PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

रसियासहित शीर्ष वरीयताका यी ८ टिम जो देखिनेछैनन् कतार विश्वकपमा, वर्ल्डकप च्याम्पियनदेखि लयमा रहेकासम्म



पहिलोपोस्ट

रसियासहित शीर्ष वरीयताका यी ८ टिम जो देखिनेछैनन् कतार विश्वकपमा, वर्ल्डकप च्याम्पियनदेखि लयमा रहेकासम्म
फोटो : Reuters

कतार विश्वकप नजिकिँदै गर्दा यसको छनोट प्रक्रियालाई 'फलो' नगरेका समर्थकहरु अचम्मित हुन् सक्छन किनभने यसपटक उनीहरुले समर्थन गर्दै आएका टोली विश्वकपमा सायद हुनेछैनन्। अहिलेको युरोकप च्याम्पियन तथा ४ पटकको विश्वकप विजेता इटली कतार विश्वकपमा देखिने छैनन्। इटलीमात्र होइन, अरु पनि केही यस्ता चर्चित टिमहरु छन्, जो वर्ल्डकपमा छनोट हुन असफल रहे।

केही दक्षिण अमेरिका, अफ्रिका र युरोपका विश्वकपमा राम्रो छाप छाडेका टोलीहरु कतारमा देखिने छैनन्। खेलाडीको कुरा गर्दा क्लब फुटबलमा हाल सानदार प्रदर्शन गरिरहेका अर्लिङ हल्याण्ड, मोहम्मद सलाहलगायतका खेलाडी विश्वकपको मैदानमा उत्रने छैनन्

कुन कुन देश कतारमा हुनेछैनन्?

इटली

वरीयता : ६

विश्वकपमा प्रदर्शन : ४ पटक च्याम्पियन (१९३४, १९३८, १९८२ र २००६)

विश्वकप छनोटको मार्च महिनामा सम्पन्न प्लेअफमा नर्थ म्यासेडोनियासँग पराजय ब्यहोरेसँगै इटलीको विश्वकप यात्रा रोकिएको थियो। युरो कप विजेता इटलीको प्लेअफमा पुग्नु नै अनौठो विषय थियो। विश्वकप छनोटका पाँच खेलमा ४ बराबरी र १ जित निकाल्दा इटली प्लेअफ खेल्ने अवस्थामा पुगेको थियो। जसमा नर्थ म्यासेडोनियासँग पराजय ब्यहोर्दै विश्वकपको होडबाट बाहिरियो। त्यो भन्दा ठूलो तथ्य भनेको युरोपको फुटबलको शक्ति राष्ट्र इटलीले यसपाला लगातार दोस्रो पटक विश्वकप गुमाउँदैछ।

कोलम्बिया

वरियता १७

विश्वकपमा प्रदर्शन : क्वाटरफाइनल (२०१४)

विश्वकपमा गोल्डनबुट जितिसकेका जेम्स रोड्रिगेजको टोली कोलम्बिया विश्वकपमा छनोट हुनेमा दाबेदार टोली थियो। विश्वकपको दक्षिण अमेरिकी छनोटमा छैटौं स्थानमा रहँदै विश्वकपमा छनोट हुन असफल भएको थियो। कतारमा क्लब फुटबल खेलेका रोड्रिगेजले आफ्नो टिम विश्वकपमा छनोट हुन नसकेपछि सामाजिक सञ्जालमा पोस्ट लेख्दै आफू गहिरो दु:खमा रहेको जनाएका थिए।

स्वीडेन

वरीयता: २५

विश्वकपमा प्रदर्शन : उपविजेता (१९५८)

स्वीडेनले हालसम्म १२ वटा विश्वकपमा सहभागिता जनाइसकेको छ। सन् १९५८ मा घरेलु मैदानमा विश्वकपको फाइनलसम्म पुगेर ब्राजिलसँग पराजित हुँदै उपाधिबाट विमुख भएको थियो। कतार विश्वकपसम्म आइपुग्दा स्वीडेनले छनोटका ६ खेलमध्येमा ३ खेलमा पराजय ब्यहोर्दै स्पेनसँग ४ अंकले पछि पर्दै प्लेअफमा झरेको थियो। प्लेअफमा पोल्याण्डसँग उसकै घरेलु मैदानमा पराजय ब्यहोर्दा स्वीडेन उपाधि होडबाट बाहिरिएको थियो।

चिली

वरीयता २९

विश्वकपमा प्रदर्शन : तेस्रो स्थान (१९६२)

विश्वकपको पहिलो संस्करणबाटै सहभागिता जनाउँदै आएको टोली हो चिली। सन् १९६२ को विश्वकप आयोजना गरेको चिलीले घरेलु मैदानमा तेस्रो स्थान सुरक्षित गर्न सफल भएको थियो। सन् १९९८, २०१० र २०१४ को विश्वकपमा चिलीले अन्तिम १६ सम्म स्थान बनाउन सफल भएको थियो। आर्टुरो भिडाल, गेरी मेडल, एलेक्सिस स्यान्चेज जस्ता स्टार खेलाडीको खस्कँदो प्रदर्शनसँगै चिलीले यसपाला विश्वकपमा स्थान बनाउन असफल रह्यो। विश्वकप छनोट अन्तर्गतका आफ्ना अन्तिम पाँच खेलमा चिलीले चार हार ब्यहोरेको थियो। चिलीले पछिल्लो समय इक्वेडरले कोलम्बियाको खेलाडी खेलाएर विश्वकपमा छनोट भएको भन्दै इक्वेडरलाई 'डिस्क्वालिफाइ' गर्न फिफासँग माग गरेको थियो। तर, फिफाले ब्रयोन क्यास्टिलो इक्वेडरकै नागरिक भएको भन्दै नियमअनुसार विश्वकपका लागि योग्य रहेको स्पस्ट पारेको थियो।

नाइजेरिया

वरीयता ३२

विश्वकपमा प्रदर्शन : अन्तिम १६ (सन् १९९४, १९९८, २०१४)

सन् १९९४ मा विश्वकपमा डेब्यु गरेको नाइजेरियाले सुरुबाटै उनीहरुको आक्रामक फुटबल र समर्थकको क्रेज र रमाइलो गोल सेलिब्रेसन गर्ने तरिकाका कारण चर्चामा रह्यो। पछिल्लो समय सन् २००६ को विश्वकप गुमाएको नाइजेरियाले त्यसयता फेरि कमब्याक गर्न सफल भएको थियो। ठूलो समर्थक रहेको नाइजेरियाले भने कतार विश्वकप छनोटका अन्तिम दुई खेलमा घानासँग बराबरी खेलेपछि असफल हुन पुग्यो। बराबरी खेलेको घाना अवे गोलका आधारमा विश्वकपमा छनोट हुन पुग्यो।

रसिया

वरियता ३३

विश्वकपमा उच्च प्रदर्शन: चौथो (१९६६ मा सोभियत युनियनका रुपमा र क्वाटर फाइनल २०१८)

राजनीतिक रुपमा रसिया अहिले घेरिएको छ। युक्रेनमाथि आक्रमण गरेपछि फिफाले रसियालाई फुटबलबाट निस्कासन गर्ने निर्णय गर्‍यो। यसअघिको विश्वकपमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको रसिया युरोपबाट विश्वकपमा छनोट हुनेमा मुख्य दाबेदारमध्ये रहेको थियो। यसको विरुद्धमा रसियाले कोर्ट अफ आर्बिट्रेसनमा मुद्दा दायर गरेपनि पछि फिर्ता लिएको थियो।

रसियाको फुटबलको इतिहास दुई भागमा राखेर हेर्न सकिन्छ। सन् १९९० अघि सोभियत युनियनको रुपमा सहभागिता जनाएको रसियाले त्यसयता सन् २०१४ सम्म तीन विश्पकपमा सहभागिता जनायो। सन् २०१८ मा पेनाल्टी सुटआउटबाट क्वाटरफाइनलबाट बाहिरिएको थियो।

इजिप्ट 

वरीयता ३९

विश्वकपमा उच्च प्रदर्शन: समूह चरण (१९९४, १९९०, २०१८)

क्लब फुटबलको चर्चा गर्दा लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह चर्चित खेलाडी हुन्। तर, यो विश्वकपमा भने उनी देखिने छैनन्।इजिप्ट सेनेगलसँग पराजित भएर विश्वकपमा छनोट हुन असफल भएसँगै सलाहको खेल समर्थकले विश्वकपमा देख्न पाउने छैनन्। पछिल्ला विश्वकपमा सहभागित जनाएर पनि इजिप्टले समूह चरण भने पार गर्न सकेको भने छैन। पछिल्लो संस्करणमा सहभागिता जनाउँदा सलाहले इन्ज्युरीका कारण शतप्रतिशत प्रदर्शन दिन सकेका थिएनन्।

अल्जेरिया

वरीयता ३७

विश्वकपमा उच्च प्रदर्शन:  अन्तिम १६ (२०१४)

अल्जेरिया विश्वकप छनोटको अन्तिम क्षणमा पुगेर पनि नाटकीय रुपले विमुख भएको थियो। छनोटको प्लेअफका क्रममा क्यामरुनले अतिरिक्त समयमा गोल गर्दै २-१ गोलको जित निकालेको थियो। अर्को लेगमा अल्जेरियाले १-० को जित निकाले पनि क्यामरुनले अवे गोलका आधारमा विश्वकपमा स्थान बनाउँदा अल्जेरिया विश्वकपको होडबाट बाहिरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell