PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

वर्षा सकिएपछि नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट



रासस

वर्षा सकिएपछि नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट
फोटो : कृष्ण आचार्य/रासस

भरतपुर : वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ। बर्खायाममा पानीको बहाब बढपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन्।

असार, साउन र भदौ महिनामा उक्त नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ। पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरञ्जन लिने आन्तरिक पर्यटकहरुको भीड नै लाग्न थालेको छ।

यसबर्ष ढिला सुरु भएको र मनसुनका कारण नदीमा दशैँसम्म बाढी आएकाले मोटरबोट सञ्चालनमा ढिलाइ भएको नारायणी मोटरबोट व्यवसायी संघका अध्यक्ष अशेष मल्लले बताए। अब जेठसम्म नियमित मोटरबोट सञ्चालन हुने र बिदाको दिन मोटरबोट चढ्न आउनेको संख्या उल्लेख्य हुने गरेको अध्यक्ष मल्लले जानकारी दिए।

विसं २०७६ मा एउटा बाट सुरु भएको मोटरबोट अहिले साना ठूला गरी २० वटा सञ्चालनमा रहेका छन्। मोटरबोट कम्पनीले अहिले दुई ठाउँबाट सेवा दिइरहेका छन्।

नारायणीको पुलदेखि मजुवा टापु पोखरा बसपार्कसम्म छोटो दूरी र मजुवा टापु पोखरा बसपार्कदेखि गैडाकोटको राधाकृष्ण मन्दिरसम्म लामो दूरी तोकिएको छ। एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन्। यस्तै, साना मोटरबोटमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ।

छोटो दूरीमा प्रतिव्यक्ति २५० र लामो दूरीमा प्रतिव्यक्ति ५०० रुपैयाँ तोकिएको छ। त्यहाँबाट उठेको रकमको २० प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ।

नारायणीमा ४० एचपीको इन्जिनदेखि दुई सय एचपीको इन्जिनसम्मका बोट रहेको अध्यक्ष मल्लले जानकारी दिए। उनले दैनिक चार सयदेखि पाँचसय जनाले नारायणीमा मोटरबोट चढ्ने गरेको बताए। बिदाको दिनमा भने एक हजार जनासम्मले मोटरबोट चढ्ने गरेको पाइन्छ।

नदी किनारमा घुम्न आउने अधिकांस आन्तरिक पर्यटकहरु यहाँ जलबिहार गर्न रुचाउँछन्। यो यात्रामा यात्रुले नगरवन, गैंडाकोट, रिभरक्विन टापु, मौलाकालिका मन्दिर, हिमशृङ्खलालगायतको दृश्यावलोकन गर्न पाउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell