PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो



पहिलोपोस्ट

पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बुटवल : पाल्पाबाट गोरखाको मनकामना मन्दिर दर्शनका लागि जाँदै गरेका दर्शनार्थी चढेको बस दुर्घटना हुँदा मृत्यु हुने र घाइते भएकाको पहिचान खुलेको छ।

पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना मन्दिर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आइतवार बिहान कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिका-२ मथारमा दुर्घटना भएको हो। ३५ तीर्थयात्री रहेको बस दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीका ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीय देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका-९ की ४५ वर्षीय फुलमाया माझी रहेका छन्।

त्यसैगरी, दुर्घटनामा घाइते हुनेमा बस चालक पाल्पा रामपुर नगरपालिका-३ का दिलकुमार श्रेष्ठ, सहचालक रामपुर ४ बेझाडका साजन श्रेष्ठ, रम्भा गाउँपालिका-१ का अंकित सुनार, कृष्ण केवट, प्रवीण सुनार, रामबहादुर विक, रीता विक, कासीराम विक, विशाल विक, आइसा विक, अविनाश विक, पुष्पा विक, मेघनाथ विक, रिमा विक, सन्जु सुनार, प्रेमबहादुर सुनार, आषिश सुनार, विजय विक, माया विक, अस्मिता सुनार, ओमबहादुर विक, सेती विक र शिवकुमारी विक रहेका छन्।

त्यसैगरी, स्याङ्जाको बेलचौर नगरपालिका-९ की दिलमाया राना, रविन राना, पाल्पा झडेवाकी सुमित्रा विक, स्याङ्जा गल्याङ नगरपालिका ८ का मनोजकुमार विक, सरिता माझी, उमाकुमारी विक, रामु राना, रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने सबै घाइतेको चितवनको भरतपुरमा उपचार भइरहेको छ।

दुर्घटनाग्रस्त बस भीरमा अड्किएको छ। बिहान ४ बजे दुघर्टना भएकाले उद्धारमा केही ढिलाइ भएको थियो। बस सडकबाट करिब ५० मिटर तल कालिगण्डकी किनारमा पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell