PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

भुलेको वाचा सम्झाउँदै बाबुरामलाई खोप्लाङवासीले गराए सचेत : प्रचण्डले काम नगरे कान समात्ने त बाबुरामकै हो



प्रकाश भण्डारी

भुलेको वाचा सम्झाउँदै बाबुरामलाई खोप्लाङवासीले गराए सचेत : प्रचण्डले काम नगरे कान समात्ने त बाबुरामकै हो

गोरखा : खोप्लाङमा आइतवार दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुग्दा गाउँलेको जमघट थियो। प्रचण्डले बिहानको खानाका लागि पनि खोप्लाङ नै रोजे। चुनावी अभियानका क्रममा प्रचण्डसँगै प्रचारमा हिँडेर लखतरान थिए कार्यकर्ता। अनि भोको पनि। एउटा घरमा प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले खाना खाए। अरु घरमा कार्यकर्ताका लागि पाकेको थियो खाना। बाबुरामका लागि नौलो थिएन खोप्लाङ। किनकि उनको आफ्नै गाउँ हो खोप्लाङ। हुन त धारापानी, चोरकाटे, चिप्लेटी लगायतका ठाउँमा पनि प्रचण्ड-बाबुरामले भाषण गरेकै हुन्। तर खोप्लाङ पुगेपछि दुबै नेताको शैली अलि भिन्न देखियो। त्यहाँका मतदाताको कुरा सुन्ने योजना बनाएका थिए प्रचण्ड-बाबुरामले। शहिद परिवार, जनप्रतिनिधि हुँदै जेठ नागरिकका गुनासो सुने उनीहरुले। पछि केही आश्वासन दिए त केही वाचा गरे विकासका लागि प्रचण्डले। खोप्लाङबासीले प्रचण्डलाई चेतवानीकै शैलीमा केही सम्झाउनसमेत भ्याए।

‘गर्न सक्नेमात्रै वाचा गर्नुस्’

खाना खाएपछि आँगनमा प्रचण्ड - बाबुरामका लागि बस्ने व्यवस्था मिलाइयो। पालैपालो गाउँलेले सुनाएका थिए गुनासो। ‘गर्न सक्नेमात्रै गर्छु भन्नुस् गर्न नसकिने वाचा पनि नगर्नुस्,’ एक वृद्धले प्रचण्डलाई सम्झाए। किनकी चुनाव आएपछि नेताहरुले उधारा सम्झौता गर्ने र पछि बिर्सने परिस्थिति खोप्लाङ बासीले पनि नभोगेका होइनन्। खोप्लाङबाट १२ किलो पुग्ने सडक पिच बनाउँछु भनेर बाबुरामले वाचा गरेका थिए २०७४ को चुनावमा। ‘बाटो बनाउन नसके म भोट माग्न आउँदिन भन्नुभएको थियो। त्यसैले होला बाबुरामले यसपटक छोड्दिनुभो,’ बाबुरामको संसदीय राजनीतिको बहर्गमनबारे आफ्नै खाले बुझाइ थियो कर्ण गुरुङको।  उनलाई बाबुराम जतिको भिजन भएको नेता अरु कोही नभएको लाग्दो रहेछ। बाबुरामले नै अघि सारेकाले यसपाला प्रचण्डलाई भोट दिने तयारीमा छन् गुरुङ।

बाटो नबनेको कथा के?

‘हाम्रो अरु भन्नु केही छैन यही सडक बनाइदिनुपर्‍यो,’ पालुङटार नगरपालिका १ खोप्लाङका वडा अध्यक्ष कृष्णबहादुर परियारले प्रचण्डलाई आग्रह गरे। अर्को पटक पनि मत माग्ने आउन वातावरण बनाउन भए पनि प्रचण्डको पालामा सडक बन्नुपर्ने बताए परियारले। उनी जनता समाजवादी पार्टीबाट निर्वाचित वडा अध्यक्ष हुन्। तर यसपटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मत हाल्ने दावी छ परियारको। ‘हामीलाई अब विचारभन्दा पनि विकास र समृद्धिबारे मतलव छ। यहाँ जसपाको उम्मेदवार पनि छैन। त्यसैले यसपटक भोट हाल्ने प्रचण्डलाई नै हो,’ परियारले सुनाए।

सडकको कुरा आएपछि प्रचण्डले बाबुरामतिर हेरे। तर बाबुरामको उत्तर अलि कुटनीतिक रह्यो। ‘म तपाइँलाई अघि आएको यही बाटोको बारेमा भनुँला। यसको लामो कथा छ,’ बाबुरामले भिडमा सडक नबनेको कथा खोल्न चाहेनन्। तर, खोप्लाङको सबैभन्दा ठुलो समस्या भनेकै सडक रहेछ। कच्ची सडक पक्की नबनेपछि एकातिर गाउँले आक्रोशित छन् भने अर्कोतिर चुनावका बेलामा मतदाताले शर्तका रुपमा उक्त सडकलाई देखाएका छन्। ‘हामीलाई अरु किन चाहियो। पार्टी जो जता भए पनि सुत्केरीलाई स्ट्रेचरमा होइन एम्बुलेन्समा बोक्न पाउँनुपर्‍यो भन्ने हो,’ वडा अध्यक्ष परियारको भनाइ थियो।

प्रचण्डले जिते पनि बाबुरामको कान समात्छौं

बाबुरामकै कारण प्रचण्डलाई भोट हाल्ने चाजोपाजो मिलाइरहेका खोप्लाङबासीले फेरि पनि विकास निर्माणका काम नभए बाबुरामलाई नै ध्यानाकर्षण गराउने बताए। ‘प्रचण्ड नेता त ठूलो हो नि। तर चितवनमा हार्ने भएपछि गोरखा आउनुभएको हो। यहाँको जनताले एकपटक विचार गर्छ र उहाँलाई जिताएर पठाउँछ। तर भोलि काम भएन भने हामीले कान समात्ने त बाबुरामकै हो। उहाँले ल्याएर आउनुभएको हो नि प्रचण्ड त,’ रुद्र न्यौपाने केही कठोर देखिए।

अघि बाबुरामले सडक नबनेको कथा लामो छ भन्नुभयो के रहेछ कथा?

प्रचण्ड - बाबुराम निस्किएपछि पनि चुनावकै बारेमा गफिरहेका मतदाताको जवाफ बाबुरामको भन्दा केही प्रस्ट थियो। ‘भारतीय कम्पनीलाई दिएको छ रे। उसले बनाउन विभिन्न कुराहरु राखेको छ रे,’ गुरुङले लख काटे। मुख्य समस्या नै सडकको रहेछ खोप्लाङवासीलाई। ‘मुख्य यहाँको समस्या भनेकै सडक र पिउने पानीको हो,’ न्यौपाने बताउँछन्। तर २०७४ को चुनावपछि कुनै प्रगति नभएको भन्दै खोप्लाङका स्थानीय केही आक्रोश पनि व्यक्त गरिरहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell