PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

प्रचण्डको प्रचार : ३ मिनेट बोल्ने हिँड्ने, प्रधानमन्त्री बन्ने र विकास गर्ने आश्वासन दिएर मागे भोट



प्रकाश भण्डारी

प्रचण्डको प्रचार : ३ मिनेट बोल्ने हिँड्ने, प्रधानमन्त्री बन्ने र विकास गर्ने आश्वासन दिएर मागे भोट

गोरखा: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २ दिन गोरखामा व्यस्त रहे। घर-घरमा पुग्नेदेखि मतदाताकै घरमा खाना खाएका उनले पुनः प्रधानमन्त्री हुने र विकास गर्ने भाषण गरे। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई साथमै राखेर मत मागेका थिए प्रचण्डले।

गोरखा -२ का विभिन्न क्षेत्रमा पुगेका प्रचण्डले निर्धारित कार्यक्रम भने आइतबार अबेर मात्रै सके। आफ्नो कार्यक्रमलाई अनौपचारिक घरदैलो भएको दाबी गरिरहेका प्रचण्ड औपचारिक कार्यक्रम कात्तिक १८ गतेपछि मात्रै हुने बताइरहेका थिए। कतै शहीद परिवारलाई फकाउन समय खर्चिएका प्रचण्डले कतै ज्येष्ठ नागरिकसँग मत मागे। कतै बोल्न नभ्याउने भन्दै माला मात्रै लगाएर हिँडेका प्रचण्ड कतै भने नेता/कार्यकर्तासँगै गफ गरिरहे। उनलाई स्वागत गर्न बाटो बाटोमा फूलमाला लिएर नेता/ कार्यकर्ता कुरिरहेका थिए। जसबाट प्रचण्ड पुलकित भएर कतै विकासका वाचा गर्थे त कतै आफू अब प्रधानमन्त्री बन्ने बत्ताउँथे।

३ मिनेट बोल्ने हिँड्ने

प्रचण्डको चुनावी अभियानको रोचक पक्ष त के भने उनी अरुबेला लामो लामो भाषण गर्ने भए पनि चुनावी अभियानमा भने बढीमा ३ मिनेट मात्रै बोल्थे। बेला बेलामा भट्टराईलाई बोल्न लगाएका प्रचण्डले आफू गोरखामा बाबुरामले प्रस्ताव गरेर आएको भन्न बिर्सिएनन् मतदाताका अघि। सडकमा पर्ने विभिन्न क्षेत्र केन्द्रित गरेर प्रचण्डको चुनावी अभियान सञ्चालन भएको थियो।

कांग्रेसको उद्घोष : अबको प्रधानमन्त्री प्रचण्ड

आइतबारको अभियान गोरखाको धारापानीमा सुरु भयो। धारापानीमा प्रचण्डले आफ्नो अबको इच्छा भनेकै विकास भएको बताए।

‘अरू इच्छा छैन मेरो अब जे जति सकिन्छ विकास गर्ने हो। समृद्धिका लागि लड्ने हो,’प्रचण्डले भने।

प्रचण्डसँगै चुनावी अभियानमा हिँडिरहेका नेपाली कांग्रेसका गोरखा-२ बाट गण्डकी प्रदेशका उम्मेदवार सुरेन्द्रराज पाण्डेले पनि प्रचण्डको प्रशंसा गरेर मत मागिरहेका थिए चुनावी अभियानमा।

‘गोरखाले पनि प्रचण्डबाट हुने विकासलाई गुमाउनु हुँदैन। हामीलाई जिताए केन्द्रदेखि प्रदेश सरकार बन्ने अवस्था रहन्छ। अबको प्रधानमन्त्री प्रचण्ड हुनुहुन्छ,’ पाण्डेले भने।

मतादाताको घरमै खाना

प्रचण्ड चिप्लेटी, नयाँ बजार चित्रेपोखरी हुँदै खोप्लाङ पुग्छन्। खोप्लाङ बाबुरामको गाउँ भएको क्षेत्र पनि हो। उक्त क्षेत्रमा बाबुरामले सडक पिच बनाउने वाचा गरेका थिए यसअघिको प्रतिनिधि सभाको निर्वाचनका बेलामा। अहिले उनले उक्त क्षेत्रमा विकासको काम आफूले सुरु गरेको र प्रचण्डले पुरा गर्ने बताए।

‘यहाँको मुख्य समस्या सडक हो। यो सडकको लामो कथा छ नभए अहिलेसम्म बनिसक्थ्यो। विकास निर्माणका कामहरू सुरु भएका छन्। अब कमरेड प्रचण्डले पुरा गर्नुहुन्छ,’ बाबुरामले भने।

खोप्लाङका मतदाताका घरमै खाना खाए प्रचण्ड-बाबुरामले। शहीद परिवारलाई पनि प्रचण्डले आश्वासन दिन भने छोडेनन्। ‘हामी सरकारमा गयौँ एउँ भने पुरा गर्छौँ हामीले सुरु गरेका काम,’ प्रचण्डको आश्वासन थियो।

मत माग्ने ट्रिक पुरानो कुरा सम्झने

प्रचण्डले अभियानका क्रममा मत माग्न लगाएको आइडिया मध्यको एक हो गोरखामा आफूले पहिला शिक्षक भएर काम गरेको बताउने। उनले पञ्चायतविरुद्धका गतिविधि पनि गोरखाबाटै सुरु गरेको बताएका थिए। जनयुद्धका क्रममा पनि आफूले थुप्रै गतिविधि गोरखाबाटै गरेको बताएका प्रचण्ड चोरकाटेमा पुगेपछि मतदातालाई आफू उक्त ठाउँबाट हिँडेरै थुप्रै पटक आरुघाट ओहोरदोहोर गरेको बताए। ‘यो सडक थिएन त्यति बेला म यो बाटो हुँदै थुप्रै पटक आरुघाट पुगेको छु,’ उनले भने।

‘सबैले मलाई प्रधानमन्त्री बन्न पर्छ भनेका छन्’

प्रचण्ड आफू अबको चुनावबाट प्रधानमन्त्री र कांग्रेसका प्रदेश सभाका उम्मेदवार पाण्डे मुख्यमन्त्री बन्ने दाबी गरिरहेका थिए। उनले आफूलाई एक पटक फेरी देशको नेतृत्व गर्ने इच्छा भएको मतदातालाई बत्ताउँथे। ‘यो मेरो इच्छा मात्र होइन सबैले मलाई फेरि एकपटक तपाईँको सरकार हेर्ने मन छ भन्नुहुन्छ,’ प्रचण्डले चुनावी अभियानका क्रममा भने।

कार्यकर्ताको सुझाव : प्रचण्ड-बाबुराम सधैँ मिल्नुस्

बाबुरामले यसपटक आफ्नो निर्वाचन क्षेत्रमा प्रचण्डलाई अघि सारे। यति मात्रै होइन प्रचण्डसँगको दोस्ती जमाउन उनले पार्टी नै एकतासम्मको तयारी गरिरहेका छन्। प्रचण्डलाई ‘सुयोग्य’ पात्र भन्नेदेखि आफ्नो भूमिका संसदीय राजनीतिभन्दा फरक हुने बताइरहेका छन् बाबुराम। बाबुरामकै कारण आफू गोरखाबाट उम्मेदवार बनेको प्रचण्डले बताइरहेका थिए चुनावी कार्यक्रममा।

उनीहरूका कार्यकर्ताले पनि प्रचण्ड बाबुराम मिल्नुपर्ने सुझाए। ‘बाबुरामजी तपाईँ राजनीति न छोड्नुहोला। सधैँ प्रचण्डसँगै मिल्नुस्,’ बाबुरामलाई जाने बेलामा खेपुवामा एक महिलाले भनिन्।

‘चितवनको जस्तै अब गोरखामा’

प्रचण्डको आश्वासन दिने क्रम कतिसम्म रह्यो भने उनले आफूले चितवनमा राम्रो विकासको मोडल देखाएको बताए। उक्त मोडल अब गोरखामा लागु गर्ने वाचा गरे प्रचण्डले अभियानका क्रममा। आफूले चुनाव जिते सबैसँग सहकार्य गरेर विकास निर्माणका काममा कुनै कमी नगर्ने वचन दिन पनि भ्याए प्रचण्डले।

‘मैले चितवनको अनुभव पनि यहाँ लागु गर्न खोजेको छु। तपाईँले जिताउनुभयो भने त्यस्तै खालको विकास यता पनि हुन्छ,’ प्रचण्डको भनाई थियो।

प्रचण्डको रेडिमेड भाषण

प्रचण्डले गर्ने छोटा भाषण सबै ठाउँमा एकनासका थिए। उनले विकासका कुरा छुटाएनन् भने बाबुरामको प्रस्तावमा गोरखा आएको दोहोर्‍याइरहे। अहिले थोरै कुरा भन्ने र कात्तिक १८ गतेपछि मात्रै सबै कुरा बताउने प्रचण्डले सबै ठाउँका मतदाता सामु भने।

उनको रेडिमेड भाषण कतिसम्म थियो भने अहिलेको लडाईँ चुनावी जित हार मात्रै नभई राजा चाहने र गणतन्त्र चाहनेबीच भएको भन्नेसम्म थियो। जो सबै ठाउँमा प्रचण्डले भन्न भ्याउँथे।

‘हामीले ठक्कर खायौँ’

प्रचण्ड बेला बेलामा पश्चात्ताप गर्न पनि बिर्सदैन थिए मत माग्ने क्रममा। उनले चोरकाटेमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर आफूले ठक्कर खाएको भन्दै अब त्यस्तो निर्णयमा नपुग्ने बताए। बाबुरामले पनि नयाँ शक्ति बनाउने अभियानमा सफलता नपाएको बरु ठक्कर खाएको प्रचण्डको भनाइ थियो। दुबै जनाले ठक्कर खाएकाले अहिले मिल्ने अवस्थामा पुगेको उनले बताए। भने, ‘प्रचण्ड बाबुरा एउटै जस्तो सुनिन्थ्यो तर बीचमा म केपी ओलीसँग मिल्ने कुरा गरे र उहाँले पनि नयाँ शक्ति बनाउनुभयो। केपीसँग मिलेको सफलता भएन उहाँलाई पनि नयाँ शक्ति बनाउँदा सफलता भएन। त्यसैले हामीले ठक्कर खायौँ,’ प्रचण्डको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell