PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

सकियो तिहार : यो वर्ष कस्तो रह्यो मिठाई कारोबार ?



पहिलोपोस्ट

सकियो तिहार : यो वर्ष कस्तो रह्यो मिठाई कारोबार ?

काठमाडौंः यस वर्षको तिहारमा मिठाई पसलहरुमा खासै व्यापार हुन सकेन।

पूजाआजाका साथै उपहार दिनका लागि मिठाई प्रयोग हुने गर्छ। तिहारमा ४ दिनसम्म मिठाईको कारोबार अन्य समयभन्दा धेरै हुने गर्छ। त्यसैलाई मध्यनजर गर्दै यसपटक पनि व्यवसायीहरुले तयारी गरेका थिए।

यो अवसरमा शुभकामना आदानप्रदानका लागि मिठाई पसलहरुमा कर्पोरेट क्षेत्रबाट अर्डर धेरै आउने गर्छ। लक्ष्मीपूजाको दिनदेखि पसलहरुमा ग्राहकको भीड बढ्ने भए पनि तिहारको एक साता अघिबाट कर्पोरेट अफिसहरुबाट अर्डर आउने गर्थ्यो। रंगीचंगी प्याकेजिङमा मिठाइका विभिन्न परिकार र ड्राइ फ्रुट्स किनबेच हुने समय हो तिहार। तर, काठमाडौं उपत्यकाका निकै चलेका मिठाइ पसल सञ्चालकहरु भने यसपटक कारोबार उत्साहजनक नभएको बताउँछन्।

उनीहरुका अनुसार पिठो, चिनी लगायत आवश्यक खाद्यवस्तुको मूल्य बढेकाले यो वर्ष मिठाईका परिकारका मूल्यमा पनि त्यसको असर परेको छ। तर, तुलनात्मकरुपमा भाउ अस्वाभाविक नभएको भनाइ व्यवसायीहरुको छ।

हरेक वर्ष झै मिठाई पसलहरुले यो तिहारका लागि पनि विभिन्न किसिमका मिठाई र ड्राईफ्रुट्स प्याकेटमा कर्पोरेट अफिसहरुलाई डेलिभरी गरेका थिए। तर, यसपाली तिहारमा अपेक्षा अनुसारको अर्डर नआएको व्यवसायीहरुले बताएका छन्। यसपटक मिठाईभन्दा ड्राइफुट्सको अर्डर बढेको छ।

कोभिड १९ महामारीसँगै घट्दै आएको मिठाईको कारोबारमा यसपटक पनि सुधार नआएको कमलादीको सजन गोठका संचालक सौरभ अग्रवालले बताए। 'तिहारका लागि कर्पोरेट क्षेत्रहरुबाट आउने अर्डर पहिलेभन्दा घट्न थालेको छ। नयाँ कस्टमर बढ्दैछन् तर पुरानाले मिठाई तथा ड्राईफुट्सको अर्डर घटाउँदै गए,' उनले भने।

यो वर्ष ७० प्रतिशत अर्डर कम भएको उनले बताए। 'यतिबेला बजारमा आर्थिक मन्दी छ। सेयर कारोबार घटेको छ। बैंकमा पैसा नहुँदा घरजग्गाको कारोबारमा पनि कमी आएको छ। पैसा यही वरिपरि कारोबारमा घुम्ने हो, पैसाको अभावले गर्दा कर्पोरेट क्षेत्रबाट अर्डर कम आएको हाम्रो अनुमान छ,' अग्रवालले भने।

यसपालि मिठाईको मूल्य गतवर्षको तुलनामा १० प्रतिशतले बढेको छ। पहिले १५ सयमा बिक्री भएको मिक्स मिठाई बढेर १६ सय ५० रुपैयाँ पुगेको छ। ड्राइफ्रुट्समा पनि मूल्य बढोत्तरी छ। दूध तथा ड्राईफ्रुट्सको मूल्य बढ्दा यसको असर मिठाईमा परेको छ। 'मिठाईको भाउ छिटो छिटो बढ्दैन, दुई वर्षमा बढ्छ,' उनले भने, 'यो वर्ष लागत निकै महँगो परेपछि मूल्य पनि बढेको हो।'

तिहारका लागि अर्डर कम भएपछि २० देखि ३० प्रतिशत कम मिठाई बनाएको उनले बताए। कोरोनाकालपछि बढेको स्वास्थ्य सतर्कतासँगै उपभोक्ताहरुले गुलिया तथा बढी तेलयुक्त परिकार खान कम गरेका छन्। त्यसको असर नुनिला खानेकुराका परिकारमा बढी परेको छ। 'बजारमा माग कस्तो हुन्छ थाहा हुदैन। पुगेन भने अरु बनाउन सकिन्छ तर धेरै बनाएर बिक्री भएन भने नोक्सानी बढ्छ,' अग्रवालले भने, 'यसले हामीले अर्डरमा जानेबाहेकका आइटम बनाउन घटाएका छौं।'

त्यस्तै, कमलादीको गंणगौर फुड एण्ड सर्भिसका संचालक निक जोगाईले तिहारको लागि अर्डर कम आएको बताए। 'तिहारमा धेरै मिठाई र ड्राईफ्रुट्स किन्ने कर्पोरेट सेक्टरले हो। कोभिडपछि कर्पोरेट कम्पनीहरुले अर्डर कम गर्दै लगेका छन्,' उनले भने, 'गत वर्ष भन्दा अर्डर घट्दै गयो।' नयाँ कम्पनी थपिए पनि पुरानोबाट अर्डर घट्दा कारोबारमा उलेख्य सुधार नभएको उनले बताए।

यसपाली तिहारमा करिब ८० प्रतिशत अर्डर कम भएको उनको भनाइ छ। 'अब लक्ष्मीपूजाबाट पसलमा कारोबार हुन्छ। बिक्री बढ्न पनि सक्छ घट्छ पनि सक्छ,' उनले भने। सुरुवात अपेक्षाभन्दा कम व्यापार भइरहेकाले यो तिहारमा मिठाईको कारोबार कति हुन्छ भनेर अनुमान गर्न गाह्रो भएको उनले बताए।

मिठाइ र ड्राइफ्रुट्स व्यापार गर्ने पावन स्विट्समा पनि यो तिहारमा अपेक्षाभन्दा कम अर्डर छ। 'तिहारका लागि भनेर पहिले पहिले जति बनाइन्थ्यो यसपालि मिठाई ५० प्रतिशत मात्र छ,' संचालक विनोद देवकोटाले भने, 'तिहारमा कर्पोरेट क्षेत्रबाट आउने अर्डर योपटक घटेको छ। मिठाईभन्दा ड्राईफ्रुट्सको माग केही बढेको देखिएको छ।'

बजार र उपभोक्ताको रुचिलाई ध्यानमा राखेर पावनले यसटपक मिठाईभन्दा पनि भाईमसलामा बढी जोड दिएको उनले बताए। मिठाईका परिकारमा यसपटक खासै मूल्यवृद्धि नभएको उनको भनाइ छ। 'काजुको मिठाईको मात्र मूल्य थोरै बढेको छ। अरुको बढेको छैन,' उनले भने।

बजारको अवस्था अनुसार मिठाइका परिकार जे-जे बढी बिक्री हुन्छ, ती मात्रै बनाइएको उनले बताए। 'हामीले मिठाई र ड्राईफ्रुट्सको प्याकिङ कम गरेका छौं। ग्राहक आएर अर्डर गरेपछि तुरुन्तै प्याकिङ गर्न सकिने व्यवस्था छ,' उनले भने, 'तिहारका लागि भनेर मिठाई र ड्राईफ्रुट्सको भाउ बढाएका छैनौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell