काठमाडौं : पश्चिमी वायुका कारण देशका पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नम्बर १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राति प्रदेश नम्बर १ र गण्डकी प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। आइतवार देशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमा सामान्यतया मौसम सफा रहने छ भने प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री र अधिकमत तापक्रम २४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव दुई डिग्री र जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव चार डिग्री सेल्सियस रहेको छ।