ललितपुर : नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको उनको सचिवालयले जानकारी दिएको छ। भेटमा प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताए।
उनले आफूहरु मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताए।
राजदूत थम्पसनले प्राकृतिक र साँस्कृतिक विविधताले भरिएको सुन्दर मुलुकमा आउँदा खुसी लागेको बताए। उनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरुको सहयोग निरन्तर रहने विश्वास दिलाए।
उनले ७५ वर्षदेखिको नेपाल-अमेरिका सम्बन्धले आफ्नो कार्यकालमा अझै उचाई लिने विश्वास व्यक्त गरे।