काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा लगेको छ।
नावालिग किशोरी बलात्कारको आरोप लागेका लामिछानेको मुद्दा सोमवार कार्यालयले अदालत पुर्याएको कार्यालय प्रमुख अच्यूतमणी नेउपानेले जानकारी दिए। सन्दीपको मुद्दामा सोमवारबाटै थुनछेक प्रकृया सुरु हुने बताइएको छ।
यो मुद्दामा प्रहरीले तिहारअघि नै अनुसन्धान सकाएको थियो। प्रहरीले कात्तिक ६ गते राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो।
जबर्जस्ती करणी उद्योगमा सन्दीपमाथि १२ वर्ष कैद सजायको माग दाबी गरिएको छ। अब, न्यायाधीश समक्ष सन्दीपको बयान लिइनेछ। त्यसपछि, सरकारी वकील कार्यालय र सन्दीप दुवै पक्षको बहस सुरु हुनेछ।
थुनछेक बहसपछि अदालतले थुनामा राखेर मुद्दाको पूर्पक्षमा सहभागी हुन वा धरौटीमा रिहाको आदेश गर्न सक्नेछ। साधारण तारेखमा पनि रिहा गर्न सक्नेछ।
गत असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट सन्दीपलाई नियन्त्रणमा लिएको हो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थल अवतरण गरेका थिए। विमानस्थलबाट उत्रिने बित्तिकै अध्यागमन कार्यालयले सन्दीपलाई विमानस्थल प्रहरीलाई जिम्मा लगाएको थियो।
१७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगेका हुन्। उजुरी लगत्तै प्रहरीले लामिछानेविरुद्ध प्रमाण सङ्कलन गर्न सुरु गरेको थियो। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ। प्रहरीमा परेको उजुरी अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए।
त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए। रातिको ११ बजेर ५५ मिनेटमा होटलमा लगेर लामिछानेले किशोरीलाई पटक-पटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीले होटलमा गएर पनि लामिछानेको उपस्थितको बारेमा प्रमाण सङ्कलन गरिसकेको थियो।