PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

साँघुरो गल्लीमा हेलोविन मनाउनेहरुको भीड कोच्चिँदा सियोलमा कम्तीमा १५१ जनाको मृत्यु



पहिलोपोस्ट

साँघुरो गल्लीमा हेलोविन मनाउनेहरुको भीड कोच्चिँदा सियोलमा कम्तीमा १५१ जनाको मृत्यु
Photo: Lee Ji-eun/AP

दक्षिण कोरियाको राजधानी सियोलको एउटा साँघुरो सडकमा हेलोविन मनाउन जम्मा भएको ठूलो भीडबिच ठेलमठेल हुँदा कम्तीमा १५१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्

‘इटाइवोन नाइट-लाइफ’ क्षेत्रमा भएको घटनामा कम्तीमा ८२ जना घाइते भएका छन्। सो क्षेत्रमा कोभिड-१९ को महामारीपछि पहिलो पटक मास्क नलगाई मानिसहरु हेलोविन उत्सव मनाइरहेका थिए।

भीड ठूलो हुँदा मानिसहरु एक अर्काको माथि परेर च्यापिएको हताश दृश्यहरु सार्वजनिक भिडियो र फोटोहरुमा देख्न सकिन्छ। मृत्यु हुनेमा अधिकांश किशोरकिशोरी तथा ३० वर्षमुनिका थिए। जसमध्ये १९ जना विदेशी थिए। यो भयावह विपद्को कारण पत्ता लाग्न बाँकी छ।

आकस्मिक बैठकपछि दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले घाइतेको उपचारका लागि कार्यदल गठन गर्न निर्देशन दिएका छन्। उनले घटनाको कारणबारे पनि अनुसन्धान गर्न भनेका छन्।

यो दक्षिण कोरियामा २०१४ पछिको सबैभन्दा भयानक घटना हो। २०१४ मा सेवोल डुङ्गा डुब्दा ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

इटाइवोन ‘नाइट-लाइफ’को लागि सियोलमा सबै भन्दा लोकप्रिय ठाउँहरुमध्येको एक हो। स्थानीय र विदेशीहरू हरेक सप्ताहन्तमा त्यहाँ भेला हुन्छन्। हेलोलिन वर्षकै सबैभन्दा व्यस्त रातहरूमध्येको एक हो।

करिब १ लाख मानिसहरू शनिवार त्यहाँ कोभिड महामारीपछिको पहिलो हेलोविन मनाउन आएका थिए। भेला हुने मानिसहरुको संख्या सीमित गरिएको थिएन भने मानिसहरूलाई बाहिर मास्क लगाउन अनिवार्य गरिएको थिएन।

ठेलमठेल एक साँघुरो तथा ढलान गरिएको गल्लीबाट सुरु भएको देखिन्छ, जुन मानिसहरूको भीडले भरिएको थियो। सामाजिक सञ्जालमा आएका फोटो र भिडियोहरूमा गल्ली अत्यधिक मानिसहरुको भीडले खचाखच भरिएको देखिन्छ। मानिसहरू हिड्न सकिरहेका थिएनन्। एउटा भिडियोमा मानिसहरु सास फेर्न समेत संघर्ष गरिरहेको देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell