PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नरहरि आचार्यको दाबी : काठमाडौं ५ मा प्रदीप पौडेलको टिम बलियो



पहिलोपोस्ट

नरहरि आचार्यको दाबी : काठमाडौं ५ मा प्रदीप पौडेलको टिम बलियो

काठमाडौं : नेपाली कांग्रेसका नेता नरहरि आचार्यले काठमाडौं ५ मा प्रदीप पौडेलको टिम बलियो रहेको बताएका छन्। आइतवार नेपाल लोकतान्त्रिक खेलकुद संघले टोखामा आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले प्रदीपको टिमले जिते विकास हुने दाबीसमेत पेश गरे।

‘काठमाडौं ५ मा युवाहरुको बलियो टिम छ,’ आचार्यले भने, ‘यो टिमले जितेमात्र काठमाडौं ५ मा विकासका ढोका खुल्न थाल्छन्।’ कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रलाई हुबहु कार्यान्वयन गराउनका लागि पनि प्रदीपले जित्नैपर्ने उनको भनाई थियो। ‘कांग्रेसले सार्वजनिक गरेका प्रतिवद्धतालाई पुरा गर्न अब ५ वर्ष प्रदीप जीले घचघच्याउनुहुनेछ,’ आचार्यले भने।

अहिलेको चुनावी गठबन्धन देशलाई संकटबाट बचाउन भएको उनले प्रष्ट पारे। त्यसैले गठबन्धनप्रति जिम्मेवार रहन कार्यकर्तालाई आग्रहसमेत गरे। ‘जब–जब देशलाई संकट पर्छ त्यतिबेला कांग्रेसले नै नेतृत्व गर्दै आएको छ,’ आचार्यले भने, ‘अहिलेको गठबन्धन पनि कांग्रेसले खोजेर भएको होइन त्यस्तै परिस्थितिले उब्जाएको हो। त्यसैले गठबन्धनप्रति सबैजना जिम्मेवार बनौँ।’

झण्डै ५ वर्षयता स्वास्थ्यलाभ गरिरहेका आचार्य लामो समयपछि जनतामाझ साक्षात्कारका लागि उपस्थित भएका हुन्। कार्यक्रममा खेलाडीहरुलाई सम्मान गर्दै खेलाडीको मेहेनतले देशकै गरिमा बढाउने उनले बताए। ‘राष्ट्रको पहिचान गराउने एउटा सशक्त माध्यम खेल नै हो,’ उनले भने, ‘खेलाडीले नै देशको गरिमा बढाउने हुन्।’

कार्यक्रम काठमाडौं ५ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेस नेता पौडेलले खेलकुदमा लगानी बढाएर सबै युवाको खेलकुदमा पहुँच हुने अवस्था सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे।

त्यसैले खेलकुदको विकासदेखि समग्र काठमाडौँ ५ को विकासका निम्ति बाम लोकतान्त्रिका उम्मेदवार विजयी हुनुपर्ने प्रदीपको जोड रह्यो। ‘विगतलाई हेरेर अब मतदाताले मूल्यांकन गर्न सक्नुपर्छ,’ प्रदीपले उद्घोष गरे, ‘जसले आफूमाथि बेइमानी गर्दैन भन्ने लाग्छ उसैलाई मत दिनुस् अब क्रान्तिबाट परिवर्तन आउँदैन परिवर्तन ल्याउने भनेको आवधिक निर्वाचनले नै हो।’

टोखामा आयोजित उक्त कार्यक्रममा बोल्दै प्रदीपले टोखामा उत्पादन हुने चाकुलाई अन्तराष्ट्रिय बजारमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे। ‘टोखाको चाकु स्वदेशी बजारमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनेछौँ,’ उनले भने, ‘टोखा पुरानो नेवारी बस्ती पनि हो यहाँको सभ्यता र संस्कृतिको विकासका लागि अध्ययन गर्नेछौँ।’

त्यस्तै, काठमाडौँ ५ लाई साँस्कृतिक सहर निर्माण गर्न सुक्ष्म अध्ययन गरिने उनले बताए। ‘हामी काठमाडौं ५ लाई कसरी साँस्कृतिक सहर बनाउन सकिन्छ त्यसबारेमा सुक्ष्म अध्ययन गर्नेछौँ,’ प्रदीपले आफ्ना योजना सुनाए, ‘यहाँका विकासका सम्भावनाको खोजी र अध्ययन गर्नेछौँ, संसद विकास कोषको पैसा वार्षिक सार्वजनिक अडिट गर्ने व्यवस्था मिलाउँने छौँ, हाम्रको कामको मूल्यांकन गर्न टोलटोलमा समिति बनाउँनेछौँ।’

लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सचिव मनिष जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्रिकेटर पारस खड्का, फुटबलर रामचन्द्र श्रेष्ठ, मनिन्द्रराज जोशी बक्सिङका अर्जुनबहादुर केसी, पुष्पराज जोशी, पर्वतारोही पूर्णिमा श्रेष्ठ र नवौँ राष्ट्रिय खेलकुदको विभिन्न विधामा पदक विजेतासहित ४० जना खेलाडीलाई सम्मान गरिएको थियो। काठमाडौं ५ मा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी मैदानमा छन्। यसअघि पोखरेलले कांग्रेसका डा प्रकाशशरण महतलाई पराजित गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell