PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पर्सा १ मा दुई गठबन्धनलाई स्वतन्त्र उम्मेदवारको डर: प्रदीप र लक्ष्मणलालको खेल बिगार्ने दाउमा अजय, के होला लालबाबुको?



राधेश्याम पटेल

पर्सा १ मा दुई गठबन्धनलाई स्वतन्त्र उम्मेदवारको डर: प्रदीप र लक्ष्मणलालको खेल बिगार्ने दाउमा अजय, के होला लालबाबुको?

वीरगंज : गेटवे अफ नेपाल, आर्थिक नगरी भनेर चिनिने वीरगंज अहिले मधेश प्रदेश र देशकै लाइफलाइन बनेको छ। वीरगंज मधेश आन्दोलनको केन्द्र बन्यो। नाकाबन्दीमा पहिलो संकट व्यहोर्‍यो। पर्साको सदरमुकाम वीरगंज, बारा–पर्सा औद्योगिक कोरिडोरको मुख्यालय पनि हो।

बेलाबेला चर्चामा आइरहने वीरगंजमा यति बेला फेस्टिभ मुडका साथै चुनावी सरगर्मी पनि उतिकै छ। अधिकांश राजनीतिक दलका उम्मेदवार र तिनका नेता चाडबाड मनाउँदै मतदाता रिझाउन भरमग्दुर प्रयासरत छन्। वीरगंजका धेरै वडाहरु पर्सा क्षेत्र नं १ मा पर्छ भने केही वडाहरु पर्सा क्षेत्र नं २ मा पनि पर्छन्।

पर्सा १ मा प्रतिनिधिसभातर्फ दुई गठबन्धनको भिडन्त हुने अड्कलबाजी गरिए तापनि एक अर्को समूहले चुनावी खेललाई प्रभावित पार्ने अवस्था सिर्जना भएको छ। मुख्यगरी एमाले–जसपा गठबन्धनबाट प्रतिनिधि सभामा प्रदिप यादव चुनावी मैदानमा उत्रिएका छन् भने सत्तारुढ गठबन्धनबाट लोसपाका पुराना नेता लक्ष्मणलाल कर्ण प्रतिस्पर्धामा उत्रिएका छन्।

धेरैको आँकलन थियो - यादव र कर्णबीच कडा टक्कर पर्नेछ।

तर अहिले अवस्था बदलिएसँगै पर्सा १ मा त्रिपक्षीय भिडन्त हुने देखिएको छ। राप्रपाका किरण डंगोल मतदाता रिझाउन गाउँ पस्न थालेका छन्। किरण कांग्रेस थिए, गत स्थानीय चुनावको बेला राजेन्द्र लिङ्देन वीरगंज आउँदा उनी राप्रपा प्रवेश गरे। उनै डंगोलले अहिले कांग्रेसीको मत प्रभावित पार्लान् कि भन्ने डर सत्ता गठबन्धनलाई परेको छ। यद्यपि राप्रपाको संगठन कमजोर भएको कारण किरण सोचे जति बलिया नभएको मतदाताहरु बताउँछन्।

सत्तारुढ गठबन्धनका लक्ष्मणलाल कर्ण पर्सा क्षेत्र नं १ को रेसमा तेस्रो नम्बरमा रहेको चर्चा छ। वृद्धा अवस्थाको कारण अन्तिम भिडन्तमा छन् उनी। उम्मेदवारी दर्ताकै समय उनले आफ्नो यो अन्तिम लडाईँ भएको बताएका थिए। पुरानो निर्वाचन क्षेत्र पर्सा क्षेत्र नं ४ छाडेर क्षेत्र नं १ को टिकट पोल्टामा पार्दा मतदाताले उनलाई नरुचाएको कतिपयको भनाई छ।

विगत ५ वर्ष उनले ४ नम्बरका जनताको लागि विकासे बजेट खर्चेको १ नम्बर क्षेत्रमा लोसपाका संगठन पनि कमजोर भएकोले उनको जित असहज भएको प्रतिपक्षी नेताहरुको दाबी छ। सत्तारुढ गठबन्धनको मुख्य पार्टी कांग्रेसको पूर्व जिल्ला सभापति अजयकुमार द्विवेदी स्वतन्त्रबाट मैदानमा उत्रिएपछि उनको जित झनै असहज भएको हो। पर्सा क्षेत्र नं १ मा माओवादी केन्द्र र एकीकृत समाजवादीको संगठन पनि बलियो छैन।

तसर्थ अगामी मंसिर ४ मा जसपाका प्रदिप यादव र स्वतन्त्रका अजय द्विवेदीबीच मुख्य प्रतिस्पर्धा हुने चर्चा छ। द्विवेदीको इन्ट्रीले चुनावी खेल रोचक मोडमा पुगेको बताइन्छ। पुराना काँग्रेसीहरु लोसपा नेता कर्णलाई नसघाउने र १ मा अजय द्विवेदी खेमाका नेता अरबिन्द गुप्ता क्षेत्रीय सभापति भएकोले उनले अधिकांश कांग्रेसी भोटको लागि लबिङ गरिरहेका छन्। साथै अन्य दलको पनि भोट अजय द्विवेदीलाई पाउने भएकोले अहिलेको अवस्थामा प्रदिपलाई कडा टक्कर दिने नेता अजय द्विवेदी नै भएको चर्चा छ।

यस्तो छ अंकगणित

गत स्थानीय चनावमा पर्सा क्षेत्र नं १ मा सबैभन्दा बढी जसपाको मत परेको थियो। त्यसबेला जसपाले १५ हजार ७०६, एमालेले १३ हजार ३३५, कांग्रेसले १२ हजार ९०२, माओवादीले ३ हजार ७४६, लोसपाले २ हजार ०८६, एकीकृत समाजवादीले १६०३, राप्रपाले ५७७ मत ल्याएका थिए।

त्यसबेलाको कुल मतदातमा केही बढेर हाल कुल मतदाता क्षेत्र नं १ मा करिब ७८ हजार पुगेको छ। जसमा ३९ हजार पर्सा १ क मा र ३८ हजार ६५३ पर्सा १ (ख)मा मतदाता रहेका छन्।

स्थानीय तहको मत परिमाणको अनुसार एमाले–जसपाको मत एक ठाउँमा जोडियो भने भने प्रदिप यादवको पल्ला भारी देखिन्छ। एमाले–जसपाको मत जोड्ने हो भने २९ हजार ४१ पुगिरहेको छ।

तर पर्सा क्षेत्र नं १ क बाट वर्तमान प्रदेश सांसद जन्नत अन्सारी स्वतन्त्र लडिरहेकाले उनले जसपाको भोट काट्छन्। त्यसैगरी सत्तारुढ गठबन्धनको सबै दलको मत परिमाण जोड्ने हो भने २० हजार ३ सय ३७ पुग्दैन। अर्थात प्रदिप यादवको तुलनामा सत्तारुढ गठबन्धनका लोसपा नेता कर्ण र द्विवेदी कमजोर छन्। तर केही विश्लेषणकर्ताले द्विवेदीलाई पार्टीले टिकट नदिएको र उनीसँग अन्य दलका नेताकार्यकर्ताहरुको साथ रहेको बताएका छन्। साथसाथै, एमाले - जसपा गठबन्धनका असन्तुष्ट नेता एवं प्रदिप यादव विरोधी शक्तिहरु पनि द्विवेदीको साथबाट चुनावमा खेलिरहेको बताइएको छ्। क्षेत्र नं १ को चुनावमा प्रदिपलाई हराउन वीरगंजको केही ठुला औद्योगिक घाराना, एमाले, कांग्रेस नेताहरुले फन्डिङको व्यवस्था मिलाए स्वतन्त्रका द्विवेदीलाई सघाइरहेका चर्चा छ।

के भन्छन् उम्मेदवारहरु?

प्रदिप आफ्नो प्रतिस्पर्धा कसैसँग नरहेको दावी गर्छन्। आफूले ५ वर्षयता जनताको काम गरेकोले सोही मूल्याकनअनुसार जनताबाट आफूले फल पाउनेमा विश्वस्त रहेको बताउँछन् प्रदिप। द्विवेदीले राजनीतिक दलको सिन्डिकेट अन्त्यको लागि आफ्नो स्वतन्त्र उम्मेदवारी दिएको बताउँछन्। काँग्रेससँगै अन्य दलको मत पनि पाउनेमा ढुक्क छन् उनी।

यता लोसपा नेता कर्ण सत्तारुढ गठबन्धनको नेता भएकोले आफूलाई सबै दलबाट साथ पाउने र अजय द्विवेदीलाई पार्टीको निर्णायक भोट नजाने दावी गर्छन्।

प्रदेश सभामा यस्तो छ अंकगणित

पर्सा क्षेत्र नं १(क)मा खास गरी तीन पक्षीय भिडन्त हुने देखिएको छ। सत्तारुढ गठबन्धनका रहबर अन्सारी, एमालेका विचारीप्रसाद यादव र जसपाका वागी नेता जन्नत अन्सारीबीच प्रतिस्पर्धा हुने देखिएको छ। तर टक्कर भने विचारी र रहबर वीच हुने आँकलन छ। जन्नतले एक पल्ट जितिसकेकोले जनताले नयाँ अनुहारलाई खोज्ने विश्लेषण छ। कांग्रेसकै वागी नेता सुधीर पटेल पनि प्रदेश सांसद बन्न स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन्। उनले पनि यूवाको साथ पाउनेमा विश्वस्त छन्। उनले पनि गाउँगाउँमा चुनावी कार्यक्रम तीव्र पारेका छन्।

साथै मुस्लिम भोट पनि रहबर र जन्नतले बाडने भएकोले दुबै जनाको जित सुनिश्चित छैन। एक जना मुस्लिम उम्मेदवार भएको भए सहजै बाजी मार्ने अवस्था हुन्थ्यो। रहबर र जन्नतभन्दा बलिया उम्मेदवारको रुपमा विचारी यादव देखिन्छन्। यो क्षेत्रमा १२ देखि १५ हजार मत ल्याउनेले जित निकाल्ने विश्लेषण छ।

त्यसैगरी, पर्सा १(ख)मा निकै रोचक प्रतिस्पर्धा हुने देखिएको छ। एकतिर मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र अर्का तिर तीन जना उम्मेदवार छन्। जसमा सबैभन्दा बलिया उम्मेदवार हुन् मुख्यमन्त्री राउत। किन भने उनले ५ वर्ष मुख्यमन्त्री भएर आफ्नो क्षेत्रमा निकै बजेट खर्च पनि गरेका छन् आसेपासे कार्यकर्तालाई रिझाएका पनि छन्। उनलाई टक्कर दिने सबैभन्दा बलिया उम्मेदवार हुन् सत्तरुढ गठबन्धनका रामनारायण कुर्मी।

लौरो समुहको हाम्रो पार्टीबाट उम्मेदवार बनेका छन् लोसपाका वागी नेता ओमप्रकाश सर्राफ। उनी तीन नम्बरमा आउने चर्चा छ। त्यसैगरी लोसपाकै अर्का नेता शशिकपुर मियाँ पनि दौडमा रहेको देखिन्छन्। उनले पनि लालबाबुको मुस्लिम भोट काट्ने चर्चा छ।

मधेश प्रदेशमा भएको भ्रष्टाचार तथा अनियमितता तथा पटकपटक विवादित बयान दिने गरेका मुख्यमन्त्री राउतको लागि अगामि चुनाव सहज छैन। तर पनि उनले चुनाव आफूले नै जित्ने अभिव्यक्ति दिँदै आएका छन्। उनको भोटको कोर एरिया भनेको वीरगंजको १५ नम्बर वडा लक्षमानवा, १६ नम्बर वडा नगवा,१२ नम्बर वडा मुर्ली हो। त्यही वडाबाट उनको जित सुनिश्चित हुने उनी विश्वस्त छन्। तर जनताको नजरमा खराब आचरण बनिसकेको मुख्यमन्त्रीलाई यसपाली हराएर दण्डित पार्ने सोचमा जनता रहेको काँग्रेसका पर्सा उपसभापति समेत रहेका उम्मेदवार रामनारायण कुर्मी बताउँछन्। उनले यसपाली आफ्नो पक्षमा अभिमत आउने दावी गर्छन्। त्यसैगरी, १(ख)मा मुख्यमन्त्री लालबाबु राउतलाई हराउन लोसपाका वागी नेताद्वय मियाँ र सर्राफले पनि अहोरात्र खटिरहेका छन्। उनीहरुले पनि मुख्यमन्त्रीलाई कडा टक्कर दिने दावी गर्छन्। उक्त क्षेत्रमा पनि १२ देखि १५ हजार मत ल्याउने उम्मेदवारले बाजी मार्ने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell