
आइतवार टी २० विश्वकप अन्तर्गतको समूह २ को खेलमा भारतले दक्षिण अफ्रिकासँग पराजय ब्यहोर्यो। योसँगै समूह २ को समीकरण थप रोचक बन्दै गएको छ। समूह २ मा ३ चरणका खेल सकिँदा ५ अंकसहित दक्षिण अफ्रिका शीर्षस्थानमा छ भने समान ४ अंक जोडेका भारत र बंगलादेश दोस्रो र तेस्रो स्थानमा छन्। त्यस्तै ३ अंक जोडेको जिम्बावे चौथो स्थानमा रहँदा हेबिवेट पाकिस्तान २ अंक जोडेर पाँचौ र छैटौं स्थानमा अंकविहीन नेदरल्याण्ड्स छ।
आइतवारको भारतको हारसँगै पाकिस्तानको अर्को चरणमा पुग्ने सम्भावना कमजोर बन्दै गएको छ। भारत र जिम्बावेसँग पराजय ब्यहोरेपछि तेस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको पाकिस्तानको नजर आइतवार साँझको भारतको नतिजामा थियो। भारतले दक्षिण अफ्रिकामाथि जित निकालेको खण्डमा पाकिस्तानको अनुकुल नतिजा हुने थियो। तर, भइदियो ठीक उल्टो। दक्षिण अफ्रिकाले भारतमाथि ५ विकेटको जित निकाल्यो।
'हामी दु:खी छौँ। तर, हामी अहिलेसम्म प्रतियोगिताबाट बाहिरिसकेका छैनौं। हामीले हाम्रो गल्तीको विश्लेषण गरेका छौं। बाहिर हाम्रोबारे भइरहेको टिप्पणीहरुमा भन्दा पनि हामी आफ्नो खेलमा केन्द्रीत छौं,' पाकिस्तानी खेलाडी हरिस रउफले भनेका छन्।
पाकिस्तानलाई सेमिफाइनल पुग्नका लागि बाँकी दुई खेलमा जित मात्र पर्याप्त हुँदैन। अन्य टिमको नतिजामा निर्भर पनि हुनेछ। अब अगाडि पाकिस्तानले ३ नोभेम्बरमा दक्षिण अफ्रिका र ६ नोभेम्बरमा बंगलादेशसँग भिड्नेछ।
सुरुवाती दुई खेलमा पराजय ब्यहोरेपछि पाकिस्तानका क्रिकेट समर्थक चाहन्थे भारतले दक्षिण अफ्रिकालाई हरावस्। यस्तो समीकरण बनेको भए पाकिस्तानलाई सेमिफाइनलको बाटो खुला हुने थियो। तर, भारतको हारसँगै पाकिस्तानको सम्भावना घटेर गएको छ।
भारतलाई हराएको टिम दक्षिण अफ्रिकाको खातामा पाँच अंक छ र भारतको खातामा ४ अंक छ। दक्षिण अफ्रिकाले अझै पाकिस्तानबाहेक नेदरल्याण्ड्ससँग खेल्न बाँकी छ। अहिलेको फर्मलाई हेर्दा नेदरल्याण्ड्सको टोली दक्षिण अफ्रिकाभन्दा धेरै पछाडि देखिन्छ। अर्कोतर्फ भारतले दक्षिण अफ्रिकासँग हार ब्यहोरे पनि भारतले बंगलादेश या जिम्बावेमाथि कमब्याक गर्ने सम्भावना प्रबल छ।
भारतको रनरेट +०.८४४ छ जुन दक्षिण अफ्रिकापछि सबैभन्दा धेरै हो। यदि दक्षिण अफ्रिका र जिम्बावे मध्ये एकले आफ्ना बाँकी दुई खेलमा जित निकाल्छन् भने पाकिस्तान सेमिफाइनलको होडबाट बाहिरिनेछ। यदि पाकिस्तानले दुई खेलमा जित निकाल्छ भने पनि आफ्नो समीकरण अनुरुप अन्य टोलीको हारको प्रतिक्षा गर्नुपर्ने देखिन्छ। यसका लागि दक्षिण अफ्रिका, भारत, बंगलादेश र जिम्बावेको नतिजा आफू अनुकुल चाहिनेछ।