PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

सुदूरपश्चिम प्रदेशमाथि गण्डकी प्रदेशको सहज जित



पहिलोपोस्ट

सुदूरपश्चिम प्रदेशमाथि गण्डकी प्रदेशको सहज जित

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न समूह 'ए' को खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा गण्डकी प्रदेशले ६९ रनको सहज जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको गण्डकीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०८ रन बनाएको थियो। गण्डकीलाई सानदार ओपनिङ दिलाएका अर्जुन कुमालले सर्वाधिक ६३ रन बनाउँदा अर्का ओपनर समीर कणेलले २६ रन बनाए। त्यस्तै विधान श्रेष्ठ र अभिषेक बस्नेतले समान २५ रन बनाउँदा सन्दीप क्षेत्रीले १९ तथा विपिन खत्री र कमल परियारले समान १३ रन बनाए।

बलिङतर्फ सुदूरपश्चिमका कैलाश ऐयर, नारायण जोशी र शेर मल्लले समान २ विकेट लिँदा नरेन साउदले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिम प्रदेश १३९ रनमा समेटियो। सुदूरपश्चिमका लागि मिलन बोहोराले सर्वाधिक ५१ रन बनाउँदा गजेन्द्र बोहोराले ३५ तथा बसन्त कार्कीले १० रन जोडे। सुदूरपश्चिमलाई लक्ष्यसम्म पुग्न नदिन गण्डकीका बिपिन खत्रीले सर्वाधिक ४ विकेट लिँदा सुवास भण्डारी र अभिषेक बस्नेतले समान २ विकेट विकेट लिए। त्यस्तै अमृत गुरुङले १ विकेट लिए।

आजै मुलपानीमा सम्पन्न अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ माथि ७ विकेटको जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell