
बुटवल : एमाले उपाध्यक्ष विष्णु पौडेलले तिनाउ-दानव नदी छेउमा बन्ने करिडोरबारे स्थानीयस्तरमा भ्रम छरिएको आरोप लगाएका छन्। करिडोर निर्माणले नदी आसपासका बासिन्दा घरबारविहीन हुने भ्रम छरिएको भन्दै उनले यस्तो कदापि नहुने बताए।
सोमवार बुटवल ११ युद्धनगरमा पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा तिनाउ-दानव करिडोरबारे छलफल गर्दै उनले विकासका नाममा कसैले पनि घरबासविहीन हुनु नपर्ने बताए। स्थानीयको उचित व्यवस्थापनपछि मात्रै करिडोरको काम अघि बढ्ने स्पष्ट पारे। पूर्वाधार विकास योजनाका काममा जनतालाई भ्रममा पारेर राजनीति गर्न खोजिएको भन्दै उनले राजनीतिक स्वार्थ पूर्तिका लागि जनतालाई हरेक कुरामा आतंकित बनाउनु गलत भएको उल्लेख गरे।
जनताका लागि नै सुरु गरिएका महत्वकांक्षी र ठूला विकासका आयोजनाहरुमा गलत ढंगले भ्रम फैलाएर आतंकित पार्ने गरिएको भन्दै उनले जनतालाई असर पर्ने कुनै काम अघि नबढ्ने स्पष्ट पारे। एमाले उपाध्यक्ष पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि करिडोर निर्माणको काम अघि बढाइएको स्पष्ट पार्दै कोही जनतालाई पनि घरबासविहीन नबनाइने स्पष्ट पारे।
यहाँको बस्तीलाई व्यवस्थित गरी करिडोर क्षेत्रमा पर्ने घर-परिवारलाई व्यवस्थित ठाउँमा उनीहरुकै चाहनाअनुसार व्यवस्थापन गरेर मात्रै करिडोर निर्माण हुनेमा ढुक्क हुन आग्रह गरे।
‘यहाँको बस्ती सुरक्षाका लागि नै करिडोर निर्माण गर्न लागिएको हो। विकासका नाममा जनतालाई आतंकित पार्ने र विस्थापित गर्ने भन्ने हुँदैन’, पौडेलले भने, ‘भ्रममा नपर्नुहोस् यदि यहाँबाट बस्ती हटाउनु पर्ने भएमा योभन्दा थप व्यवस्थित ठाउँमा तपाईहरुलाई व्यवस्थापन नगरी काम अघि बढ्दैन।’
रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले आफ्नो ध्यान खुद्रे योजनाभन्दा समग्र क्षेत्रको एकसाथ विकास गर्नमा बढी केन्द्रित रहेको उल्लेख गरे। रुपन्देहीलाई विकासको रोलमोडल बनाउनका लागि कुनै पनि हालतमा बजेटको कमी हुन नदिने प्रतिवद्धता जनाउँदै उनले यसका लागि आगमी निर्वाचनमा एमालेले जित्नै पर्ने उल्लेख गरे। आकाश ओढ्ने र धर्ती बिछ्याउने सबैको प्रतिनिधि भएर काम गर्ने प्रतिबद्धता गर्दै पौडेलले अब आफ्नो ध्यान रोजगार सिर्जना र शिक्षामा हुने बताए।
हरेक घर परिवार तथा युवाहरुलाई रोजगार सिर्जना गर्नका लागि ठूला विकास आयोजनाहरुको सुरुवात, औद्योगिक क्षेत्रको विकास, कृषिलाई आधुनिकीकरण तथा प्राविधिक शिक्षालाई जोड दिइने उनको भनाइ छ।
कार्यकर्ताहरुसँगको छलफलमा बोल्दै एमाले पोलिटव्यूरो सदस्य पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले बुटवलको योजनावद्ध विकासका लागि विगतमा आफू सरकामा हुँदा सुरु गरेका योजनालाई पूर्णता दिन बाँकी नै रहेको उल्लेख गरे।
विगतमा आफूले सुरु गरेका योजनाहरुलाई वर्तमान सरकारले बेवास्ता गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले ती योजनाहरु पूरा भएमा यहाँको जनजीवनमा उल्लेख्य परिवर्तन आउने दाबी गरे। यहाँको पर्यटकीय क्षेत्रको विकास, खेलकुद क्षेत्रमा पूर्वाधार निर्माण, प्राविधिक शिक्षामा लगानीलगायतका मुद्दाहरु आफ्नो प्राथमिकतामा रहेको उनले बताए।