PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भारतीय मूलका ऋषि सुनक कसरी पुगे बेलायतको प्रधानमन्त्री पदसम्म?



पहिलोपोस्ट

भारतीय मूलका ऋषि सुनक कसरी पुगे बेलायतको प्रधानमन्त्री पदसम्म?
Photo: REUTERS

भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने पक्का भएको छ। कन्जरभेटिभ ‍पार्टीको टोरी लिडरको दौडबाट पेनी मोर्डन्टले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनी प्रधानमन्त्री बन्ने पक्का भएको हो। सुनक यसअघि प्रतिद्वन्द्वी लिज ट्रससँग पराजित भएका थिए।

बेलायती राजनीतिमा सुनकको निकै छिटो उदय भयो। उनले सन् २०१५ मा ३५ वर्षको उमेरमा पहिलो पटक संसद्को निर्वाचन जितेका थिए। सात वर्षपछि उनी अब प्रधानमन्त्री बन्न लागेका छन्। उनी बेलायतको पहिलो भारतीय मूलका र अश्वेत जातिको प्रधानमन्त्री हुनेछन्।

विपक्षी लेबर पार्टीका ७५ वर्षीय सांसद वीरेन्द्र शर्माले ऋषि सुनकलाई राम्ररी चिनेका छन्। दुवै भारतीय मूलका सांसद पनि हुन् र दुवैको ‘कनेक्सन’ पञ्जाबसँग जोडिएको छ।

शर्मा भन्छन्, ‘आज हामी यस्तो तहमा पुगेका छौँ कि यहाँ बस्ने समुदाय, यहाँको राजनीतिक अवस्था, समाजको हिस्सा बनेका छौँ। त्यसैले आज आर्थिक रूपमा डायस्पोरा (भारतीय मूलका) बनेका छन्, एक शक्ति, हाल हामीसँग राजनीतिमा लगभग ४० एसियाली र अश्वेत सांसदहरू छन्।’

बन्ने भयो इतिहास

सन् २००८ मा अमेरिकामा बाराक ओबामा राष्ट्रपति निर्वाचित हुँदा जस्तै ऋषिको प्रधानमन्त्री बन्नु ऐतिहासिक क्षण हुने धेरै विज्ञहरू बताउँछन्। सुनकभन्दा अगाडि पनि दक्षिण एसियाली मूलका नेताहरू ठूलो पदमा पुगिसकेका छन्। प्रिति पटेल बेलायतको गृहमन्त्री र सादिक खान लण्डनका मेयर बनेका छन्।

तर, अहिलेसम्म एसियाली मूलका कोही पनि प्रधानमन्त्री पदको दावेदार बनेका थिएनन्। राजनीतिक विश्लेषकहरूका अनुसार ऋषिको उदय एसियाली समुदायहरूको सफलतासँग जोडिएको छ। ऋषिजस्ता नेताको उदयका कारण नै बेलायती समाजमा विविधता आएको उनीहरुको भनाइ छ।

लण्डनस्थित मिडलसेक्स विश्वविद्यालयमा पढाउने डा निलम रैना भन्छिन्, ‘यो ऐतिहासिक त हुनेछ नै किनभने भारतको तुलनामा संसद्मा धार्मिक र जातीय अल्पसंख्यक समुदायको प्रतिनिधित्व धेरै छ। तर, तिनीहरूको फरक जातीय पहिचान भएकाले यो ऐतिहासिक हुनेछ।’

ऋषि भारतीय मूलका तेस्रो पुस्ता हुन्। उनका हजुरबा हजुरआमा भारतको विभाजनअघि नै पाकिस्तानी पञ्जाबको गुजरनवाला सहरबाट पूर्वी अफ्रिका बसाइ सरेका थिए। धेरै वर्ष पछि, उनीहरु इङ्गल्याण्डको साउथह्याम्पटन शहरमा बसोबास गरे। जहाँ ऋषि सुनकको जन्म १९८० मा भएको थियो। उनी सोही शहरमा हुर्केका थिए।

बेलायतका सबैभन्दा धनीमध्येका एक

बेलायतमा ऋषि सुनक निकै धनी भएको जनविश्वास रहेको छ, जुन आम मानिसबाट टाढा हुनुको प्रमुख कारण बनेको छ। भर्खरै गरिएको सर्वेक्षण अनुसार उनी बेलायतका २५० सबैभन्दा धनी परिवारमा पर्छन्। तर, के उनको जन्म धनी परिवारमा भएको थियो?

वैदिक सोसाइटी टेम्पल साउथह्याम्प्टनको एउटा ठूलो हिन्दू समुदायको मन्दिर हो। ऋषि सुनकका परिवारका सदस्यहरू यसको संस्थापकमध्येका एक हुन्। उनको बाल्यकाल यही मन्दिरको वरिपरि बित्यो, जहाँ उनले हिन्दू धर्मको शिक्षा पाएका थिए। ७५ वर्षीय नरेश सोनचाटलाले ऋषि सुनकलाई बाल्यकालदेखि नै चिनेका हुन्।

उनी भन्छन्, ‘सुनक ऋषि सानैदेखि आमाबुवा र हजुरबा हजुरआमासँगै मन्दिर आउथे।’

सञ्जय चन्दराना कर्पोरेट जगतमा एक महत्वपूर्ण नाम हो। उनी वैदिक समाज हिन्दू मन्दिरका अध्यक्ष पनि हुन्। गत महिना मन्दिरमा आएका बेला उनले ऋषिलाई भेटेका थिए। मन्दिरमा उनले समुदायका सबै मानिसहरूलाई भेटे।

त्यो भेटको स्मरण गर्दै सञ्जय भन्छन्, ‘उहाँ रोटी बनाउँदै हुनुहुन्थ्यो, रोटी गोलो बन्दैथियो, त्यसैले मैले उहाँलाई घरमा पनि खाना पकाउनुहुन्छ? भनेर सोधेँ, जवाफमा उहाँले भन्नुभयो - हो, मलाई पकाउन मन पर्छ। हामीले उहाँलाई सोध्यौं कि तपाई बाल विकासका विद्यार्थी (यस मन्दिरमा)सँग भेट्न चाहनुहुन्छ? त्यसपछि उहाँले हुन्छ भन्नुभयो र हामी त्यहाँ गयौँ।’

उनका बुबा यशवीर सुनक डाक्टर हुन् भने आमा उषा सुनकले हालसम्म केमिस्टको पसल चलाउने गर्दथिन्। उनहरु अहिले पनि यही सहरमा बस्छन्। ऋषि सरल, धार्मिक हिन्दू धर्म मान्नेहरूमध्येका एक हुन्। उनको परिवारमा पढाइ र करियरमा बढी जोड दिइन्छ। त्यसैले उनका बुबाले उनलाई निजी विद्यालयमा पढाए।

अर्थमन्त्रीको रुपमा कस्तो रह्यो काम?

आफ्नो वेबसाइटमा उनी लेख्छन्, ‘म राम्रो विद्यालयमा जान सकूँ भनेर मेरा आमाबाबुले धेरै त्याग गर्नुभयो। म विन्चेस्टर कलेज, अक्सफोर्ड विश्वविद्यालय र स्ट्यानफोर्ड विश्वविद्यालयमा पढ्न पाउँदा भाग्यशाली महसुस गर्छु।’

कोभिड-१९ महामारीको ठिक अघि ऋषि बेलायतको अर्थमन्त्री बनेका थिए। यो उनको लागि ठूलो उपलब्धि थियो किनभने बेलायतमा प्रधानमन्त्री पदपछि अर्थमन्त्रीको पद दोस्रो उच्च मानिन्छ। उनले अर्थमन्त्रीको रुपमा निकै राम्रो काम गरे, जसकारण पनि धेरैले उनलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहन्छन्।

ऋषिले सन् २००९ मा बेंगलोरमा इन्फोसिसका संस्थापक नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग विवाह गरेका थिए। अहिले उनीहरुका दुई सन्तान पनि छन्। उनको ७३० मिलियन पाउन्डको घोषित सम्पत्तिको मालिक धेरै हदसम्म उनकी श्रीमती रहेको बताइन्छ। ऋषि आफ्नै मेहेनतले धनी बनेका हुन्।

उनी आफ्नो वेबसाइटमा भन्छन्: ‘म सफल व्यावसायिक करियरको आनन्द लिन पाउँदा भाग्यशाली छु। मैले सिलिकन भ्यालीदेखि बैंगलोरसम्मका कम्पनीहरूसँग मिलेर काम गरिरहेको एउटा ठूलो लगानी फर्मको सह-स्थापना गरेको छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell