेतृत्व अपरिहार्य छ,' देउवाले भने, 'जनता सर्वभौमसत्ता सम्पन्न छन्। लेख्न पाउँछ। भन्न पाउँछ। आन्दोलन गर्न पाउँछ। गठबन्धनको तर्फबाट पनि प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप हुँदैन।'