
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्स्परले बर्नेमाउथमाथि सानदार जित निकालेको छ। भाइटालिटी स्टेडियममा सम्पन्न खेलमा दुई गोलले पछिपरेको अवस्थाबाट कमब्याक गर्दै टोटेनहमले ३-२ गोलको जित निकालेको हो।
खेलको २२ औं मिनेटमा किइफर मोरेको गोलमा बर्नेमाउथले अग्रता बनाएको थियो। त्यस्तै ४९ औं मिनेटमा उनले नै दोस्रो गोल थप्दा दोस्रो हाफको सुरुसम्म घरेलु टोलीले २-० को गोलको अग्रता बनाउन सफल भएको थियो। त्यसपछि भने टोटेनहम खेलमा फर्कन सफल भयो। खेलको ५७ औं मिनेटमा रयान सेस्सेग्ननको गोलमा खाता खोलेको टोटेनहमका लागि ७३ औं मिनेटमा बेन डेभिसले गोल थप्दै खेल बराबरीमा ल्याए। त्यस्तै इन्ज्युरी समयमा रोड्रिगो बेन्टएन्कुरले गोल थप्दा टोटेनहमले ३-२ को नाटकीय जित निकाल्न सफल भयो।
त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा चेल्सी ब्राइटोनसँग ४-१ गोलको फराकिलो अन्तरले पराजित भयो। चेल्सीलाई हराउन ब्राइटोनका लियोनार्दो ट्रसअर्ड र पास्कल ग्रोब गर्दा दुई गोल आत्मघाति गोल भएका थिए। चेल्सीका रुबेन लोफ्टुस चीक र ट्रेभो छलोभले आत्मघाती गोल गर्दा ब्राइटोनले फराकिलो जित निकाल्यो। चेल्सीका लागि काइ हार्भटेजले सान्त्वना गोल फर्काएका थिए।
त्यस्तै अर्को खेलमा लिभरपुल लिड्स युनाइटेडसँग २-१ गोलअन्तरले पराजित भयो। खेलको चौथो मिनेटमै एनफिल्डमा लिड्सका रोड्रिगो मोरेनोले गोल गर्दै अग्रता दिलाएका थिए। तर, १४ औं मिनेटमा घरेलु टोलीका मोहम्मद सलाहले गोल गर्दै खेल बराबरीमा ल्याए। लिड्सलाई जित दिलाउन निर्णायक गोल भने क्रिसेन्सियो समरभिल्लेले खेलको ८९ औं मिनेटमा गरे।
योसँगै १३ खेलबाट २६ अंक जोडेको टोटेनहम शीर्ष तीनमा छ भने २१ अंक जोडेको चेल्सी पाँचौं स्थानमा छ। त्यस्तै १९ अंक जोडेको ब्राइटोन ८ औं स्थानमा रहँदा १६ अंक जोडेको लिभरपुल ९ औं स्थानमा छ। त्यस्तै १२ अंक जोडेर लिड्स १५ औं स्थानमा उक्लिएको छ।