
काठमाडौं : एमालेबाट चोइटिएर स्थापना भएको नेकपा एकीकृत समाजवादी पार्टीले शान्ति प्रक्रियादेखि विभिन्न विकास आफ्नो नेतृत्वमा भएको दाबी गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभा लक्षित घोषणापत्र जारी गर्दै एकीकृत समाजवादीले अनमिनलाई बिदाई गर्नेदेखि अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने काम आफ्नो पार्टीले गरेको जनाएको छ।
सोमवार पार्टीले जारी गरेको प्रतिबद्धतामा १५ विभिन्न विषय आफ्नो नेतृत्वमा भएको उल्लेख गरिएको छ।
यी हुन् एकीकृत समाजवादीले जारी गरेको आफ्नो कामको बुँदाहरु :
१. गणतन्त्र स्थापनामा नेतृत्वदायी भूमिका,
२. शान्ति स्थापनामा प्रमुख भूमिका,
३. तत्कालीन 'अनमिन' (UNMIN) लाई बिदा गर्ने काम,
४. पुष्पलाल (मध्यपहाडी) लोक मार्गको सुरुवात,
५. काठमाडौं-निजगढ द्रुत मार्गको सुरुवात,
६. स्थानीय तहमा महिला र उत्पिडीत-दलित समुदायको उपस्थिति बढाउने काम,
७. माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणको सुरुवात,
८. कलङ्की नौबिसे सुरुङ मार्गको योजना, ९. जनता आवास कार्यक्रम,
१०. विद्यालय र बालबालिका शान्ति क्षेत्र घोषणा,
११. अन्तर्जातीय विवाहलाई प्रोत्साहन,
१२. एकल महिलाहरूलाई प्रोत्साहित गर्ने कार्यक्रम,
१३. महिलामाथि हुने हिंसा नियन्त्रण गर्न प्रहरीमा महिला सेलको स्थापना,
१४. अपाङ्गता भएका व्यक्ति लगायतलाई सामाजिक सुरक्षा कार्यक्रम,
१५. सुत्केरी भत्ताको व्यवस्था।
ओलीको आलोचना, अहिलेको अवस्थामा एकता हुन सक्दैन
घोषणापत्रमा एकीकृत समाजवादीले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरिएको छ। ओलीले जनताको अपेक्षामाथि गम्भीर कुठाराघात गरेको उल्लेख गर्दै एकीकृत समाजवादीले राजनीतिप्रति नै वितृष्ण उत्पन्न हुने काम गरेको आरोप लगाएको छ।
'हाम्रो विद्रोह र पार्टी पुनर्गठन २०७४ मा हामी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर चुनावी गठबन्धन बनाई यहाँहरूबिच आएका थियौँ र झन्डै दुई तिहाई संसदीय स्थानमा विजय प्राप्त गरी केपी ओलीको नेतृत्वमा सङ्घीय सरकार निर्माण गरिएको थियो,' घोषणापत्रमा भनिएको छ, 'त्यस सरकारले जनअपेक्षा र निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिवद्धताअनुरूप काम नगरेको मात्र होइन, भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भएपछि आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र राजनीति प्रति नै वितृष्णा उत्पन्न हुन गयो।'
एमाले नेतृत्वको कार्यशैली सुधार्न हर प्रयास गर्दा पनि सम्भव नदेखिएपछि आफूहरुले विद्रोह गरेको घोषणापत्रमा उल्लेख छ। 'त्यतिमात्र होइन एमाले नेतृत्वमा दक्षिणपन्थी अवसरवाद, गैरकम्युनिष्ट विचार, गलत आचरण र षड्यन्त्रकारी कार्यशैली समेत विकास भयो, जसको कारण कम्युनिष्ट पार्टी र सिङ्गो कम्युनिष्ट आन्दोलनलाई नै ठुलो क्षति भयो,' घोषणापत्रमा भनिएको छ, 'हामीले नेकपा (एमाले)मा व्याप्त अवसरवाद, गैरकम्युनिष्ट विचार, आचरण र कार्यशैली सुधार्नका लागि धेरै प्रयास गर्यौ। एमाले नेतृत्वलाई सुधार्न र ठीक ठाउँमा ल्याउन नसकिने ठहर गरिसकेपछि हामीले विद्रोह गर्यौ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन गर्यौ। अहिले हामी 'कलम' चुनाव चिन्ह लिएर यहाँहरूमाझ आएका छौँ।'
एकीकृत समाजवादीले अहिलेकै अवस्थामा कम्युनिस्ट एकता सम्भव नभएकोसमेत जनाएको छ। 'हामी कम्युनिष्ट आन्दोलनमा नयाँ पुनर्जागरण ल्याउन चाहन्छौँ र त्यसमार्फत् व्यापक पुनर्गठन गर्न चाहन्छौँ। नेपाली समाजको आमूल परिवर्तनका लागि सही विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशा तथा सोहीअनुसारको सङ्गठन, नेता-कार्यकर्ताहरूको असल आचरण र कार्यशैली भएको कम्युनिष्ट पार्टीको आवश्यकता आज सबै प्रगतिशिल तथा क्रान्तिकारी जनसमुदायले गरिरहनुभएको छ,' घोषणापत्रमा भनिएको छ, 'सही कार्यक्रमका आधारमा मात्रै व्यापक स्तरमा कम्युनिष्ट एकता सम्भव हुन सक्छ। जालझेल, षड्यन्त्र, झुठा आश्वासन र तिकडमका आधारमा गरिने पार्टी एकता वा नेतृत्व कब्जाबाट कम्युनिष्ट आन्दोलनको पुनर्गठन हुन सक्दैन।'