ललितपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनले दुई तिहाई सिट जित्ने दावी गरेका छन्। उनले सत्ता गठबन्धनका पक्षमा जनमत देखिएको दावी गरे।
लोकतान्त्रिक–वाम गठवन्धन गोदावरी नगरपालिका ढुकुछाप - ८ कमिटिद्वारा मंगलबार आयोजित कार्यक्रममा कांग्रेस नेता राणाले भने, ‘हाम्रो गठबन्धनको नेतृत्वमा दुई तिहाई सिट आउँछ अनि मिलेर सरकार बन्छ।’ उनले अहिलेको गठबन्धन आगामी पाँच वर्षसम्म जाने बताए।
उनले गठबन्धनलाई स्थानीय चुनावमा जनताले अनुमोदन गरिसकेको उल्लेख गर्दै आगामी निर्वाचन परिणाम पनि गठबन्धनकै पक्षमा आउने दावी गरे। साथै उनले कांग्रेस र माओवादीसहित गठबन्धनका दलहरुबीच ललितपुरको विकासका लागि व्यवहारमै सहकार्य भइसकेको बताए। उनले गठबन्धनमा रहेका पार्टीका स्थानीय नेता कार्यकर्ताहरुको समस्यामा आफूले साथ दिने वचन दिए। ‘तपाईहरुको सुखदुखमा कांग्रेस साथमा रहन्छ। तपाईहरुसँगको सहमतिमा हामी काम गर्नेछौं,’ उनले भने, ‘भोलिका दिन माओवादीसहित एकीकृत समाजवादीका साथीहरुका समस्याहरुलाई समाधान गर्न हामी साथ दिन्छौं। माओवादी समाजवादीका साथीहरुका लागि मेरो घरको ढोका र दिलको ढोका सधैं खुला छ।’
सत्ता गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत पाँच दलबीच चुनावी तालमेल भएको छ। ललितपुर पनि यी तीन दलबीच चुनावी तालमेल छ। ललितपुर १ मा प्रतिनिधिसभामा कांग्रेसबाट राणा उम्मेदवार छन् भने प्रदेशसभातर्फ कांग्रेसका मीनकृष्ण महर्जन र माओवादी केन्द्रका हरि दाहाल उम्मेदवार छन्।