
वीरगंज : छठ पूजाका लागि वीरगंजको घडीअर्वा पोखरी झकिझकाउ पारिएको छ। छठपूजा व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष हिरालाल साह कानुका अनुसार छठघाटको व्यवस्थापन र सजावटको काम पुरा भइसकेको छ।
छठघाटको सजावट र व्यवस्थापनमा गरी यसपटक करिब १६ लाख ४२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष कानुले बताए। टेण्टपण्डालमा ७ लाख २५ हजार, परिसर बाहिरको बत्ती सजावटमा १५ हजार, भिडियोग्राफीमा ४१ हजार, पुरस्कारमा ५ लाख, सरसफाइमा ५१ हजार रुपैयाँ खर्च हुने बताइएको छ।
छठघाटमा ब्रतालु, दर्शनार्थी र भक्तजनहरुको सुरक्षा सहजताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीका साथै र घडीअर्वा स्पोर्ट क्लबका स्वंयसेवक खटिनेछन्। यस्तै छठघाट परिसरमा १४ वटा सिसिटिभी क्यामेरा जडान गरिएको गुप्ताले जनाए। त्यसैगरी सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने उनले बताए।
वीरगंजको अर्को मुख्यघाट आदर्शनगर स्वीमिङ्पुलको सजावटको काम पनि पुरा भएको छ। यसवर्ष छटघाटको सजावट चिटिक्क पारिएको समितिका पूर्वअध्यक्ष मुरली जालानले बताए। घडिअर्वा पोखरीमा करिब ४ हजार व्रतालुको दउरा अट्ने बताइएको छ भने स्वीमिङ पुलमा करिब ५ सयभन्दा बढी दाउरा अट्ने व्यवस्था मिलाइएको छ। त्यसैगरी, वीरगंजको नगवा पोखरी, मुर्ली पोखरी, रानीघाट, रामगढवा, जगरनाथपुर, पटेलनगर, परवानीपुरलगायत छठघाटसमेत रौनक बेग्लै देखिएको छ। लोक आस्थाको पर्व छठको महत्व मधेशमा छुटै रहेकोले स्थानीयस्तर चन्दा उठाएर यो पर्व भव्यरुपमा गर्ने गरिएको छ। नहाए खाएके, रसियाव रोटी(खारना), सझिया घाटे, विहनीया घाटे(पारन) गरी चार दिवसीय यो पर्व शुक्रवार शुरु भइ सोमवार विहान समापन हुनेछ। आज सझिया घाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठिमातालाई पूजा आराधना गरेसँगै सोमवार विहान उदाउँदो सूर्यलाई अर्घ दिएर पर्व समापन हुन्छ।
व्रतालुहरुले यो पर्वमा करिब ३६ घण्टाभन्दा सम्म पानीसमेत पिउँदैनन्। छठ पूजा गर्दा पुत्र प्राप्ति, घरपरिवारमा सुख शान्ति, समृद्धि, चर्मरोगबाट, दुख कष्टबाट मुक्तिलगायत फल पाउने जनविश्वास रहेको छ।