PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

कालिकोटमा विस्फोट : कोदोबारीमा अनौठो वस्तु देखेपछि ढुंगाले हान्दा पड्कियो, 'सकेट बम' को आशंका!



पहिलोपोस्ट

कालिकोटमा विस्फोट : कोदोबारीमा अनौठो वस्तु देखेपछि ढुंगाले हान्दा पड्कियो, 'सकेट बम' को आशंका!
फाइल फोटो

काठमाडौं : शनिवार बिहान कालिकोटको तिलागुफा नगरपालिका १० रानावडामा विस्फोटक वस्तु पड्किँदा दुई बालिकाको मृत्यु भएको छ। एक जनाको घटनास्थलमै र अर्को बालिकाको उपचारको क्रममा मृत्यु भएको हो।

तिलागुफा १० की ४ वर्षकी झरना थापाको र ४ वर्षीय सरस्वती रानाको पनि उपचारको क्रममा मृत्यु भएको हो। घटनामा सोही ठाउँकै ७ वर्षका कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा गम्भीर घाइते भएका छन्। घाइतेहरुको प्रादेशिक अस्पताल, सुर्खेत उपचार भइरहेको छ।

मृतक र घाइतेमा बालबालिका दुई परिवारका सदस्यहरु भएको तिलागुफा नगरपालिका उपप्रमुख मेहन्द्रबहादुर शाहीले बताए।

'गोरेटो बाटोमा केही खेलाउनेजस्तो वस्तु फेला पारेर खेलाउँदा विस्फोट भएको भन्ने बुझिएको छ,' उपप्रमुख शाहीले भने। विस्फोट भएको पदार्थमा फलाम भेटिएकाले बम भएको हुनसक्ने देखिएको छ।

गृहमन्त्री बालकृष्ण खाणले कालिकोटको तिलागुफा नगरपालिका १० रानावडामा विष्फोटक वस्तु पड्किँदा गम्भीर घाइते भएकाहरू बालबालिकाको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन्। नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ। जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माका अनुसार विस्फोट भएको वस्तु सकेट बम हुनसक्ने बताए।

'फलामको टुक्रासमेत भएकाले प्रारम्भिक अनुसन्धानमा सकेट बम हुन सक्ने देखिएको छ,' प्रजिअ शर्माले भने।

स्थानीयले दिएको जानकारीअनुसार बालबालिकाले कोदोबारीमा अनौठो वस्तु देखेपछि ढुंगाले हान्दा विस्फोट भएको खुलेको छ। गृहमन्त्री खाणको निर्देशनपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर कालिकोट पुगेर घाइतेको उद्धार गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell