PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

कमल पोखरीमा यस्तो देखियो राष्ट्रपति भण्डारीको छठपूजा : पुगे गगनदेखि बालेनसम्म

कमल पोखरीमा यस्तो देखियो राष्ट्रपति भण्डारीको छठपूजा : पुगे गगनदेखि बालेनसम्म

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आज छठको मुख्य दिन। सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको कमलपोखरी र गौरीघाट पुगेकी छन्।

राष्ट्रपति भण्डारीले कमलपोखरी र गौरीघाट पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन्। अस्ताउँदो सूर्यलाई अर्घ्य दिन कमल पोखरीमा कांग्रेस महामन्त्री गगन थापादेखि काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह 'बालेन' सम्म पुगेका छन्।

गुह्येश्वरीमा यस वर्ष विगतमा भन्दा बढी छठ घाटको निर्माण गरिएको छ। विगतमा करिब पाँच सय छठ घाट निर्माण गरिएकामा यस वर्ष छ सयभन्दा बढी बनाइएको छ। गुह्येश्वरीबाट गौरीघाटसम्म वाग्मती नदीको वारपार पूजास्थल र पण्डाल बनाइएको छ। यसैगरी राजधानीका थापाथली, कुपण्डोल, नक्खु खोला, विष्णुमती र वाग्मती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको छ।

गौरीघाटमा एउटा छठ घाट एक हजार पाँच सय रुपैयाँ शुल्क लिएर भक्तजनलाई प्रवेश दिइएको छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले बताए। आइतवार बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका बर्तालु सोमवार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन्।

बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ। छठ व्रत गरेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ। महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको उल्लेख गरिएको छ। यसै विश्वासका आधारमा यो पर्व मनाउने परम्परा सुरु भएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell