PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

कास्की २ : एमालेको विरासत भत्काउने दाउमा सत्ता गठबन्धन, दोहोरिएला पोखरा महानगरको चुनावी दृश्य?



रासस

कास्की २ : एमालेको विरासत भत्काउने दाउमा सत्ता गठबन्धन, दोहोरिएला पोखरा महानगरको चुनावी दृश्य?

पोखरा : कास्की निर्वाचन क्षेत्र नं २ को नतिजा कस्तो आउँला? अहिले चर्चाको विषय बनेको छ। एमालेका रवीन्द्र अधिकारी विजयी भएको यस क्षेत्रमा रवीन्द्रको निधनपछि उपनिर्वाचन भयो। उपनिर्वाचनमा रवीन्द्रपत्नी विद्या भट्टराई विजयी भइन्।

त्यस अघिका निर्वाचनमा लगातार दुई पटकसम्म रवीन्द्रले नै जितेका कारण यस क्षेत्रलाई नेकपा एमालेले आफ्नो बिरासत रहेको क्षेत्रका रुपमा लिँदै आएको छ। आसन्न निर्वाचनमा एमाले उक्त बिरासत जोगाउने कसरतमा छ तर अघिल्लो चुनावको साझेदारी अहिले कायम छैन। अघिल्लो निर्वाचनको समीकरण बदलिएर बनेको कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धन उक्त बिरासत भत्काउने लक्ष्यका साथ चुनावी गतिविधिलाई सक्रिय बनाएको छ।

अहिलेको निर्वाचनमा सत्ता गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार छन् भने एमालेले विद्यालाई नै उम्मेदवार बनाएको छ। एमाले पृष्ठभूमिका गठबन्धनका उम्मेदवार बराल र एमालेका उम्मेदवार भट्टराईबीचको चुनावी प्रतिस्पर्धालाई निकै रोचक हुने बताइएको छ।

२०७४ को निर्वाचनमा रवीन्द्रले २७ हजार दुई सय सात मत पाउँदा कांग्रेसका उम्मेदवार देवराज चालिसेले १८ हजार छ सय ६१ मत पाएका थिए।

हेलिकप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको निधनपछि २०७६ को उप–निर्वाचनमा २४ हजार तीन सय ९४ मत ल्याएर अधिकारी पत्नी विद्या विजयी बन्दा उनका प्रतिस्पर्धी कांग्रेसका खेमराज पौडेलले १५ हजार नौ सय ९९ मत प्राप्त गरे।

अहिलेको निर्वाचनमा नेपाली कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धन छ। यतिमात्र हैन वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतले गठबन्धनलाई बलियो देखाउँछ।

यस निर्वाचन क्षेत्रमा पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ गरी ११ वटा वडा पर्दछन्। यीमध्ये ६ वडामा कांग्रेसका वडाध्यक्षले विजयी प्राप्त गरेका छन् भने पाँच वटा वडामा एमालेका उम्मेदवार विजयी भएका छन्। निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले कूल २१ हजार एक सय ६४ मत प्राप्त गर्दा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १९ हजार आठ सय मत प्राप्त गरेका थिए।

त्यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवारले दुई हजार ५३ मत प्राप्त गर्दा राप्रपाबाट वडाध्यक्षका उम्मेदवारले दुई हजार ७९ मत ल्याएका थिए। माओवादी केन्द्रका उम्मेदवारले एक हजार एक सय ९८ मत पाउँदा स्वतन्त्रसहित अन्य दलले सात सय ५० मत पाएका थिए। वडाध्यक्षका उम्मेदवारको दलगत मतले एमाले ठूलो दल देखिन्छ, भने सत्ता गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र समेतको मत जोड्दा गठबन्धन केही मतले अघि देखिन्छ। कास्की क्षेत्र  २ निर्वाचन क्षेत्र बदलीरहने क्षेत्रमा पर्दछ।

विसं २०४८ देखि २०६४ सम्म तीनवटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा २०६४ देखि २०७० सम्म चार वटा क्षेत्र कायम गरिएको थियो। तर २०७४ पछि पुनः तीन वटा निर्वाचन क्षेत्र कायम भएका छन्। पछिल्लो भौगोलिक संरचनाअनुसार यो क्षेत्र साविक तीन नम्बरका अधिकांश वडा मिलाएर बनाइएको छ। यसअघि तीन नम्बर क्षेत्रका सात र दुई नम्बरका चार वटा वडा हाल यस क्षेत्रमा पर्दछन्। पहिलेका ४, ७, ८, ९, १७, २१ र ३३ नं वडा पहिले तीन नम्बरका हुन् भने बाँकी ११, १५, १६ र २० भने दुई नम्बर क्षेत्रमा पर्दथे। २०६४ अघि दुई नम्बर क्षेत्र आठ वटा तत्कालीन गाविस र पोखरा उपमहानगरपालिका मिलेर बनाइएको थियो।

यस निर्वाचन क्षेत्रमा पुम्दीभुम्दी, कृष्तीनाच्ने चौर, निर्मलपोखरी, काहूँ, भलाम, लामाचौर, आर्वा र मौजा गाविस तथा पोखरा उपमहानगरका १८ वटा वडा पर्दथे। विसं २०४६ को प्रजातन्त्रको पुनःस्थापनापछि भएका छ वटा संसदीय निर्वाचनमा हालको यस क्षेत्रले चर्चेका स्थानमा पाँच पटक एमालेले चुनाव जितेको छ, भने एक पटक मात्र कांग्रेसले जितेको छ।

यस क्षेत्रबाट महादेव गुरुङ कांग्रेसबाट विजयी बनेका थिए। नेकपाबाट तुलबहादुर गुरुङ र रवीन्द्र अधिकारी हुँदै विद्या भट्टराई विजयी बने। तुलबहादुर गुरुङ दुई पटकसम्म विजयी भए भने अधिकारी तीनपटक।

अधिकारीसँग पहिलो संविधानसभामा माओवादीका झलकपाणि तिवारी पराजित बन्नुभयो भने दोस्रो संविधानसभा चुनावमा कांग्रेसका शोभियतबहादुर अधिकारी पराजित भए। तेस्रो पटक चुनाव जित्दा अधिकारीसँग कांग्रेसका देवराज चालिसे निकटतम प्रतिस्पर्धी थिए भने त्यसअघि गुरुङसँग दुवैपटक कांग्रेसका शुक्रराज शर्मा पराजित भए।

यस क्षेत्रमा पोखरा महानगरका सबै वडा परे पनि अधिकांशतः विकासको दृष्टिले पछि परेको मतदाताको गुनासो छ। महानगरका रुपमा विभिन्न किसिमका कर तथा तिरो तिर्ने गरे पनि महानगरको अनुभूति गर्न नपाएको पोखरा-३३, भरतपोखरीका मतदाता सुनिल लामिछाने बताउँछन्। 'हाम्रा लागि महानगरको घोषणा केबल पहिचान मेटिने, डाँडाकाँडा भेटिने जस्तै भएको छ', लामिछानेले भने, 'कर महानगरकै तिरेर पनि महानगरवासीको अनुभूति गर्न पाएका छैनौँ।' भरतपोखरीका चवादी, कुर्लिङ, सिङगारेवास लगायतका धेरै गाउँ तथा बस्ती विकासमापछि परेको उनको भनाई छ।

यस क्षेत्रको विकासका लागि नीतिगत योजना आवश्यक रहेको गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रीनाथ बराल बताउँछन्। यस क्षेत्रमा शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताको सम्बोधनसँगै गरिबीको रेखामुनि रहेको सर्वसाधारणलाई स्वरोजगार बनाउने किसिमका कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको उनले बताए।

कृषिको आधुनिकीकरणसँगै सडक, खानेपानी, विद्युत् लगायतका पूर्वाधार विकासका योजनालाई अघि बढाउने बरालको भनाई छ। महानगर भएर पनि विकास लगायतका कारण महानगरको अनुभूति गर्न नपाएका सर्वसाधारणलाई त्यसको अनुभूति हुने गरी समृद्धि र विकासका योजना ल्याउनु जरुरी भएको उनले बताए। महानगरका ११ वडा समेटिएको यस क्षेत्रमा महानगरीय विकासको मोडल स्थापित गर्नुपर्ने नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या भट्टराई बताउँछिन्।

प्राकृतिक साधनस्रोतले सम्पन्न यस क्षेत्रमा यहाँका प्राकृतिक सम्पदाको संरक्षण र उपयोग गर्ने किसिमले अघि बढ्नुपर्नेमा उनको जोड रह्यो। हिमाललाई एकसाथ अवलोकन गर्न सकिने स्थानको संरक्षण र विकाससँगै प्राकृतिक रुपमा रहेको गुफालाई पर्यटकीय रुपमा जोड्नेलगायतका योजना आफूसँग रहेको भट्टराईले बताइन्। गरिबी एवं पिछडीएका वर्ग समुदायको समुत्थान पनि आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ।

कूल ७९ हजार एक सय ३८ मतदाता रहेको यस क्षेत्रमा प्रदेशसभा (क)मा ४२ हजार दुई सय ८२ र प्रदेशसभा (ख) मा ३६ हजार आठ सय ५६ मतदाता छन्। यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। उहाँका अनुसार यस क्षेत्रको प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (क)मा आठ जना र (ख) मा छ जना चुनावी प्रतिस्पर्धामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell