PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

गठबन्धनले तालमेल गर्न नसकेका ३ निर्वाचन क्षेत्र जहाँ हुँदैछ रोचक प्रतिस्पर्धा, एमालेलाई होला फाइदा?



प्रकाश भण्डारी

गठबन्धनले तालमेल गर्न नसकेका ३ निर्वाचन क्षेत्र जहाँ हुँदैछ रोचक प्रतिस्पर्धा, एमालेलाई होला फाइदा?

काठमाडौँ: सत्ता गठबन्धनले १६२ निर्वाचन क्षेत्रमा मात्रै चुनावी तालमेल गरेको छ। प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १६५ निर्वाचन क्षेत्रमध्ये ३ क्षेत्रमा गठबन्धनका पाँच दलबीच सहमति हुन सकेन। अधिकांश ठाउँमा गठबन्धनमा रहेका पाँच दल- नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)बीच तालमेल भएको छ। तर केही ठाउँमा भने एमाले त्यागेका र स्वतन्त्र उम्मेदवारलाई गठबन्धनले अघि सारेको छ।

मधेस प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये धनुषा-२ र सर्लाही-२ मा तालमेल हुन नसक्दा २६ निर्वाचन क्षेत्रमा मात्रै गठबन्धन भएको छ। वाग्मती प्रदेशको ३३ निर्वाचन क्षेत्रमध्ये काठमाडौँ-१० मा गठबन्धनभित्रै कचिलो भएपछि ३२ वटा निर्वाचन क्षेत्रमा तालमेल भएको हो। सुदूरपश्चिका १६, कर्णालीका १२, लुम्बिनीका २६, गण्डकीका १८ र प्रदेश १ का २८ निर्वाचन क्षेत्रमा भने पाँच दलबीच चुनावी तालमेल भएको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) बीच चुनावी तालमेल भएको भए पनि तीन निर्वाचन क्षेत्रमा भने मित्रवत् प्रतिस्पर्धा हुने गठबन्धनको निचोड छ।

गठबन्धन दल बाहिरबाट उम्मेदवार

चुनावी तालमेल भएको १६२ निर्वाचन क्षेत्रमध्ये पनि नेकपा एमाले छोडेर स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका प्रभु साहलाई रौतहट-३ मा र घनश्याम भुसाललाई रुपन्देही-१ मा गठबन्धनले उम्मेदवार बनाएको छ। साह एमालेबाट असन्तुष्ट भएपछि पार्टीको टिकट त्यागेर स्वतन्त्र बनेका हुन् भने भुसाल अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएको भन्दै पार्टी परित्यागको निर्णयमा पुगेका थिए। भुसाल र साह दुबैलाई माओवादी केन्द्रले गठबन्धनमा इन्ट्री गराएको हो। दुबै जना माओवादीको कोटाबाट गठबन्धनको समर्थनमा उम्मेदवार छन्।

रुपन्देही २ मा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनमा रहेका दलले दलले जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेका छन्। जहाँ एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन्। गठबन्धनले थापालाई समर्थन गरेको भए पनि पौडेललाई उक्त क्षेत्रमा परिणाम आफ्नो पक्षमा पार्न सजिलो हुने बताइन्छ। २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा पौडेल उक्त क्षेत्रमा फराकिलो मतान्तरले विजयी भएका थिए। पौडेलले ४४ हजार ९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार युवराज गिरीले २१ हजार ९४६ मत मात्रै ल्याएका थिए।

एमालेलाई होला फाइदा?

काठमाडौँ-१० मा माओवादी केन्द्रले कांग्रेसलाई समर्थन गर्न मानेन। कांग्रेसका राजन केसीविरुद्ध माओवादी केन्द्रकी अञ्जना विशंखे उम्मेदवार छिन्। गठबन्धनले उक्त निर्वाचन क्षेत्रमा तालमेल गर्न नसकेपछि मित्रवत् प्रतिस्पर्धा हुने बताएको छ।

केसी २०७० र २०७४ को निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित भएका थिए। जहाँ एमालेबाट हिमेश केसी उम्मेदवार छन्। गठबन्धनले माओवादी केन्द्रकी उम्मेदवार विशंखेको उम्मेदवारी फिर्ता गराउने प्रयास गरे पनि माओवादी उक्त क्षेत्रबाट पछि नहटेपछि गठबन्धनभित्रै प्रतिस्पर्धा हुने भएको हो। कांग्रेसबाट केसीले यसअघिका प्रतिनिधि सभाको निर्वाचन जितेको र वैशाखमा भएको स्थानीय तह निर्वाचनमा राम्रो जनमत ल्याएकाले उक्त क्षेत्रमा विशंखेलाई त्यति सहज देखिन्न।

रोचक प्रतिस्पर्धा

गठबन्धनबीच तालमेल नभएको अर्को निर्वाचन क्षेत्र हो धनुषा-२। मंसिर ४ को निर्वाचनमा मुख्य गरी कांग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको गठबन्धनबीच प्रतिस्पर्धा छ। तर धनुषा-२ को हकमा भने दुवै गठबन्धन लागू भएनन्। नेताहरूको अदलबदलका कारण पनि उक्त क्षेत्रको चुनावी प्रतिस्पर्धा रोचक हुने छ। उक्त क्षेत्रमा सत्ता गठबन्धनभित्र कांग्रेसका रामकृष्ण यादव र एकीकृत समाजवादीका रामचन्द्र झाबीच प्रतिस्पर्धा छ भने एमालेका उमाशंकर अरगरिया र जनता समाजवादी पार्टी, नेपाल जसपाका आनन्द यादव पनि प्रतिस्पर्धामा छन्। उक्त क्षेत्रमा देखिएको अर्को रोचक त के भने २०७४ को निर्वाचनमा विजयी हुने र पराजित हुने दुवै उम्मेदवार यसपाला पनि उम्मेदवार छन्। तर पार्टी बदलेर।

तत्कालीन संघीय समाजवादी फोरम नेपालका उमाशंकर अरगरीया २०७४ को निर्वाचनमा ३२ हजार ४४ मत ल्याएर निर्वाचित हुँदा माओवादी केन्द्रबाट उम्मेदवार रहेका थिए रामचन्द्र झा। १८ हजार ७१५ मत पाएर झा पराजित भएका थिए त्यति बेला। झा हाल एकीकृत समाजवादीबाट उम्मेदवार छन् भने अरगरिया एमालेबाट।

राजेन्द्र-महिन्द्र टक्करमा गठबन्धन कता?

मधेस प्रदेशकै अर्को निर्वाचन क्षेत्र सर्लाही-२ मा पनि सत्ता गठबन्धनबीच तालमेल हुन सकेन। माओवादी केन्द्रका महिन्द्र राय यादव र लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोबीच उक्त क्षेत्रमा प्रतिस्पर्धा हुँदैछ। अरू ठाउँमा लोसपाले गठबन्धन दलसँग तालमेल गरेको भए पनि उक्त क्षेत्रमा भने मित्रवत् प्रतिस्पर्धा हुने जनाएको छ।

उक्त क्षेत्रमा यादव २०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका थिए। हाल उनले लोसपाका उम्मेदवार राजेन्द्र महतोको सामना गर्नुपर्ने छ। गठबन्धनमा रहेका लोसपा बाहेक दलहरूले भित्री रूपमा यादवलाई समर्थन गरिरहेका छन्। गठबन्धनले अघोषित समर्थन रहेकाले पनि यादवलाई सहज हुने बताइन्छ। अर्कोतिर लोसपाका वरिष्ठ नेता रहेका महतो पनि मधेस राजनीतिमा स्थापित नेता मानिन्छन्।

जहाँ माओवादी पछि हट्यो

यसअघि काठमाडौँ-३ पनि गठबन्धनको किचलो मिलेको थिएन। माओवादी केन्द्रका बद्री बजगाईँले उम्मेदवारी दिएका थिए। गठबन्धनले भने नेपाली कांग्रेसका सन्तोष चालिसेलाई समर्थन गरेको थियो। शुक्रबार गठबन्धनले जारी गरेको तालमेलको सूचीमा कांग्रेसका उम्मेदवार चालिसेको मात्रै नाम छ।

कांग्रेसले माओवादीले उम्मेदवारी फिर्ता नलिए क्षेत्र नम्बर २ की उम्मेदवार ओनसरी घर्तीलाई हराउने चेतावनी दिएको थियो। रुपन्देही-१ बाट चुनावको तयारी गरेकी पूर्व सभामुख घर्तीलाई माओवादीले अन्तिममा काठमाडौँ-२ मा उम्मेदवार बनाएको हो। उनले एमालेका मणिराम फुयालको चुनौती सामना गर्नुपर्ने छ। काठमाडौँ -३ मा माओवादी पछि हटेपछि ओनसरीलाई कांग्रेसले साथ दिने वाचा गरिसकेको छ।

‘छलफलबाट निष्कर्षमा पुग्न प्रतिबद्ध’

साउनदेखि नै गठबन्धनबारे छलफल गरेको सत्ता गठबन्धनले मनोनयनको अन्तिम समयमा मात्रै तालमेलको भागबन्डा गरेको थियो। जसपा सत्ता गठबन्धनबाट असन्तुष्ट भएर एमाले कित्तामा गएको छ भने विभिन्न ठाउँमा सत्ता गठबन्धनलाई गठबन्धन दलकै बागी उम्मेदवारले चुनौती दिइरहेका छन्।

गठबन्धन हुन नसकेको चुनावी क्षेत्रबारे शीर्ष नेताका बिच लगातार छलफल हुँदै आएको छ। यसअघि गठबन्धनले साझा धारणा सार्वजनिक गरेको थियो। शुक्रबार गठबन्धनले तालमेल नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा हुने बताएको छ। ‘केही स्थानहरूमा मित्रवत् प्रतिस्पर्धा गर्नेगरि तय गरिएको छ। ती स्थानहरूमा एक आपसमा सौहार्दपूर्ण व्यवहार गर्ने सहमति भएको छ,’ शुक्रबार गठबन्धनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell