PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

गर्माउँदै गोरखा, राजनीतिमा निरश राजमार्ग : यस्तो देखियो चुनावी चहलपहल



प्रकाश भण्डारी

गर्माउँदै गोरखा, राजनीतिमा निरश राजमार्ग : यस्तो देखियो चुनावी चहलपहल

गोरखा : मौसमले चिसो ह्वात्तै बढाउँदै गएको भए पनि राजनीतिको गर्मी उखरमाउले बन्ने सुरसारमा छ। मंसिर ४ गते पाँचवर्षे संसदीय राजनीतिको मुख्य पर्वको दिन। त्यसैले देश चुनावमय भइसक्यो भन्ने अनुमान। सामाजिक सञ्जाल त राजनीतिले लपक्कै रङ्गिसक्यो। पुराना नेतालाई बिदा गर्ने अभियान ‘नो नट अगेन’ पनि उट्पट्याङ पारामा चलिरहेकै छ। कतिसम्म भने उम्मेदवारै नभएकालाई पनि हराउनुपर्ने माग लिएर चलाइरहेका छन् नो नट अगेन।

उट्पट्याङ् पाराको अभियान नेता र मन्त्रीका लागि प्रितकर भएन। गरे उजुरी। बाठो भएर निर्वाचन आयोगले नो नट अगेनमाथि धावा बोल्यो – विद्युतीय कारोवार ऐनको धम्की सहित। निर्वाचन आयोगमा संचार विज्ञको भर्ती गज्जबकै छ तर तिनको आलाकाचा बढ्याइले ‘नो नट अगेन’लाई ट्रेन्डिङमै ल्याइदियो। थाहै नभएका मान्छेले पनि यसबारे थाहा पाए।

सोसल मिडियामा जति चुनावले छोएको छ बाँकीमा देखिएन। मतदानको दिन आउन तीन हप्ताको समय बाँकी रहँदा चुनाव र राजनीतिको माहोल पहिले जसरी तातेको हुन्थ्यो यसपालाको अनुभूति केही कम महसुस भयो।

काठमाडौंका सार्वजनिक सवारीमा चुनावी चर्चा जसरी चल्थ्यो राजमार्गका यात्रामा भने देखिएन। काठमाडौंबाट गोरखासम्मको यात्राका क्रममा चुनावको ‘चु’सम्म नहुनु अचम्म होइन त? चुनावको एउटा महत्त्वपूर्ण इपिसेन्टर हो गोरखा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो गन्तब्य। उनको जितहारले मुलुकको राजनीतिमा ठूलो अर्थ राख्छ। त्यसैले मेरो अपेक्षा थियो – मानिसहरु यसबारे गफ गर्छन्। तर सुनिएन।

जन्तै जाम्ला भतेरै खाम्ला..

ठीक छन् आमा ससुरा, ठीक छन् जेठान सालो

त्यही केटी मन पर्‍यो गर्देउ आमा टीकोटालो

पशुपति शर्माको भाका सुनियो। यात्रुको चुनावी गतिविधिमा मौनताको अर्थ के? प्रचण्डको हार जित वा बाबुराम भट्टराईको उम्मेदवारी ‘त्याग’ चर्चाविहीन विषय कसरी हुनसक्छ? काठमाडौं भित्रका छोटा दुरीका सवारीमा समेत राजनीतिको चर्चाले अहिले व्यापकता पाइरहेको हुन्छ। पुराना नेतालाई भोटै नदिनेदेखि आफ्ना पार्टीकालाई जसरी पनि जिताउनुपर्छ भन्ने गफ सुनिन्छन् काठमाडौंका गाडीमा। तर, काठमाडौंबाट गोरखाको यात्रामा भने ठीक उल्टो। न उम्मेदवारको चर्चा न त राजनीतिकै।

यात्रु सबै गोरखाकै। त्यहीँका मतदाता पनि। कतिपय त एक अर्कामा परिचित। उनीहरु गाउँघरका कुराकानीमा गफिए या सडक दुर्घटनाबारे। चुनावको मुखैमा रोचक त के भने काठमाडौंबाट गोरखा बजारको १३० किलोमिटरको यात्रामा राजनीतिको ‘र’ पनि उच्चारण नहुनु। खेतबारीदेखि चिया चौतारीसम्म राजनीतिले माहोल जमाउँदा बसमा राजनीतिक मौनता अनौठो थियो। राजनीति प्रति वितृष्णा कि उम्मेदवारप्रति? मौनताको आवाज आफैँमा चर्को अनुभूति भयो।

मानिसहरु आफ्नै धुनमा छन्। लाग्छ उनीहरुलाई यात्रा गर्नुछ। यात्रा गरिरहेका छन्। उवडखावड र बिग्रिएको बाटोमा सडक विभागले भद्दा किसिमले ‘लालीपाउडर’ थपेजस्तो कालोपत्रे नगरेको होइन। तर, राजमार्ग राजमार्ग जस्तो छैन। अनि यही राजमार्गमा चुनाव चुनावजस्तो लागेको देखिएन। यात्रामा मात्र होइन, चिया-नास्ताका लागि रोकिएका बिसौनीमा पनि राजनीतिले रङ जमाएको भेटिएन। निर्वाचन आयोगले मत कसरी दिने भन्ने बुझाउन थालेको छैन। चुनावी शिक्षाका प्रचार सामग्री बाटोभरी देखिन्थ्यो पहिले – लोभ लालचमा नपरी स्वतन्त्र रुपमा मतदान गरौं भन्दै लेखिएका। दैनिक हजारौंले यात्रा गर्ने पृथ्वी राजमार्गमा चुनावका संकेतले विशेष अर्थ राख्थ्यो।

व्यापार व्यवसाय गरेर बसेकाहरुलाई आम्दानी र महँगीको जति चासो छ त्यति चुनावको छैन। कामकाजीलाई आफ्नो धन्दामै भ्याइनभ्याइ छ।

‘खै को-को नेताहरु चुनावमा उठेका छन् हामीलाई थाहै छैन। भोट हाल्न जाने कि नजाने केही थाहा छैन। हामीलाई त भोट हाले नि के? नहाले नि के?,’ राजनीतिबारे अरुची सुनाइन् मलेखुमा रेष्टुरेण्ट सञ्चालन गरिरहेकी गीता सुवेदीले।

उनीजस्तै मतदाताको कमी छैन। जसले न मतदानबारे जानकारी पाएका छन् न त उम्मेदवारबारे नै। यसअघि स्थानीय तह निर्वाचनका बेलामा आयोगले निर्वाचन शिक्षा नदिएका कारण बदर मतको संख्या उल्लेख्य थियो। अर्कोतिर अपेक्षा गरेअनुसार मत खसेन। निर्वाचन आयोगलाई यसको पर्वाह छैन। चुनाव गराउने कर्मकाण्ड पूरा गरिदिने – मतदाताले जानुन् नजानुन्, मत हालुन् नहालुन् – छु मतलव?

आँबुखेरीनीबाट गोरखातर्फ लागेपछि केही फरक माहोल रहेछ। चुनावको प्रचारमा नेता कार्यकर्ता देखिए। कतै चाहिँ तिहारकै रमझम। फेस्टिभ मुड सकिएको छैन अझै। बिदा लामो भएर हुनुपर्छ।

यसपटक गोरखा - २ बाट बाबुराम भट्टराईले ‘वाकओभर’ दिए। भर्खरै चितवनमा बनाएको नयाँ घर छोडेर प्रचण्ड गोरखा हानिएका छन्। चितवनबाट ‘डराएर’ गोरखा पुगेको आरोप लगाउनेहरुको कमी छैन। सोसल मिडियामा ‘नो नट अगेन’ले उनलाई राम्रैसँगै खेदिरहेकै छ। तर, सोसल मिडियाको त्यो प्रभाव जनस्तरमा कति पर्छ अहिले नै भन्न सकिन्न। चुनावी माहोलका हिसाबले माइक्रोबसको यात्रा निरश रह्यो।

साँझ गोरखा बजारमा घुम्दा भने चुनावी सरगर्मीको महसुस भयो।

‘यसपटक मत प्रचण्डलाई दिन्छु,’ गोरखा निर्वाचन क्षेत्र-२ का मतदाता शिव गुरुङले सुनाए। उनको दावीलाई मान्ने हो भने उनी एमाले समर्थक रहेछन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैभन्दा ठूलो ‘सत्रु’का रुपमा व्याख्या गर्ने प्रचण्डप्रति किन राग पलायो त?

चुनावी परिणाम जे भए पनि गुरुङको जवाफ भने मेरा लागि रोचक थियो। ‘प्रचण्डले यसअघि चितवनमा जितेपछि टन्नै बजेट हालेका थिए। गोरखामा पनि त्यसै गर्लान् कि!’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell