भरतपुर : सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकियो। सूर्यदेवको पूजा गरी मनाइने यो पर्वको अन्तिम दिन सोमवार उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिइएको हो।
सूर्यको दर्शन गर्दा भक्तजनहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ। सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर, वधु प्राप्तिको कामना गर्छन्। सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ।
आइतवार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन पनि बर्तालु छठ घाट गएका थिए। चितवनको नारायणी नदी किनारमा पनि बर्तालुहरुले रातभर जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन्।