PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गोविन्दराज जोशीको उम्मेदवारीले मलाई केही असर गर्दैन: रामचन्द्र पौडेल, प्रधानमन्त्री बन्न पाए देशकै भलो हुन्छ



पहिलोपोस्ट

गोविन्दराज जोशीको उम्मेदवारीले मलाई केही असर गर्दैन: रामचन्द्र पौडेल, प्रधानमन्त्री बन्न पाए देशकै भलो हुन्छ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जसरी पनि जित निकाल्ने दाउमा छन् योपटक। २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) सँग पराजित उनी निर्वाचन क्षेत्रमा कस्सिएर खटिरहेका छन्। 

योपटक माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी साथ छ पौडेललाई। अर्कोतिर प्रतिद्वन्द्वी किसानको 'वाकओभर'। यद्यपि एमालेले एकबहादुर राना मगरलाई मैदानमा उतारेको छ। पौडेललाई 'पुराना बागी' गोविन्दराज जोशीको चुनौती पनि उत्तिकै छ। पार्टीबाट निकालिए पनि पौडेलविरुद्ध जोशीले यसपटक पनि जुहारी खोजेका छन्। चुनावी तयारीबारे नेता पौडेलसँग पहिलोपोस्टका प्रकाश भण्डारीले गरेको कुराकानी:-

मतदाताको घर घरमा पुगिरहनुभएको छ। के रहेछन् तपाईंसँगका अपेक्षा?

मतदाताको अपेक्षा त विकास हो। सडक, खानेपानी छैन। कतै विद्यालय, स्वास्थ्य चौकी छैन। पूर्वाधारकै समस्या छ। सबभन्दा ठूलो समस्या छ रोजगारी र आम्दानीको।

मेरो त नारा पनि त्यही हो। गाउँमा बिजुली, बाटो, शिक्षा पुर्‍याउने कोसिस त गर्‍यौं। तर, त्यति हुँदाहुँदै पनि गाउँ रित्तिने क्रम जारी छ। त्यो क्रमलाई रोक्न गाउँमै आम्दानी र गाउँमै रोजगारी। रोजगारीको सवाल सबैभन्दा बढी विकराल छ नेपालमा। यो सवाल एकै ठाउँमा मात्रै होइन धेरै ठाउँमा छ। राज्यले त्यस्तै अर्थनीति अपनाएर रोजगारमूलक शिक्षा पनि हुनुपर्‍यो। प्रकृतिबाट हामी धेरै उत्पादन लिन सक्छौं।

पुराना नेतालाई अब जिताउन हुँदैन भनेर तपाईंहरुप्रति लक्षित गरेर अभियान चलिरहेको छ नि सामाजिक सञ्जालमा?

एकथरीले अराजनीतिक हावा चलाएर देशको र प्रजातन्त्रको अहित गरिरहेका छन्। यो वैज्ञानिक कुरा पनि होइन। लोकतन्त्रको हितको पक्षको कुरा पनि होइन। लोकतन्त्रको लडाईंलाई कन्डेम गरेको हो यो। लोकतन्त्रको लामो लडाईं छ त्याग, बलिदान र उत्सर्ग छ। यत्रो ठूलो त्याग तपस्याको राजनीति छ। एकथरी प्रवृति छ यसलाई राजावादी प्रवृति भनौं कि यो पुरातन प्रवृति, पुरातनवादी प्रवृति हो। गुण दोषका आधारमा कसैको मूल्याङ्कन गर्नुपर्छ। उमेरका आधारमा मूल्याङ्कन गरेपछि त्यो विवेकपूर्ण हुन्छ? त्यो कहिले पनि हुँदैन। यस्ता अराजनीतिक कुराहरुलाई मैले मान्यता दिन्नँ।

एमाले-माओवादी गठबन्धन थियो २०७४ मा। त्यतिबेला कृष्णकुमार श्रेष्ठले जित्नुभयो तपाईंको क्षेत्रमा। अहिले चुनाव जित्न सजिलो अप्ठेरो के छ?

तनहुँ कांग्रेसका लागि राम्रै ठाउँ हो। तर एउटा समस्या यहाँ पहिलेबाटै छ। पार्टी भित्रैबाट अन्तर्घातको प्रवृति छ। कांग्रेसका मतदातालाई विचलित गराएर अझैं पनि भ्रम सिर्जना गराउने काम भइराखेका छन्। त्यसलाई जनताले अब त्यति मान्यता दिने देख्दिनँ म। जनताले अब बुझिसकेका छन्।

तपाईंले गोविन्दराज जोशीलाई भन्न खोज्नुभएको हो, फेरि अप्ठेरो हुने भयो है?

होइन। मैले चाहेको भए एउटा दरखास्त दिने बितिक्कै उनको उम्मेदवारी खारेज गइहाल्थ्यो। मैले त घोषणा गरेरै म यसपाली यसकाविरुद्ध उजुरी गर्न जान्नँ चुनाव लडेरै हेरोस् भनेर। म त्यही हेरिराखेको छु। त्यसले मलाई केही असर गर्दैन।

टिकट वितरणका बेला आन्दोलनै भएको थियो कांग्रेसमा, त्यसको तुष त बाँकी नै होला?

टिकट नमिलेको छ ठाउँ ठाउँमा। टिकट दिने कुरामा पुरानो प्रवृति गुटबन्दी छ। आफ्नो मान्छेलाई मात्रै दिने नभएको होइन। त्यति हुँदाहुँदै पनि यो पार्टीको निर्णय भनेर यसलाई लिएर मैदानमा जो उम्मेदवार पठाइएका छन् तिनलाई जिताउन पर्छ भनेर देशभरका कांग्रेसहरु गठबन्धन जिताऊ अभियानमा लाग्नुभएको छ।

तपाईं काठमाडौंबाट पटकपटक यहाँ आउनु हुँदा देशले प्रधानमन्त्रीको भूमिकामा आफूलाई खोजेको भन्नुहुन्थ्यो, अहिले पनि तपाईंको दाबी यही नै हो?

एउटा कुरा म प्रष्ट भन्न चाहन्छु। यो मुलुकलाई चाहिएको सबैभन्दा ठूलो कुरा सुशासन हो। सुशासन दिने नैतिक सामर्थ्य म सँग छ। त्यो अनुसारको कमिटमेण्ट र योजना मसँग छ। मैले राष्ट्रको उद्धारका लागि कार्यकारीमा हस्तक्षेप गर्नुपर्छ भन्ने सोच बनाएको छु। तर मैले चाहेरमात्र हुन्न। आम कांग्रेसले चाहनुपर्छ। जनप्रतिनिधिले के सोच्नुहुन्छ? देशप्रति कति जिम्मेवार हुनुहुन्छ हाम्रा साथीहरु? उहाँहरुको कुरा पनि हेर्दैछु। सबै कांग्रेसीहरुको परीक्षणको घडी पनि हो।

तपाईंलाई फ्याट्ट राष्ट्रपति बन्नुस् भनेर अफर आयो भने?

अरु कुराभन्दा पनि कार्यकारी अधिकार लिएर देशलाई उद्धार गर्ने अवसर पाएदेखि यो देशको कल्याण हुन्छ भन्ने मलाई लाग्छ।

प्रधानमन्त्री पद पाउनुभयो भने देशको कल्याण गर्नुहुन्छ त्यसो भए?

हो। यो देशको उन्नतिका लागि, हित र कल्याणका लागि मैले कार्यकारी अधिकार प्रयोग गर्न पाएँ भने मात्रै देशलाई भलो हुन्छ भन्ने मलाई लाग्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell