PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

हरेक वर्षजस्तै यो वर्ष पनि छठ पर्वले हेटौँडामा ल्यायो रौनक

हरेक वर्षजस्तै यो वर्ष पनि छठ पर्वले हेटौँडामा ल्यायो रौनक

निशा गुरुङ/पहिलोपोस्ट


हेटौँडा : पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास प्रत्येक वर्ष छठ मनाउँदै आएकी हेटौँडाकी इन्दिरा न्यौपानेको छ। पर्वले एकापसमा माया र सद्भाव बाँड्ने हुँदा मिलेर सबैले मनाउनुपर्ने उनी बताउँछिन्।

हरेक वर्षजस्तै यो वर्ष पनि छठ पर्वले हेटौँडामा रौनक ल्याएको छ। हेटौँडा-१० राप्तीतटमा पाल हालेर छठ पर्वको पूजाआजा गर्ने र हेर्न जानेका लागि व्यवस्था गरिएको छ। छठ पूजा समारोह समितिका सहकोषाध्यक्ष राजदेव बानियाँले छठ पर्वले हिमाल, पहाड र तराईबिचको दूरी मेटाउँदै माया र सद्भाव बढाएको बताए।

उनले हेटौँडामा २/३ जना महिलाले राप्तीतटमा गएर सुरु गरेको छठ अहिले महापर्वको रूपमा स्थापित भएको जिकिर गरे। बानियाँका अनुसार राप्तीतटमा पूजा गर्न तराईमूलका समुदायसँगै ठूलो संख्यामा पर्वते समुदाय पनि आउने गरेका छन्।

यस वर्ष राप्तीतटमा छठ पर्व मनाउन ३० हजार भक्तजन आउने उनको अनुमान छ। आइतवार छठ मनाउन र हेर्न जानेको संख्या ३० हजार अनुमान गरिए पनि सोमवार अर्घ्य दिने बेला भने १० देखि १५ हजार भक्तजन मात्रै हुने अनुमान गरिएको बानियाँले बताए।

सोही अनुसार समितिले पण्डाल बनाउने, बत्ती हाल्ने जस्ता विविध कार्य गरेर राप्तीतटलाई सजाएको छ। कोरोनाको जोखिम कायमै रहेकालाई स्वास्थ्यलाई मध्यनजर गरेर राप्तीतटमा हेल्थ डेस्कको साथै एम्बुलेन्सको व्यवस्था पनि गरिएको उनले बताए।

सुरक्षा व्यवस्थालाई पनि ध्यानमा दिँदै ठूलो संख्यामा प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले बताए। धेरै भिडभाड हुने र सुरक्षाको हिसाबले जोखिम हुनुका साथै सवारी व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने भएकाले छठ पर्वको मुख्य दिन आइतवारदेखि २४ घण्टाका लागि म्यादीसहित १६० जना प्रहरी खटाइने उनले बताए।

प्रहरी निरीक्षकको नेतृत्वमा सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी, सुरक्षाको व्यवस्थापनको लागि ड्रेस र सादा पोशाकमा समेत प्रहरी खटाइने उनले जानकारी दिए। छठ पर्वको दिन राप्तीतटमा सूर्यलाई अर्घ्य दिन जाने व्रतालु र हेर्न जानेको घुइँचो लाग्ने गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell